रश्मी थापा

नायक तथा निर्माता स्व. श्रीकृष्ण श्रेष्ठको नृत्य पर्दामा हेरेर आफू पनि त्यसै गरी पर्दामा छाउने सपना देखेर २०५७ सालमा धादिङबाट काठमाडौं छिरेका दीपेन्द्र तिमल्सिना अहिले नेपाली कलाजगत्को नृत्य क्षेत्रमा परिचित नाम बनेका छन्। साइड डान्सर (कोरस कलाकार) बाट करियर शुरु गरेका उनको परिचय अब केवल डान्सरको रूपमा मात्र सीमित रहेछ। मोडल, कोरियोग्राफर, नृत्य प्रशिक्षक, नृत्य निर्देशक र कलाकारको परिचय बनाइसकेका छन् उनले।

‘सानैदेखि कलाकारिताको सपनाले गर्दा यहि क्षेत्र रोजेको हो’ –उनी भन्छन् ‘अहिले यसैमा सन्तुष्ट पनि भएको छु।’ २०४० सालमा धादिङमा जन्मेका उनको परिवार उनले विज्ञान पढेर केही गरोस् भन्ने चाहन्थ्यो रे। उनले भने कलाक्षेत्र रोजेका रहेछन्। ‘मेरो पढाइ एकदम राम्रो थियो र मैले त्यो बेला जिल्लास्तरीय परीक्षामा पहिलो स्थान बनाएको थिएँ। मध्यमवर्गको परिवारमा जन्मे पनि मेरो पढाइ राम्रो भएकाले वुवाको सपना साइन्स पढाएर डाक्टर बनाउने थियो। तर मलाई साइन्स पढ्न इच्छा नै थिएन। आफूलाई इच्छा नभएको विषय पढेपछि आफूले राम्रो गर्न पनि नसक्ने र वुवाको खर्च पनि खेर जाने हुन्छ भन्ने लाग्यो। त्यसैले २०५८ सालमा काठमाडौं आएर रत्न राज्यलक्ष्मी क्याम्पसमा मानविकीमा भर्ना भएँ।

वुवाको सनपा पनि पूरा गर्न नसकेको र पढाइलाई मात्र अगाडि बढाएर पनि केही नहुने स्थिति र मेरो मनमा कसरी कलाकार बन्ने भन्ने मात्र थियो’ नामको पछाडि बालक लेख्ने उनले भने ‘कलाकारितामा लागेर नाम कमाउँछु भनेर यही क्षेत्रमा लाग्ने निर्णय गरेँ। खासमा हिरो बन्ने सपना थियो। हिरो त होइन, डान्स डाइरेक्टरचाहिँ भएँ। टेलिभिजन, सिनेमा र स्टेजमा अरु नाचेको देख्दा आफूलाई पनि त्यस्तै गरी नाच्ने रहर भएर कला क्ष्ोत्र रोजेको उनले खुलाए। ‘त्यति बेला टिभीमा नायक श्रीकृष्ण दाइले नाचेको देखेर म पनि उहाँजस्तै बन्छु भन्ने सोचले आज मलाई यहाँसम्म पुर्याएको छ। सिनेमा हेर्न जाँदा, पोस्टर देख्दा म पनि सिनेमाको पोस्टरमा देखिन पाए हुन्थ्यो भन्ने लाग्थ्यो। त्यसैले गर्दा म पढ्दापढ्दै काठमाडौं आएको केही समयमै सरगम कला केन्द्रम भर्ना भएँ। त्यहाँ ३ महिनाजति डान्स सिकेपछि कृष्ण फिल्मसमार्फत दोहोरी गीतहरुको कोरसमा नाच्न थालेँ। त्यहाँ मैले नृत्य निर्देशक शिव विकसँग नृत्य क्लास लिएको थिएँ। गाउँमा हुँदा स्कुलका कार्यक्रमहरुमा नाच्ने गरेको थिएँ’ कृष्ण फिल्मस्मा गएपछि २ हजारजति लोकदोहोरी गीतहरुमा कोरस कलाकार बनेर नृत्य गरेका बालकले भने ‘त्यस्तै सजिलो होला भनठान्थें। तर पर्दामा अरु नाचेको देख्नु र आपँैंm नाच्नु गाह्रो रहेछ। परिवारको सपनाभन्दा फरक क्षेत्र रोजेको र मध्यम वर्गीय परिवारबाट आएको हुँदा मैले शुरूआती दिनहरुमा निकै संघर्ष गरेको छु।’

आफ्नो नृत्य राम्रो छ भनेर अरुले भन्न थालेपछि २०६४ सालदेखि चलचित्र क्षेत्रमा लागेको उनको भनाइ छ। ‘त्यति बेला मेरो नृत्य सुधारिएको र राम्रो छ भनेपछि फिल्म क्षेत्रतिर छिरियो। मैले करिब ३ सय फिल्मका गीतमा पनि साइड डान्सरका रूपमा काम गरेको छु। फिल्मको नृत्यकै क्रममा नृत्य निर्देशक वसन्त श्रेष्ठसंग भेट भयो। उहाँले मैले नाचेको हेरिरहनुभएको रहेछ अनि मलाई तिम्रो डान्स एकदमै राम्रो रहेछ के तिमी मसंग असिस्टेन्टका रूपमा काम गर्छौ भनेर सोध्नुभयो। मैले सोचेको पनि थिइनँ वसन्त श्रेष्ठ सरले मलाई यस्तो प्रस्ताव राख्नुहुन्छ भनेर। त्यो मेरा लागि एकदमै ठूलो मौका हो भनेर सहजै स्विकार गरँे। त्यो बेलादेखि नै उहाँसँग मुख्य सहायक नृत्य निर्देशकका रूपमा काम गरँे। मैले राजु शाह, शान्ता नेपालीलगायतका वरिष्ठ नृत्य निर्देशकहरुसँग पनि काम गरेको छु। वसन्त सरसँग चाहिँ लगभग २ सयजति फिल्ममा मुख्य सहायक नृत्य निर्देशकका रूपमा काम गरेँ’ –उनले सुनँए। आधा दर्जन भोजपुरी फिल्ममा आफैंले नृत्य निर्देशकका रूपमा काम गरेका दीपेन्द्रले ठेगाना, ज्यान हाजिर छजस्ता फिल्ममा पनि मूख्य नृत्य निर्देशकका रूपमा काम गरेका छन्।

‘यो क्रममा मैले नेपाली फिल्मका ठूला र नाम चलेका नृत्य निर्देशक कालकारलगायतका विभिन्न व्यक्तिहरुसँग काम गर्ने मौका पाएको छु, उनी भन्छन्। हिजोआजका कुरादेखि सिन्दुर, खासखुस मेरी बास्सैलगायतका सिरियलहरुमा अभिनयसमेत गरेका उनले आमा, चेतना, चेतनाको दियोलगायत दर्जनौं सडक नाटकमा पनि आफ्नो कला देखाइसकेका छन्। गायक रामचन्द्र काफ्ले र सुनिता गुरुङको स्वरमा रहेको लोकपप गीत पानीपानी, रमेशराज भट्टराईको पप गीत फिदा, महेन्द्रमान तामाङको गोर्खाली ठिटोजस्ता पछिल्ला चलेका गीतका म्युजिक भिडियोका लागि कोरियोग्राफी र निर्देशक गर्दै आएका उनले आधुनिक, पप, लोकलगायतका करिब २ सयभन्दा धेरै गीतका म्युजिक भिडियोमा नृत्य निर्देशन र निर्देशक गरिसकेका छन्। कलाकार बन्छु भनेर हिँडेका उनी अहिले आफू कलाकारभन्दा बढी नृत्यनिर्देशकका रूपमा रहेको बताउँछन्। ‘जुन बेला म नायक बन्छु भनेर यो क्षेत्रमा लागेँ, त्यति बेला मैले यस क्षेत्रका कोही पनि मानिस चिनेको थिइनँ। अभिनयमा मौका पाउन मसँग लगानी गर्ने पर्याप्त मात्रामा पैसा पनि थिएन। यस्तो अवस्थामा मैले संघर्षको बाटो नै रोजेँ, हिरो हुन त सकिनँ। तर नृत्य निर्देशकका रूपमा रमाएको छु उनी आशावादी पनि छन् ‘भोलिको दिनमा कलाकारिताले जित्यो भने थाहा छैन। तर अहिलेको अवस्थामा म कलाकारभन्दा बढी नृत्यनिर्देशक नै हो।’

५ वर्षदेखि निर्भाना कलाकेन्द्र र निर्भाना टिभी नेपालमा रहेर नृत्य प्रशिक्षण र म्युजिक भिडियो निर्देशन तथा कोरियोग्राफी गर्दै आएका उनले सयभन्दा नृत्यका चेलाचेली तयार पारिसकेका छन्। ‘मसँग नृत्य सिकेका धेरै राम्रो कलाकार भएका छन्। त्यो देखेर खुसी लाग्छ’ –उनी भन्छन्। मोडल लक्ष्मीशोभा प्रजापतिसंग विवाह गरेका उनले सुटिङको बेलामा नृत्यनिर्देशक वसन्त श्रेष्ठले गाली गर्दा धेरैपटक एक्लै रोएको र नायक श्रीकृष्ण श्रेष्ठको मृत्यृ हुँदा रोएको पल जीवनकै दुखद् क्षण भएको बताए। ‘सुटिङका बेला धेरैपटक मेरो गुरु वसन्त श्रेष्ठले सुटिङ स्पटमै धेरै व्यक्तिहरुको अगाडि गाली गर्दा कस्तो काम रोजेँछु भनेर धेरैपटक रोएको छु।

तर अहिले सम्झँदा उहाँले गाली गरेर मलाई काम नसिकाएको भए आज म यो ठाउँमा हुदिनथँे र मेरो पहिचान बन्ने पनि थिएन जस्तो लाग्छ’ दिपेन्द्र भन्छन् ‘म जसको नृत्य पर्दामा देखेर यो क्षेत्रमा केही गर्छ’ भन्ने सपना देखेर लागेको थिएँ, उनै श्रीकृष्ण श्रेष्ठको निधन हुँदाको पल म निकै राएको थिएँ। म कलाकारितामा आइसकेपछि उहाँसँग नजिक भए मलाई मेहनत गर्नुपर्छ भाइ म पनि मेहनत गरेरै आएको हो भनेर हौसला दिनुहुन्थ्यो। उहाँको फ्यान भएकाले उहाँको जस्तै कपाल पनि पालेको छ।’

हिजो अरुको निर्देशनमा रहेर काम गर्ने उनी आज आफ्नै निर्देशनमा अरुलाई काम लगाउँदा आफूले सुटिङका बेला भोगेकोजस्तो दुःख अरुले भोग्न नपरोस् भनेर सजग हुँदै गरिरहेको बताउँछन्। भन्छन् ‘हिजो म अरुको निर्देशनमा काम गर्थें। सुटिङमा लाउने ड्रेस ल्याएर फालिदिन्थे र त्यो लगाएर जस्तोसुकै अवस्थामा पनि काम गर्नुपथ्र्यो। खानपानको ठेगान नभएकै कारण म कयौंपटक बिरामी पनि परेको छु। तर अहिले मेरो अन्डरमा काम गर्ने धेरै हुन्छन्। सुटिङमा नै काम गर्दाको जस्तै समस्या नहोस् भनेर मिलाउने कोसिस गरेको हुन्छु।’ थप्छन् ‘मेरो अन्तिम श्वास पनि काम गर्दागर्दै जाओस् भन्ने चाहना छ। मैले पैसा कमाउनका लागि यो क्षेत्र रोजेको थिइनँ। पैसा कमाउनका लागि त म विदेश जान पनि सक्थें या अरु केही गर्न सक्थें। अर्को क्षेत्रमा लागेको भए मसँग अहिले घर गाडी र धेरै सम्पत्ति हुने थियो। तर मलामी कमाउ भनेर यसमै छु। मैले यस क्षेत्रमा लागेर पढाइ गुमाएको छु। तर आजसम्म मैले जे पाएँ त्यो मेरा लागि धेरै ठूलो कुरा हो। तर म के हँु र मेरो काम के हो भनेर अझै देखाउन बाँकी नै छ।’

LEAVE A REPLY