बज्रेलान् जनता वज्र बनेर

सुशील देवकोटा

हालै भारतले एकैसाथ १०४ वटा स्याटलाइट अन्तरिक्षमा पठायो। विश्वका अन्य राष्ट्रका सञ्चारमाध्यमका साथै नेपालका प्रायः सम्पूर्ण सञ्चारमाध्यमहरुमा यो प्रमुख समाचार बनेर आयो। त्यसै गरी ५ नोभेम्बर, २०१३ मा भारतले मंगल ग्रहमा आफ्नो यान पठायो। मंगल ग्रहमा आफ्नै यान पठाउने भारत चौथो देश थियो भने एसियाको पहिलो देश थियो। पहिलो पटकमै मंगल ग्रहमा सफलतापूर्वक आफ्नो यान पठाउन सफल हुने पनि विश्वमा भारत नै पहिलो देश हो। यो समाचार विश्वभरका सञ्चारमाध्यममा छायो। नेपालमा पनि सञ्चारको सबै माध्यमले प्रमुखताका साथ यो समाचारलाई सम्प्रेषण गरेका थिए।

उता, चीन त झन् आर्थिक र प्राविधिक विकासमा कति माथि पुगिसक्यो भन्ने समाचार दिनहुँजसो नै प्रसारण हुन्छन्। विश्वको अति प्रभावशाली सैन्यशक्ति भएको राष्ट्रको सूचीमा चीनले तेस्रो स्थान ओगटेको छ भने भारत चौथो स्थानमा छ। ७.५ प्रतिशत आर्थिक वृद्धिदरका साथ विश्वमा द्रुत गतिमा विकास गरिरहेका राष्ट्रहरुको सूचीमा भारत चौथो स्थानमा छ।

भारत र चीनको विकासको यस्तो समाचार विश्वका विभिन्न सञ्चारमाध्यमलगायत नेपालका सञ्चारमाध्यमहरुमा पनि हामी देख्छौं, सुन्छौं र पढ्छौं। कतिपय सत्य समाचार पनि हामीलाई अकल्पनीय र कथाजस्तै लाग्छन्। हामी ती समाचारहरु देखेर, सुनेर र पढेर कहिले छक्क पर्छौं, कहिले द· पर्छौं। जब हामी हाम्रो देशको समाचार पढ्न थाल्छौं, त्यहाँ अस्तव्यस्तबाहेक केही पाउँदैनौं। त्यहाँ दुर्गन्धित र प्रदूषित राजधानीको समाचार हुन्छ। सामाजिक विभेदमा छटपटाइरहेको मधेसको समाचार हुन्छ, विकासको बाटो पर्खिरहेको पहाड र हिमालको समाचार हुन्छ, अझैसम्म अपहेलित अवस्थामा बस्नुपरेको कर्णालीको समाचार हुन्छ। तुलनात्मकरुपमा सकारात्मक समाचार नगण्य नै हुन्छ हाम्रो देशको समाचारमा।

अहिले समाचार आइरहेको छ– स्थानीय निकायका कर्मचारी हडतालमा छन्। हामीले तिरेको करबाट तलब खान्छन् उनीहरु। हामीले तिरेको करबाट उनीहरुलाई तलब ख्वाएको राजनीति गर्न र हडताल गर्न होइन, हाम्रो काम गर्न हो भनेर उनीहरुले बुझ्ने ? उनीहरुलाई राष्ट्रसेवक किन भनिएको भनेर बुझ्ने कहिले ? हडतालमा स्थानीय निकायका कर्मचारी मात्रै होइनन्, स्वास्थ्यजस्तो अति संवेदनशील क्षेत्रका कर्मचारी पनि छन्, जो अहिले दिनहुँजसो स्वास्थ्य मन्त्रालयमा धर्ना बसिरहेका छन्। यो पहिलो पटक होइन, आफ्नो अधिकारको लागि भनेर उनीहरुले जनताको सेवा गर्न बहिष्कार गरेको यही अन्तिम पनि होइन।

जताततै राजनीति गर्न किन छुट दिइएको छ हाम्रो देशमा ? पढ्न जाने विद्यार्थीलाई राजनीतिक झन्डा बोकाउनुपर्ने, सरकारी सेवक, वकिल, डाक्टर, शिक्षक, मजदुर हरेकलाई राजनीतिक झन्डा बोकाउनै पर्ने र बोक्नै पर्ने, त्यो नबोके वा कुनै पार्टी विशेषको चिनारी नबोके प्रगति नै हुन सक्दैन भन्नेजस्तो मानसिकताको किन यति धेरै विकास हुँदै छ वा जानी–जानी गराइँदै छ हाम्रो देशमा ?

कतैबाट कुनै अन्याय भएमा देशको न्यायालयले उसलाई न्याय दिन्छ, चाहे त्यो अन्याय गर्ने निकाय उसको देशको सरकार नै किन नहोस्। तर हालै यहाँ प्रधान न्यायाधिश नियुक्तिको बेलामा जुन अकल्पनीय विवाद देखियो र जसरी प्रधान न्यायाधिशको नियुक्ति गरियो, त्यसपछि त अब न्याय सेवा पनि पुर्वाग्रहरहित हुन्छ भन्नेमा शंका गर्नुपर्ने भएको छ। झन् प्रधान न्यायाधिशमा नियुक्त हुनेबित्तिकै लोकमान सिंहलाई अक्षम घोषित गर्दै पदबाट बर्खास्त गर्ने जुन निर्णय आयो, त्यसलाई कतिपयले आपूmले प्रधान न्यायाधिशमा पाएको नियुक्तिको ऋण तिरेको वा उपकार चुकाएको रुपमा बुझेका छन्।

यस्तै अर्को विवाद चुलिएको छ प्रहरी आईजीपी नियुक्तिको विवाद। कडा अनुशासन र चेन अफ कमान्डमा चल्नुपर्ने निकायमा आपूm अनुकूलको मान्छेलाई नियुक्ति दिन होडबाजी चलेको छ अहिले। हुन त प्रहरी प्रशासनमा राजनीति छिराउने श्रेय बामदेव गौतमलाई जान्छ। अच्युतकृष्ण खरेललाई बर्खास्त गरेर ध्रुवबहादुर प्रधानलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेर यो कुसंस्कारलाई जन्माउने बामदेव नै हुन्। त्यो एउटा गल्ती मात्रै थिएन, अक्षम्य अपराध थियो। अब एकपटक फेरि त्यही अपराधको संस्करण दोहोर्याउने प्रयास गरिँदै छ।

कतिसम्म लाज पचाएका छन् भने हाम्रा नेताहरुले, सरकारको एक प्रमुख घटकको रुपमा रहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई जब यो आक्षेप लाग्यो कि पहिलो वरियताका नवराज सिलवालको स्थानमा तेस्रो वरियताका जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउन उनले पर्दापछाडिबाट दबाब दिइरहेका छन्, तब उनले एउटा प्रेस विज्ञप्ति निकालेर स्पष्टीकरण दिँदै यस प्रकरणमा आफ्नो कुनै हात नभएको भने। उनले यो पनि भने कि प्रहरी महानिरीक्षकको नियुक्ति मन्त्रिपरिषद्को सिफरिसमा हुने हो। तर, पटक–पटक प्रधानमन्त्री भैसकेका र फेरि प्रधानमन्त्री बन्न खुट्टा उचालेर बसेका देउवालाई यो कठिनाइ किन भैरहको छ र नियमानुसारको स्वाभाविक प्रक्रियाबाट नियुक्ति किन भैरहेको छैन ? यदि हाम्रा नेताहरुको मनमा पाप छैन भने किन आपूm अनुकूलको मानिस चाहिएको हो प्रहरी महानिरीक्षकमा ? आफ्नो के–कस्तो स्वार्थ पूरा गराउने उद्देश्य छ उनीहरुको ? जब एउटा निश्चित पदको लागि योग्यता नै नपुगेको मानिस अरूको कृपा दृष्टिले त्यो पदमा पुग्छ, तब के ऊ पद र त्यो संस्थाप्रति उत्तिकै बफादार रहला ? आज धेरै नेपालीको मनमा यही प्रश्न उठेको हुनुपर्छ।

समाचार आउँछ हाम्रो देशमा, दिनदहाडै एउटा कलेजका क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखको अपहरणको। कैलालीको लम्की बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख भिष्म थापा र सहायक क्याम्पस प्रमुख कमल विष्टलाई विप्लव माओवादी समूहले अपहरण गरेको छ। विगतमा आपूmले पनि त्यस्तै काम गर्दै लासको थुप्रोमा चढेर प्रधानमन्त्रीको कुर्सीमा बस्नुभएका प्रचण्डलाई यो सामान्य घटना लागेको होला, तर कानुनी राज्यमा विश्वास गर्ने कसैले पनि यसलाई उचित भन्दैन। अपहरण गर्नेहरु छाती ठोकेर हो हामीले अपहरण गरेका छौं भनिरहेका छन् भने देशको प्रशासन अहिलेसम्म आपूmहरुले कुनै औपचारिक जानकारी नै नपाएको तर्क दिएर आफ्नो आङको छारो झार्दै छ। के फेरि यस्तै जंगल राजको लागि थियो त्यो लोकतन्त्रको लडाइँ ? ज·लको धङध·ीबाट कृपया मुक्त हुनुहोस् प्रधानमन्त्री महोदय। अहिले तपाईं औसत नेपालीले कल्पना पनि गर्न नसक्ने सुख–सयलमा बस्नुभएको सत्यलाई आत्मसात् गर्नुहोस् र हामीलाई अरू कुनै सुख–शान्ति तपाईंले दिन सक्नुहुन्न। त्यसको लागि तपाईं तन र मन दुवैबाट अक्षम हुनुहुन्छ भन्ने हामीले बुझिसकेका छौं। कृपा गरी हामीलाई ज·ल राजतिर नलैजानुहोस्।

हालै अर्को एउटा समाचार पनि आएको छ। नेपालको पूर्वराजा आफ्नो निजी भ्रमणको सिलसिलामा बारा जिल्ला पुग्दा स्वस्पूmर्तरुपमा आएका हजारौं जनताले राजाको पक्षमा जय जयकार गरेका छन्। एकातिर हाम्रा नेताहरुले बेला–बेलामा जनताको हातबाट थप्पड खाने क्रम शुरु भएको छ भने उता राजालाई घण्टौं कुरेर पुष्पगुच्छाले स्वागत गरिएको छ। त्यहाँ न कोही मधिसे भए न पहाडे ? त्यो स्वस्पूर्mत जम्मा भएका सबै नेपाली थिए, मात्र नेपाली ⁄ नेपाली जनताले दिनहुँ तपार्इंहरुका कहिल्यै पूरा नहुने आश्वासन र झुटो कुरा सुनेर पनि पत्याए जसरी बसे भन्दैमा अब नेपाली जनतालाई कठपुतलीजस्तै चाहेजसरी नचाउन सकिन्छ भन्ने भ्रमबाट समयमै मुक्त हुनुभएन भने आज थप्पडको रुपमा उठेका हातहरु बज्र बनेर तपाईंहरुउपर बज्रिन सक्छन्। जब जनता बज्र बनेर बज्रिन्छन्, त्यसपछि बडे–बडे मै हुँ भन्नेहरुको पनि सर्वनाश हुने तथ्य कसैबाट लुकेको छैन।

LEAVE A REPLY