ब्याडमिन्टनमा तामाङ परिवारको वर्चश्व



फिरोज राजोपाध्याय
गत माघ महिनामा सशस्त्र प्रहरी बलको हल्चोकस्थित ब्याडमिन्टन कोर्टमा स्तब्ध नतिजा आएन। उही पुरानै नतिजा दोहोरिएको थियो। सबैले अनुमान लगाए झै त्यहाँ नतिजा निस्केको थियो। १३औं कृष्णमोहन स्मृति ब्याडमिन्टन प्रतियोगितामा रत्नजीत तामाङ पुरुष एकलमा विजेता बन्दा नङ्सलदेवी तामाङ महिला एकलमा विजेता बनिन्। उनीहरु दिदीभाइ हुन् भने यो नतिजाले के प्रस्ट्याइरहेको छ भने तामाङ परिवारको नेपाली ब्याडमिन्टनमा धाक जमिरहेको झण्डैझण्डै आधा दशक बितिसकेको छ।

नङ्सल र रत्नजीत हाल नेपाली राष्ट्रिय ब्याडमिन्टनका आफ्ना विधामा नम्बर एक खेलाडी पनि हुन्। नङ्सललाई पहिले राष्ट्रिय च्याम्पियन बन्न फलामको च्युरा चपाएसरह हुन्थ्यो। तर जबदेखि सरादेवी तामाङ चोट बेहोरेर कोर्टबाहिर भइन् तब नङ्सललाई नेपालको च्याम्पियन खेलाडी बन्न कसैले रोक्न सकेनन्। सरादेवी कोही नभइ नेपालको नम्बर एक महिला ब्याडमिन्टन खेलाडी थिइन्। तर केही वर्षदेखि घुँडाको चोटले गर्दा उनको नम्बर एक स्थान उनकै बहिनी नङ्सलले लिइन्। नङ्सलले जति पनि सरादेवीसँग फाइनल खेलिन् कुनैमा पनि जित दर्ता गर्न सकेको छैनन्। सराको चोट नङ्सललाई आफ्नो खुबी देखाउन मौका भइरहेको छ।

रत्नजीतले कृष्णमोहन स्मृति ब्याडमिन्टन प्रतियोगितामा यसपालिसमेत गरी लगातार छैटौंपटक उपाधि जितेका छन्। विकास श्रेष्ठ, दिपेश धामीजस्ता दिग्गज खेलाडीले पनि उनलाई रोक्न सकिरहेका छैनन्। त्यस्तै नयाँ खेलाडी उनको नजिक पनि देखिएका छैनन्। उनले यसपटक उदीयमान खेलाडी नवीन श्रेष्ठलाई सहजै पन्छाएका हुन्।

यस्तै नङ्सललाई चुनौती दिने खेलाडी पनि अहिले देखा परेका छैनन्। शिक्षा श्रेष्ठले राम्रो खेलिरहे पनि नङ्सलको आसपास पनि उनी छैनन् भन्ने कृष्णमोहन ब्याडमिन्टनले प्रष्ट पारेको छ। उनले शिक्षालाई पराजित गरी कृष्णमोहन ब्याडमिन्टन प्रतियोगितामा उपाधिको श्रीगणेश गरेकी छिन्।

तामाङ परिवारको वर्चश्व नेपालमै पनि सीमित छैन। गत नोभेम्बरमा पाकिस्तानमासमेत तामाङ दिदीबहिनीले नेपालको इज्जत राखेका थिए। नङ्सल र रत्नजीतले पाकिस्तानको इस्लामाबादमा भएको योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल सिरिजअन्तर्गत मिक्स डबल्समा उपाधि जितेका थिए। उनीहरुले आयोजक राष्ट्रकै खेलाडीलाई हराएर उपाधि जित्न सफल भएका थिए।

२९ वर्ष पुगिसकेकी नङ्सलले गत फागुनमा भारतमा सम्पन्न १२औं दक्षिण एसियाली खेलकुदमा समेत नेपाली ब्याडमिन्टनमा इतिहास रचिन्। उनले सेमिफाइनलमा भारतीय खेलाडी गड्डे रुटभिका शिवानसँग हारेपछि कांस्यपदक जितेकी थिइन्। शिवान सो व्यक्तिगत स्पर्धामा स्वर्णपदक जितेकी खेलाडी हुन्।

शिवानले फाइनलमा ओलम्पिक पदक विजेता पीभी सिन्धुलाई हराएकी थिइन्।
वंशाणुगत गुण तामाङ परिवारका लागि ब्याडमिन्टन वंशाणुगत गुण भने पनि हुन्छ। नेपालको हरेक ब्याडमिन्टन प्रतियोगितामा तामाङ परिवारको वर्चश्व हुनु पनि पारिवारिक प्रोत्साहन समर्थन पाउनु हो। भोजपुरमा जन्मेका यी राष्ट्रिय च्याम्पियनका बाबु दिलबहादुर तामाङ पनि पूर्वराष्ट्रिय च्याम्पियन थिए। दिलबहादुरकै पाइला चाले उनका दुई छोरी र एक छोराले र तीनै जनाले नेपालको राष्ट्रिय च्याम्पियन बनेर ब्याडमिन्टनमा धाक जमाएका छन्।

बाबुले खेलिरहेको सिको गर्दै नङ्सलले नौ वर्षको उमेरमै र्याकेट समात्न सिकेकी थिइन्। दिदीहरुकै संगत लागेर रत्नजीत पनि ब्याडमिन्टनमा होमिए। उनले भने पनि—हाम्रा बुबाले नै हामीलाई सानैदेखि र्याकेट समात्न सिकाउनुभयो। उनी हाम्रा पहिलो प्रशिक्षक हुनुहुन्छ।

२५ लागेका रत्नजीतले २०६२ सालदेखि खेल्न शुरू गरेका हुन्। भोजपुर जन्म घर छाडेर काठमाडौंलाई कर्म घर बनाएका रत्नजीतले पहिलोपटक हिमालयन कपको यु १६ मा सहभागिता जनाएका थिए। उनको शुरूआत खासै राम्रो भएन। उनी दोस्रो चरणबाटै बाहिरिए। ६ वर्षपछि उनले बल्ल राष्ट्रिय उपाधि जिते। त्यो पनि नेपालका नम्बर एक खेलाडी विकास श्रेष्ठलाई उनले हराएर चर्चा बटुलेका थिए। कृष्णमोहन स्मृति ब्याडमिन्टन प्रतियोगितामा सो उपाधिपछि उनले अहिलेसम्म पछाडि फर्केर हेर्नुपरेको छैन।

रत्नजीतको दाँजोमा नङ्सलले पहिलोपटक उपाधि जित्न धेरै वर्ष कुर्नुपरेको थियो। दिदी सरादेवी सक्रिय रहुन्जेल उनका लागि उपाधि टाढाको विषय बनिरहेको थियो। जब दिदी चोटले आराम गर्नुपर्ने स्थिति भयो त्यसपछि नङ्सलले उपाधि जित्न थालिन्। उनले गत मार्चमा शिक्षा श्रेष्ठलाई हराएर अन्नपूर्ण कर्पोरेट ब्याडमिन्टन प्रतियोगिता जितिन्। यो नै उनको करिअरमा पहिलो उपाधि थियो। यसपछि कृष्णमोहन स्मृति ब्याडमिन्टन प्रतियोगितामा उपाधि जितिन्।

हाल त्रिभुवन आर्मी क्लबमा आबद्ध भएकी नङ्सलले स्विकार पनि गरिन् कि उपाधि जित्न सहज भएको थियो।२०६८ सालदेखि सरादेवीसँग खेलेको फाइलन खेल हारेकी नङ्सलले बताइन्– ‘प्रतिद्धन्द्धीहरु सशक्त छैनन्। त्यसैले उपाधि जित्न सहज भयो। अर्को मेरी दिदी सरा चोटका कारण खेल्न सकेकी छैनन्। यदि उहाँको सहभागिता भएको भए सायद उपाधि जित्दैन होला। तर दिदी नभई दिँदा मेरो उन्नतिमा असर परेको छ। किनभने अहिले महिला ब्याडमिन्टनमा प्रतिद्वन्द्वी त्यति सशक्त छैनन्।’
अब्बल छिन् सरादेवी
बहिनी र भाइले जति पनि अहिले चर्चा बटुले पनि दिदी सरादेवी नै उनीहरुभन्दा अब्बल रहेकी छिन्। उनले आफ्नो करिअरमा राष्ट्रियस्तरको उपाधि संख्या १९ पुर्याएकी छिन्। उनलाई चोटले मात्रै अहिले उपाधिबाट टाढा बनायो। कृष्णमोहन स्मृति ब्याडमिन्टन प्रतियोगितामा उनले २०६४ देखि २०७१ गरी आठ पटकसम्म च्याम्पियन बनिन्। गत संस्करणका दुवै प्रतियोगितामा उनकी बहिनी नङ्सलले उपाधि जितेकी छिन्।

सरादेवीले दक्षिण एसियाली खेलकुद (साग) मा पनि नेपालको प्रतिनिधित्व गरेकी छिन्। जसमा नवौंदेखि १२औं सागसम्म टिम इभेन्टसमा नेपाललाई कांस्य पदक दिलाइन्। नेपालमा भएको अन्तर्राष्ट्रिय स्याटलाइट ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत महिला एकलमा उनले कांस्यपदक जितेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्