भासिएको सडक बन्न ६ महिना लाग्ने



नवीन श्रेष्ठ, सिन्धुली
जापान सरकारको सहयोगमा हाज्मा ताइसे कम्पनीले निर्माण गरेको नमुना सडक बीपी राजमार्ग निर्माण सम्पन्न भएको २ वर्षमा नै भत्किएको छ।

आइतबार राति करिब १ बजे बीपी राजमार्गको खुर्कोट–नेपालथोक सडक खण्डअन्तरगतको शीतलपाटीमा पहिरो गएको हो। सिन्धुलीको शीतलपाटी गाविस ९ बेनिघाट खाल्टेमा पहिरो जाँदा राजमार्गमा यातायात सोमबार दिनभर अवरुद्ध भयो।

यस सडकलाई काठमाडौंबाट पूर्वी तराई जोड्ने वैकल्पिक राजमार्गको रुपमा लिइन्थ्यो। खुर्कोटबाट काठमाडौं १ सय ५० किलोमिटर रहेको छ। करिब २७ मिटर सडक सुख्खा पहिरो गई सुनकोशीमा झरेको सूर्यविनायक–बनेपा–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ।

करिब २७ मिटर भत्किँदा करिब १ करोड बराबरको क्षति भएको आयोजनाका प्रमुख इन्जिनियर शिला श्रेष्ठले जानकारी दिनुभयो। जापान सरकारको अनुदान सहयोगमा २०५२ सालबाट निर्माण शुरू गरिएको बीपी राजमार्ग २०७२ असार १८ गते नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो।

सुनकोशी किनारबाट करिब १२ मिटर अग्लो रिटेनिङवाल र तारजाली लगाएको र सो रिटेनिङवाल भूकम्पको धक्काले चिरा परेकाले पहिरो गएको हुन सक्ने आयोजनाका प्रमुख इन्जिनियर श्रेष्ठले बताउनुभयो।

सोही स्थानबाट बाटो नर्माण गर्न फेरि करिब २० मिटर तलबाट पर्खाल लगाउनुपर्ने आयोजनाका प्रमुख इन्जिनियर श्रेष्ठले बताउनुभयो।

माटो परीक्षण गरेर मात्र सोही स्थानबाट बाटो लान मिल्ने वा नमिल्ने थाहा हुने भन्दै आयोजना प्रमुख श्रेष्ठ जाइकाको प्राविधिक टोली आइसकेकाले परीक्षणको काम चाँडै थालिने जानकारी दिनुभयो।

पुनर्निर्माणका लागि ६ महिना लाग्ने आयोजना प्रमुख श्रेष्ठ बताउनुभयो।
बीपी राजमार्ग सिन्धुलीबाट महाभारत शृंखला हुँदै सुनकोशीको तिरैतिर अधिकांश भीरमा निर्माण भएकाले तलबाट पर्खाल लगाएर र बाटोमाथि पनि पर्खाल लगाएर निर्माण गरिएको छ।

सबैतिर सिमेन्ट र तारजालीको पर्खाल भएकाले अन्य स्थानमा पनि भूकम्पले क्षति पुर्याएको हुन सक्ने आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो।

‘भूकम्पले भित्री क्षेत्र क्षति गर्ने भएकाले सामान्य रुपमा देखिन नसकिने भएकाले कति स्थानमा जोखिम छ भन्ने यकिन छैन।’ –श्रेष्ठले भन्नुभयो।
हलुका सवारी साधनका लागि मात्र निर्माण गरिएको सडकमा ठूला अत्याधिक ओजन भएका सावरी साधन आवतजावत गर्नाले पनि सडक चाँडै क्षति भएको हुन सक्ने विज्ञहरू बताउँछन्।

जिल्लामा तौल नाप्न यन्त्र नभएको वहानामा दैनिक रुट परमिटविनाका ठूला सवारी साधनहरू अत्याधिक सञ्चालन हुँदा बीपी राजमार्गको आयु घटेको हो।

तत्काल यातायात सञ्चालनका लागि नयाँ अस्थायी बाटो निर्माण गरेर बेलुका ६ बजेबाट बाटोमा अलपत्र परेका गाडीहरू गन्तव्यतर्फ पठाइएको प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले जानकारी दिनुभयो। आयोजनाको दुईवटा स्काभेटरले सोमबार बिहानदेखि साँझसम्म अस्थायी ट्रइक खोल्ने काम गरेको प्रमुख जिल्ला अधिकारी कार्कीले जानकारी दिनुभयो।

करिब १ दशमलव ५ किलोमिटर अस्थायी ट्रइक खोलेर यातायात सञ्चालन गरेको छ। यातायत सञ्चालनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा सडकका कर्मचारी खटिएको प्रमुख जिल्ला अधिकारी कार्कीले जानकारी दिनुभयो। साना सवारी साधनको लागि मात्र अस्थायी रुपमा सञ्चालन गर्नका लागि स्थायी ट्रइक खोलिएकाले ठूला सवारी साधन तथा रुटपरमिट विनाका सवारी साधनलाई प्रतिबन्ध लगाउन सुरक्षा निकायलाई परिपत्र गरिसकेको समेत प्रमुख जिल्ला अधिकारी कार्कीले जानकारी दिनुभयो।

सिन्धुली, रामेछाप, ओखलढुङ्गा, उदयपुर, खोटाङलगायत पूर्वका जिल्ला तथा तराईका जिल्लाहरूबाट दैनिक करिब ३ हजारको हाराहारीमा काठमाडौं आवतजावत गर्ने राजमार्गमा एकतर्फी अस्थायी सडकले चाप थेग्न नसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक चन्द्र फाजु श्रेष्ठले जानकारी दिनुभयो।

राजमार्गमा अत्याधिक चाप भएकाले एकतर्फी कच्ची सडकमा ट्राफिक व्यवस्थापन गर्न निक्कै चुनौती रहेको जिल्ला ट्राफिक प्रमुख श्रेष्ठले भन्नुयभो।
राति ९ बजेबाट राजमार्ग बन्द हुने हुँदा पहिरोको कारण कम संख्या गाडी तथा यात्रुहरू अड्किएको प्रहरी नायब निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो।
‘राति ११ बजे जानकारी पाउना साथ बीपी राजमार्ग भएर गाडी चल्ने जिल्लाहरूका ट्राफिक प्रहरी र जिल्ला प्रहरीमा खबर गरिसकेका कारण करिब १ सयवटा गाडी अड्किएर बसेकोमा बेलुका पठाइएको छ।’ –प्रहरी नायब निरीक्षक श्रेष्ठले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्