पाल्पा दरबारलाई संग्रहालयको रूपमा विकास गरिने



कविराज नेपाल, पाल्पा,
ल्पाको धरोहरका रूपमा जिल्ला सदरमुकाम तानसेनमा रहेको पाल्पा दरबार द्वन्द्वकालमा तत्कालीन माओवादीद्वारा ध्वस्त भई पुनर्निर्माणसँगै उद्घाटन पनि भएको छ । अव यसको प्रयोग कसरी गर्ने भन्ने विषयमा अन्यौल नभए पनि यसलाई ऐतिहासिक पुरातात्विक महत्त्वका साथ अघि बढाउन जरुरी भएको बताउन थालिएको छ।

१० वर्षे द्वन्द्वकालीन समयमा ध्वस्त भएको पाल्पा तानसेनको ऐतिहासिक दरबार पुनर्निर्माण सम्पन्न भई पुनर्निर्मित दरबारको केही दिनअघि शान्ति तथा पुनर्निर्माणमन्त्री सीतादेवी यादवले उद्घाटन गर्नुभएको थियो । शान्ति तथा पुनर्निर्माण मन्त्रालयको सहयोगमा ६ करोड ३१ लाखको लागतमा दरबार पुनर्निर्माण भएको हो।

पुनर्निर्मित दरबारको उद्घाटन गर्दै मन्त्री यादवले देशमा १० वर्षमा १२ वटा शान्तिमन्त्री फेरिँदा द्वन्द्वमा भत्केका संरचना पुनर्निर्माणको काम जुनरूपमा अघि बढ्नुपर्ने हो त्यो हुन नसकेको बताउनुभयो। वि.सं. १९८४ सालमा प्रताप शमशेरले निर्माण गरेको दरबार २०६२ माघ १८ गते तात्कालीन विद्रोही माओवादी आक्रमणमा ध्वस्त भएको थियो। ३ रोपनी २ आना क्षेत्रफलमा बनेको ३ तले दरबारमा ४५ कोठा रहेका छन्। २०६२ साल माघ ३ गते यस दरबारलाई सरकारले पाल्पा संग्राहालयको रूपमा परिणत गरेको छ ।

यद्यपि सरकारले यस दरबारलाई संग्रहालयको रूपमा परिणत गरे पनि यहाँ संग्रहालयका लागि आवश्यक पर्ने सामग्री अभाव एकातिर छ भने अर्काेतिर कर्मचारी अभाव र अन्य कारणले काम गर्न नसकिएको सम्बन्धितहरू बताउँछन्। दरबार संग्रहालयका रूपमा घोषणा भए पनि वास्तविकरूपमा संग्रहालयका रूपमा विकसित हुन नसकेको जिल्लाबासीको गुनासो रहेको छ।

सरकारले संग्रहालयका रूपमा स्थापना गर्ने निर्णय गरेर कर्मचारी र बोर्डको व्यवस्था गरे पनि संग्रहालयमा हुनुपर्ने पूर्वाधार र सामग्रीहरू नहुँदा यो देख्नका लागि मात्रै संग्रहालय भएको यहाँ आउने दर्शकको गुनासो छ। झापाबाट यहाँ आएका मिलन पौडेलले थोरै संख्यामा भए पनि सामग्री संकलन र व्यवस्था गरी संग्रहालयका रूपमा लैजान यहाँका एक⁄दुई वटा कोठामै भए पनि यसलाई संग्रहालयको रूप दिनुपर्ने बताए।

सरकारले यस आर्थिक वर्षमा पुँजीगततर्फ २४ लाख र चालू खर्च शीर्षकमा रु. १७ लाख विनियोजित गरेको छ। विनियोजित रकमबाट अल्पकालीन र दीर्घकालीन लक्ष्यका साथ यसलाई बहुआयामिक संग्रहालयका रूपमा विकसित गर्नुपर्ने सरोकारवालाको भनाइ छ।

सरकारले संग्रहालयको रूप दिइसकेपछि राजपत्राङ्कित तृतीय श्रेणीको अधिकृतसहित ७ जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको गरी केवल कार्यालय खोल्ने काम गरिरहेका छन्। देश विदेशबाट पाल्पाको भ्रमणमा आउने पर्यटकहरूले यहाँ बोर्ड देखेपछि संग्रहालय खोई भनेर सोध्ने गरे पनि औपचारिकरूपमा संग्रहालयमा राखिने र देखाइने चिज वस्तुहरू नहुँदा उनीहरू निरास भई फर्कनुपर्ने अवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस्