फूटबलटेनिशलाई औपचारिक मान्यता



नेपाल समाचारपत्र
काठमाडौ
नेपाल फूटवलटेनिश संघले राष्ट्रिय खेलकुद परिषदबाट औपचारिक मान्यता प्राप्त गरेको छ।
कुल १९ सदस्यीय केन्द्रिय पदाधिकारीहरु सहित दर्ता गरिएको उक्त संघलाई राखेपले आइतबार औपचारिक मान्यता दिएको हो। राखेपका तीन जना सदस्य रहेको उक्त संघको अध्यक्षमा राधाकृष्ण अर्याल, उपाध्यक्षहरुमा क्रमशः सुलभ कुमार ढकाल, ईन्दिरा ज्ञवाली, सुमित्रा शर्मा अर्याल रहेका छन्। यसैगरी महासचिवमा विजय ज्ञवाली, सचिवमा सज्जन सिलवाल, कोषाध्यक्षमा बिरेन्द्र सिंह राई रहेका छन्। साथै सदस्यहरुमा लेखनाथ शर्मा अर्याल, सूर्यकान्त कोईराला, शिव पोख्रेल, गणेश थापा, राजु विष्ट, अनुपा अधिकारी, शंकर अर्याल, पवित्रा अर्याल, राजीव कुमार अर्याल र चेतनाथ अर्याल रहेका छन्।

हालको चेक गणतन्त्रबाट सन् १९२० देखि शुरुवात भई अहिले विश्वका २२ वटा राष्ट्रहरुमा फैलिसकेको फूटवलटेनिश खेल नेपालमा पनि नेपाल फूटवलटेनिश एसोशियसनको नामवाट विधिसम्मत तरिकाले स्थापना गरिएको हो। यस खेललाई संघका अध्यक्ष राधाकृष्ण अर्यालले निकै लामो कसरतपछी नेपालमा भित्र्याउन सफल भएको हो। सन् १९८७ मा इन्टरनेश्नल फुटबलटेनिश एसोसिएसनबाट मान्यताप्राप्त यो खेलको छाता संगठन सन् १९९२ मा फेडेरेसन अफ इन्टरनेश्नल फुटबलटेनिशको रुपमा परिवर्तन गरिएको हो। सन् १९९४ देखि प्रत्येक दुई वर्षको अन्तरालमा विश्व च्याम्पियनसिप हुँदै आईरहेको यस खेल फूटबल, टेनिस र भलिवलको संयुक्त मिश्रणको रुपमा खेल्ने गरिन्छ।

३२ वटा प्यानल हुने यसको बलको तौल भने ३.९५ ग्राम देखि ४.५ ग्रामसम्मको हुनेगर्दछ भने यसमा प्रयोग हुने नेट (जाली) भने १० मिटर लम्बाई तथा ११० सेन्टिमिटर चौडाई हुने गर्दछ। यस खेलको लागि आवश्यक पर्ने खेलमैदानको १८ मिटर लम्बाई र ९ मिटर चौडाई हुन्छ। यसको अलावा मैदानमा तीन–तीन मिटर बाँकी भाग पनि छुट्ट्याईएको हुन्छ भने यो खेल एक, दुई र तीन गरी तीनजनाको समुहमा खेल्ने गरिन्छ।

उमेर समुहमा यसलाई ४ भागमा वर्गिकरण गरिएको छ। जसअन्तर्गत १२ बर्ष उमेरसमुह, १३ देखि १५ वर्षसम्म, १६ देखि १८ र १८ वर्षभन्दा माथिका गरि वर्गिकरण गरिएको छ। साथै महिला र पुरुषको भिन्न र दुवै समुहको समिश्रणमा पनि यो खेल खेल्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्