सप्तरीमा तनाव, सेना सतर्क अबस्थामा



फाइल तस्बीर

सप्तरी, (नेस)।
नेकपा एमालेले सुरु गरेको मेची महाकाली राष्ट्रिय अभियानलाई बिथोल्ने उद्धेश्यसहित सप्तरीको सदरमुकाम राजविराजमा अहिले मधेसी मोर्चाका कार्यकर्ताले विरोध प्रदर्शन गरिरहेका छन् । नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय अभियानको तेस्रो दिन आज यहाँ सभा गर्ने कार्यक्रम रहेको छ ।

मोर्चाका कार्यकर्ता विहानैदेखि प्रदर्शनमा उत्रिका छन् । उनीहरु एमालेको अभियानलाई रोक्ने र सभालाई विथोल्नका लागि प्रदर्शनमा उत्रिएका हुन् । मोर्चाका कार्यकर्ता ठूलो संख्यामा उपस्थित भई लाठी तथा घरेलु हातहतियार सहित प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनमा उत्रिएका कार्यकर्ता आक्रोशीत भई झण्डै एक दर्जन सवारी साधन समेत तोडफोड गरेका छन् भने केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिईएको छ ।

मोर्चाको विरोधकाबीच पनि एमालेले आफ्नो अभियानलाई जारी राखेको छ । एमाले अबको २ घण्टा भित्र राजविराज पुग्ने र यी दुबैको टकरावले गर्दा झडप हुने आशंकामा सुरक्षा सतर्कता बढाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सुरक्षालाई मध्यनजर गर्दै यहाँ १३ सयको संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई तैनाथ गरिएको छ भने सेनालाई तयारी अबस्थामा रहन स्थानीय प्रशासनले निर्देशन दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्