माओवादी जनयुद्धको दिन रुकुममा सुनसान



धनवीर दाहाल, रुकुम
तत्कालीन माआवादीले जनयुद्ध थालेको २२ वर्ष पूरा भएको दिन अर्थात् फागुन १ गते। जुन दिन शान्ति प्रक्रिया शुरू हुनुभन्दा अघि निकै त्रास लाग्दो हुने गर्दथ्यो। अर्थात् फागुन १ गतेको अघिल्लो दिन राति रुकुमका सबैजसो गाउँमा राँके जुलुस निकालिने गरिन्थ्यो भने १ गते गाउँमा विशेष कार्यक्रम गरेको पाइन्थ्यो। यति मात्र होइन फागुन १ गते कुनै न कुनै ठाउँमा आक्रमण भएकै हुन्थ्यो। त्यसैले फागुन १ गते आउनै लाग्दा अब केही घटना घटेको सुनिने हो कि भन्ने चिन्ता स्थानीयमा हुन्थ्यो।

२०५२ फागुन १ मा रुकुम रोल्पाबाट तत्कालीन माओवादीले जनयुद्धको घोषणा गर्दै सशस्त्र युद्धको थालनी गरेको थियो। नेपालमा जनगणतन्त्रको स्थापना गर्ने भन्दै रुकुम र रोल्पाबाट थालेको माओवादी युद्धका कारण धेरै नेपालीले ज्यान गुमाए भने त्यतिकै मात्रामा घाइते भए। माओवादीले युद्ध थालेर पहिलोपटक समानान्तर सरकार सञ्चालन गरेको रुकुममा भने यति बेला निकै सुनसान देखिएको छ। शान्ति बहालीपछि माओवादी विभाजन भएर धेरै टुक्रा भएपछि त्यति बेला युद्ध लडेका तथा युद्धमा घाइते अपांग भएकाहरू पनि जिभाजन भए। त्यसैको परिणाम अहिले रुकुमजस्तो माओवादीको उद्गम स्थलमा निकै सुनसान देखियो।

केही ठाउँमा तुल ब्यानर र पोस्टर टाँस्नु तथा केही बन्द कोठामा कार्यक्रम गर्नुबाहेक विगतका वर्षजस्तै भव्य कार्यक्रमहरू भएनन्। माओवादी कार्यकर्ताहरू पार्टी विभाजन भएर निकै क्षति भएको बताउँछन्। अहिलेको यो अवस्थाले गर्दा माओवादीहरू मिल्नुको विकल्प नभएको उनीहरूको भनाइ छ। नेकपा माओवादी केन्द्र रुकुमका उपाध्यक्ष गोपेश्वर केसीले पार्टी विभाजन हुनु दुःखद पक्ष भएको बताउनुभयो। उहाँले अब माओवादीहरू मिल्ने बेला आएको र छिट्टै सबै माओवादी एक हुने दाबी गर्नुभयो। माओवादी केन्द्रका युवा नेता धनबहादुर खड्काले नेताहरूले पार्टीभन्दा सत्तातिर ध्यान दिएका कारण जनयुद्धको मर्ममा चोट लागेको बताउनुभयो। उहाँले अबका दिनमा सबै कम्युनिस्ट पार्टीहरू एक हुनुको विकल्प नभएको बताउनुभयो।

रुकुमका २ वटै निर्वाचन क्षेत्रमा विजय हासिल गरेको माओवादी केन्द्रले कोठे कार्यक्रमबाहेक भव्य कुनै पनि कार्यक्रम गरेन। माओवादी केन्द्र रुकुमले मुसिकोटको बालमन्दिर हलमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। तर गाउँमा भने माओवादी समर्थक कार्यकर्ता र शुभेच्छुकले जनयुद्धको झल्को दिने गरी विभिन्न मेला, महोत्सव र सांस्कृतिक कार्यक्रम गरिरहेका छन्। पार्टीका नेताहरूलाई त्यतापट्टि ध्यान नभए पनि कार्यकर्ता भने आफ्नो पुराना दिनको स्मरण गरिरहेका छन्। माओवादीले युद्ध थालेपछि रुकुमको चुनवाङ, महत, खारा, पिपललगायतका केही ठाउँ निकै चर्चित भए। तर शान्ति बहाली भएपछि माओवादी विभाजन हुनु र नेताहरू सत्तामुखी भएपछि माओवादी लडाकूहरू दैनिक रूपमा खेलेको ठाउँलाई बिर्सेको स्थानीयको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्