दोलखामा ७५ वटा गुम्बा पुनर्निर्माण हुने



चिरञ्जीवी मास्के
दोलखा
विनाशकारी भूकम्पले क्षति पुगेको दोलखाको विभिन्न ७५ वटा गुम्बाको पुनर्निर्माणका लागि सरकारले ४२ करोड ४३ लाख २० हजार उपलब्ध गराउने भएको छ। युरोपेली युनियनको सहयोगमा सरकारले भूकम्पीय गुम्बा पुनर्निर्माण आयोजना स्वीकृत गरेकाले जिल्ला प्राविधिक कार्यालयमार्फत उक्त रकम उपलब्ध गराउन लागेको जिल्ला प्राविधिक कार्यालय दोलखाका डिभिजन इन्जिनियर निर्मलदर्शन श्रेष्ठले बताए।

भूकम्पीय गुम्बा पुनर्निर्माण आयोजनाअन्र्तगत जिल्लामा रहेको गुम्बाको अवस्था र महत्त्वका आधारमा बढीमा १ करोड ५४ लाख र घटीमा ५१ लाख रुपियाँ बजेट विनियोजन भएको जिल्ला प्राविधिक कार्यालय दोलखाका इन्जिनियर नारायण शिवाकोटीले जानकारी दिए।

कार्यालयबाट प्राप्त विवरणअनुसार स्वीकृत कार्यक्रममा जिल्लामा रहेका गुम्बाहरूमध्ये सबैभन्दा बढी दोलखा विगु गाविस वडा नम्बर–८ मा रहेको टसिछिमे गाछल, तत्कालीन जिरी गाविस वडा नम्बर–१ मा रहेको गुरु छोके छेच्यु लिङ र श्यामा गाविस वडा नम्बर–४ मा रहेको सामत्यान छुयोसलिङ गरी ३ वटा गुम्बालाई प्रतिगुम्बा १ करोड ५४ लाख बजेट विनियोजन भएको छ।

त्यसै गरी मालि गाविस वडा नम्बर–५ मा रहेको सेल्वा ज्याङछुप क्षवलीङ, भेड्पु गाविस वडा नम्बर–६ मा रहेको साङछेन, भेड्पु गाविस वडा नम्बर–७ मा रहेको खम्बुलिङ, विगु गाविस वडा नम्बर–८ मा रहेको जगत पुरानो, जिरी गाविस वडा नम्बर–६ मा रहेको ओगेन देक्षेन्लिङ, जिरी गाविस वडा नम्बर– ८ मा रहेको बुद्ध छोलिङ, चिलंखा गाविस वडा नम्बर–३ मा रहेको ज्याङछुप मेन्दोक, लाकुरीडाडाँ गाविस वडा नम्बर– ९ मा रहेको बुद्ध, कालिञ्चोक गाविस वडा नम्बर–५ मा रहेको गुरु लाखाङ, कालिञ्चोक गाविस वडा नम्बर–९ मा रहेको पेमाक्ष्योइलिङ, गैरीमुदी गाविस वडा नम्बर–४ मा रहेको रिस्युङ गुम्बा फोटाङ, गौरीशङ्कर गाविस वडा नम्बर–३ मा रहेको रोल्वालिङ दातज्यम टासि छयोलिङ र श्यामा गाविस वडा नम्बर–१ मा रहेको ओग्र्यन सेढुपदग्र्यलिङ गुम्बा गरी १३ वटा गुम्बालाई प्रतिगुम्बा ८२ लाख बजेट विनियोजन भएको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ।

त्यसै गरी मार्वु गाविस वडा नम्बर–५ मा रहेको छम्बा गुम्बा समिति, तत्कालीन मकैबारी गाविस वडा नम्बर–६ मा रहेको फुर्वा लाखाङ, भुषाफेदा गाविस वडा नम्बर–२ मा रहेको धर्मा छोइलिङ, भेड्पु गाविस वडा नम्बर–८ मा रहेको उगेन छोलिङ, झ्याकु गाविस वडा नम्बर–२ मा रहेको ङिङमा टासि क्ष्योलिङ, उर्गेन छोलिङ, फस्कु गाविस वडा नम्बर–४ मा रहेको टासि क्ष्योलिङ, मिर्गे गाविस वडा नम्बर–१ मा रहेको ह्याङला बौद्ध, जिरी गाविस वडा नम्बर–४ मा रहेको मेपाक पेमा छोलिङ, वडा नम्बर–७ मा रहेको कुनसल थोनडोललिन, चंखु गाविस वडा नम्बर–४ मा रहेको सिग्देल, काटाकुटी गाविस वडा नम्बर–२ मा रहेको टासि क्ष्योलिङ र गौरीशङ्कर गाविस वडा नम्बर–३ मा रहेको साङा क्ष्योलिङ गुम्बा पुनर्निर्माणका लागि प्रतिगुम्बा ७१ लाख बजेट विनियोज भएको जनाइएको छ।

त्यसै गरी डाँडाखर्क गाविस वडा नम्बर–९ मा रहेको निकासी ह्युल्सा, सुरी गाविस वडा नम्बर–९ मा रहेको टेपर थेपललिङ, घ्याङसुकाठोकर गाविस वडा नम्बर–८ मा रहेको सौगोजालिङ शैलुङ बौद्ध, बोच गाविस वडा नम्बर–६ मा रहेको लप्चे, भेड्पु गाविस वडा नम्बर–७ मा रहेको साङा क्ष्योलिङ, चिलंखा गाविस वडा नम्बर–३ मा रहेको दोर्जे छोलिङ, लाकुरीडाडाँ गाविस वडा नम्बर–८ मा रहेको टासि क्ष्योइलिङ र गौरीशङ्कर गाविस वडा नम्बर–६ मा रहेको न्याटासी ङिमछुयोलिङ गरी ८ वटा गुम्बालाई प्रतिगुम्बा ६१ लाखको दरले बजेट विनियोजन भएको जनाइएको छ। त्यसै गरी जिल्लाको विभिन्न ठाउँमा रहेको ३८ वटा गुम्बालाई प्रतिगुम्बा ५१ लाखको दरले बजेट विनियोजन भएको जिल्ला प्राविधिक कार्यालय दोलखाका इन्जिनियर शिवाकोटीले बताए।

जिल्ला प्राविधिक कार्यालयले पहिलो चरणमा कार्यक्रममा परेका गुम्बाहरूको फोटो सङ्कलन गर्ने र आवश्यक परामर्श दिनेछ भने त्यसपछि जग्गा गुम्बाको नाममा भए नभएको अनुगमन गरी निर्माणका लागि आवश्यक प्रकृया अगाडि बढाउन गुम्बा व्यवस्थापन समितिमार्फत केन्द्रीय आयोजना कार्यान्वयन इकाइमा पठाउने छ। केन्द्रीय आयोजना कार्यान्वयन इकाइको परामर्शमा पुरातात्विक महत्त्वलाई ख्याल गर्दै पहिलेको जस्तै गुम्बा निर्माण र गुम्बासंगै लामा बस्ने घर र नुहाउने घर तथा शौचालयसमेत निर्माण हुने इन्जिनियर शिवाकोटीले बताए।

प्रतिक्रिया दिनुहोस्