सञ्चारमाध्यममध्ये रेडियो प्रभावकारी



Old radio

हेटौंडा, (नेस)
सञ्चारमाध्यममध्ये सूचनाको प्रभावकारी साधन रेडियो सावित भएको हेटौंडामा सोमबार भएको कार्यक्रमका वक्ताहरुले जोड दिएका छन्। छैटौं विश्व रेडियो दिवसको अवसरमा ‘जनताको चाहना र रेडियो प्राथमिकता’ विषयक कार्यक्रमका वक्ताले ग्रामीण भेगसम्म रेडियोको पहुँच रहेकाले सूचना प्रवाहका लागि रेडियो प्रभावकारी बनेको बताए।

सूचना, मनोरञ्जन र शिक्षामा स्थानीयस्तरको स्वाद बोकेर एफएम रेडियोले प्रसारण गरिरहेकाले गाउँघरमा हाल सञ्चारको पहिलो माध्यम रेडियो भएको बताइयो। मकवानपुरका सम्पूर्ण रेडियोले संयुक्तरूपमा गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दुवाडीले रेडियोलाई सक्दो सहयोग गर्न तयार रहेको बताउँदै सभ्य र उच्च नेपाली समाज निर्माण गर्न रेडियोहरूले पहरेदारी गर्नुपर्नेमा जोड दिए। रेडियोलाई जनचाहनाअनुसार विषयवस्तु उठान गर्न उनले आग्रह गरे।

नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदीप कोइरालाले दुर्गम क्षेत्र र पत्रपत्रिका समयमा पुग्न नसक्ने ठाउँमा रेडियो सूचनाको प्रमुख आधार हुन पुगेको बताए। उनले अन्तर्राष्ट्रिय क्षेत्रमा रेडियोको महत्त्व रहेको बताउँदै रेडियोले सकारात्मक कुरालाई पहिलो प्राथमिकता दिएर प्रसारण गर्नुपर्नेमा जोड दिए। हेटौंडा उपमहानगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद काफ्लेले रेडियोमार्फत् समाज रूपान्तरणका लागि काम गरिरहेको बताउँदै सीप, स्रोत र साधनलाई सहकार्य गर्दै जाने प्रतिबद्धता जनाए।

प्रतिक्रिया दिनुहोस्