राप्रपाको एकता महाधिवेशन आजबाट



रामकृष्ण चापागाईं, काठमाडौं
चौथो राजनीतिक शक्तिका रूपमा स्थापित भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन आज शुक्रबारदेखि राजधानीमा शुरू हुँदै छ। राजसंस्था र हिन्दु राज्य र स्थानीय स्वायत्त शासनको एजेन्डा बोकेको राप्रपाको यो महाधिवेशनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चासोका साथ हेरिएको छ।

संवैधानिक राजसंस्थासहितको प्रजातन्त्रको पक्षमा पार्टी अघि बढ्नेबारे पार्टी अध्यक्ष कमल थापाले प्रस्तुत गर्नुहुने राजनीतिक कार्यपत्रलाई कार्यसम्पादन समितिले पारित गरेसँगै महाधिवेशनमा प्रस्तुत हुने तथा यो प्रस्तावलाई महाधिवेशनले पनि पारित गर्ने बताइएको छ।

पूर्वराजा ज्ञानेन्द्रले समेत राप्रपाको महाधिवेशनलाई चासोका साथ हेरेको स्रोतको भनाइ छ। कमल थापाको नेतृत्वमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र पशुपतिशमशेर जबराको नेतृत्वमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी गत मंसिर ६ गते एकीकरण हुँदा राप्रपाले राजसंस्थाको बारेमा निर्णय गरेको थिएन।

राप्रपाको महाधिवेशनमा भाग लिन भारत र माल्दिभ्सबाट राजनीतिक दलका नेताहरू आउने भएका छन्। केन्द्रीय सदस्य एवं विदेशी अतिथि स्वागत तथा व्यवस्थापन समितिका सदस्य भरत पाठकले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार भारतबाट पूर्वमन्त्री अखिलेशप्रसाद सिंह र हरिशंकर गुप्ता आउने भएका छन्। चीन, श्रीलंका र बंगलादेशबाट भने राजदूतले महाधिवेशनमा भाग लिने केन्द्रीय सदस्य पाठकले बताउनुभएको छ।

पार्टी एकीकरणको बेला दुवै पार्टीले राष्ट्रियताको संरक्षण र प्रजातन्त्रको सुदृढीकरण गर्दै सबल र सम्वृद्ध हिन्दु राष्ट्र निर्माण गर्ने मूल लक्ष्य बनाएका थिए।
राजसंस्थालाई औपचारिक रूपमा अँगालेको राप्रपाको हाल व्यवस्थापिका संसद्मा ३७ सदस्य छन् भने यो दल वर्तमान सरकारमा समेत सामेल छ।

महाधिवेशनमा कुल ३ हजार ४ सय ७१ प्रतिनिधि सहभागी हुन देश, विदेशबाट राजधानी आउने क्रम अझै जारी छ। उद्घाटन कार्यक्रममा सबै राजनीतिक दलका शीर्ष नेतालाई आमन्त्रण गरिएको छ। महाधिवेशनले नयाँ नेतृत्वको रूपमा वर्तमान अध्यक्ष कमल थापालाई सर्वसम्मत रूपमा निर्वाचित गर्ने निश्चित भएको छ।

नेतृत्वका आकांक्षी शीर्ष नेताहरू पशुपति शमशेर राणा, लोकेन्द्रबहादुर चन्द, डा. प्रकाशचन्द्र लोहनी मात्र हैन सुनिल थापालगायतका नेताहरूले समेत अध्यक्षमा थापालाई सर्वसम्मत रूपमा निर्वाचित गर्ने बताएका छन्। कूल १ सय ६१ सदस्यीय केन्द्रीय समितिमध्ये महाधिवेशनले ९६ जना केन्द्रीय सदस्य निर्वाचित गर्नेछ। २५ सदस्य पदाधिकारी रहने राप्रपामा अध्यक्षले २४ जना मनोनित गर्नेछन्।

राप्रपाको पदाधिकारी सदस्यमा तीन जना उपाध्यक्ष रहनेछन् भने महामन्त्री ३, प्रवक्ता १, कोषाध्यक्ष १, सहमहामन्त्री ५, सहायक महामन्त्री ७, सहायक कोषध्यक्ष १ र सहायक प्रवक्ता २ रहने व्यवस्था गरिएको छ। सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएअनुसार पदाधिकारी कूल १ सय ६१ सदस्यमध्येबाट मनोनित गरिनेछ। महाधिवेशनलाई भव्य र सव्य बनाउन अध्यक्ष थापाको संयोजकत्वमा रहेको मूल आयोजक समितिलगायत सबै उपसमितिहरू सक्रिय छन्।

एकता महाधिवेशन सम्पन्न गर्न राप्रपाले उपाध्यक्ष दीपक बोहोराको संयोजकत्वमा आर्थिक समिति, उपाध्यक्ष राजिव पराजुलीको संयोजकत्वमा मञ्च तथा बैठकस्थल व्यवस्थापन समिति, उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा आमसभा व्यवस्थापन समिति, उपाध्यक्ष हरिनारायण यादवको संयोजकत्वमा भोजन व्यवस्थापन समिति, उपाध्यक्ष प्रतिभा राणाको संयोजकत्वमा स्वागत समिति सक्रिय भएको छ।

साथ,ै महामन्त्री ध्रुवबहादुर प्रधानको संयोजकत्वमा विदेशी अतिथि स्वागत तथा व्यवस्थापन समिति, महामन्त्री टंक ढकालको संयोजकत्वमा कार्यक्रम तथा व्यवस्थापन समिति, महामन्त्री राजेन्द्र लिङदेनको संयोजकत्वमा प्रचारप्रसार समिति, महामन्त्री विक्रम पाण्डेको संयोजकत्वमा स्वयंसेवक समिति, महामन्त्री डा. धवलशम्शेर राणाको संयोजकतवमा सांस्कृतिक कार्यक्रम समिति र महामन्त्री नरेन्द्र चौधरीको संयोजकत्वमा झाँकी व्यवस्थापन समिति पनि सक्रिय छ।

प्रतिक्रिया दिनुहोस्