किमका भाइको शव प्योङयाङ पठाइने थप दुई व्यक्ति पक्राउ



क्वालालम्पुर, (एजेन्सी)
उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनका सौतेनी भाइ किम जोङ नामको मलेसियाली विमानस्थलमा भएको हत्यापछि मलेसियामा रहेको उनको मृत शरीर आवश्यक परीक्षणपछि क्वालालम्पुरले छिट्टै प्योङयाङ फिर्ता गर्ने बिहीबार जनाएको छ। उनको शवको पोस्टमार्टम सकिए पनि त्यसको प्रतिवेदन भने सार्वजनिक गरिएको छैन।

दक्षिण कोरियाका अनुसार सोमबार मकाउको उडानको तयारीमा रहेको किमजोङ नामको प्योङयाङका लागि मलेसियामा रही काम गर्दै आएकी महिला गुप्तचर कर्मचारी डो आन थि हुङले विष खुवाएर हत्या गरेकी थिइन्। डोआनलाई सात दिन प्रहरी हिरासतमा राखी अनुसन्धान अघि बढाइन लागेको मलेसियाको सेलाङ्गर राज्यको प्रहरी प्रमुख अब्दुल समाह मातले हिजो बताएका छन्।

अघिल्लो दिन ‘एलओएल’ लेखिएको सेतो टि सर्ट लगाएकी उनको विमानस्थलको सीसीटीभीबाट प्राप्त तस्वीर सार्वजनिक गरिएको थियो। मलेसियाली उपप्रधानमन्त्री अहमद जाहिद हमिदीले हिजो किम चोलको नाममा यात्रा गर्ने गरेका किम जोङ नामको मृत्यु भएको औपचारिक पुष्टि गरेको सरकारी समाचार निकाय बर्नामाले जनाएको छ। उनको हत्या पछाडि उत्तर कोरियाकै हात हुनुपर्ने अनुमान गरिएको छ। तर यसका लागि पर्याप्त प्रमाण फेला परेको छैन।
साथै उत्तर कोरियाले भने हत्या सम्बन्धमा अझैसम्म कुनै प्रतिक्रिया दिएको छैन।
जोङ नामको हत्या प्रकरणमा अहिलेसम्म मलेसियाले तीन जनालाई पक्राउ गरेको छ। हिजो एकजना आशंकित इन्डोनेसियाली महिला र उनका मलेसियाली ब्वायफ्रेन्डलाई प्रहरीले हिरासतमा लिएको छ।

यसअघि भियतनामी भ्रमण कागजातसहित समातिएकी महिला जस्तै हिजो इन्डोनेसियाली महिलालाई पनि विमानस्थलको सीसीटीभीको फुटेजको आधारमा गिरफ्तार गरिएको बताइएको छ। यसैबीच हिजो नै उत्तरकोरियामा किम जोङ इलको ७५औं वार्षिकी धूमधामका साथ मनाइएको छ।

उनी वर्तमान नेता किम जोङ उन र मलेसियामा मारिएका किम जोङ नाम दुवैका पिता हुन्। किम जोङ उन पनि बुधबार सत्तारूढ पार्टीको नियमित बैठकमा उपस्थित भएका थिए। उत्तर कोरियाको सरकारी समाचार माध्यमले प्रसारण गरेको उक्त बैठकको दृश्यमा उनको अनुहार मलिन देखिएको दक्षिण कोरियाको योनहाप समाचार निकायले जनाएको छ।

बैठक सकिएपछि हिँड्ने क्रममा उनले परम्पराअनुसार त्यहाँ उपस्थित व्यक्तिलाई अभिवादन नगरेको बताइएको छ। उत्तरकोरियाको सत्तामा आफूलाई बाइपास गरेर उन पुगेपछि किम जोङ नाम परिवारबाट टाढिएर बस्न थालेका थिए। यता प्योङयाङ स्रोतले मलेसियाद्वारा गरेको शव परीक्षण प्रतिवेदनप्रति आशंका व्यक्त गरेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्