भूमाफियालाई अझै कारबाही भएन



सञ्जय कार्की, रौतहट
क्तिको नाममा राष्ट्रिय वनको जमिन दर्ता गरेको खण्डमा वन ऐन ०४९ आकर्षित हुन्छ। सोही ऐनले वनको जमिन व्यक्तिको नाममा दर्ता गर्ने कार्यमा संलग्नलाई कसुर र सजाय हुने प्रावधान रहेको छ। तर रौतहटको रंगपुर–५ मा रहेको राष्ट्रिय वनको १ सय २२ बिगाह क्षेत्रफलको जमिन व्यक्तिको नाममा दर्ता गरेको पाइएपछि जिल्ला वन कार्यालय रौतहटले सोही ऐनबमोजिम खारेज गरिदिएको छ तर संलग्नलाई सजाय दिलाउन अझै लागेको छैन।

सो जमिन ५० करोडभन्दा बढीको रहेको जनाइएको छ। सो जमिनमा साल, बाझी, कर्मालगायतका रुखहरू रहेको छ। वन कर्मचारी, गाविस सचिव, नापी कार्यालयका कर्मचारीको मिलोमतोमा भूमाफियाले रौतहटको रंगपुर–५ स्थित गुजरासोतीदेखि पूर्व, अवादी गाउँदेखि पश्चिम, बाग्मती नहरदेखि दक्षिण र गुजरा खोलादेखि उत्तरमा पर्ने राष्ट्रिय वनको १ सय २२ बिगाहा जमिन सर्लाही, ओखलढुंगा, काठमाडौं, रामेछाप, सिन्धुली, सोलुखुम्बु, सिन्धुपाल्चोकसहित जिल्लाका २३ व्यक्तिको नाममा दर्ता गरेको खुलिसक्दा पनि संलग्नलाई कारबाहीमा दायरामा अझै ल्याएको छैन। वन ऐन ०४९ को दफा १६ को उपदफा १ मा राष्ट्रिय वनभित्रको जग्गा कुनैले पनि दर्ता गर्न वा गराउन नहुने उल्लेख छ। सोही दफाको उपदफा (२) ले भने उपदफा (१) मा लेखिएको जग्गा दर्ता गराइएको भए तापनि सो दर्ताको नाताले त्यस्तो जग्गा दाबी गर्न पाइने छैन र त्यस्तो दर्ता स्वतः बदर हुनेछ।

सदियौंदेखिको राष्ट्रिय वनक्षेत्रको जमिनलाई कर्मचारीको मिलोमतोमा भूमाफियाले दर्ता गरेको खुलेपछि जिल्ला वन कार्यालय रौतहटले एक महिना लामो छानविनपछि वन ऐन ०४९ को दफा १६ को उपदफा (२) आकर्षित गर्दै खारेज गरिदिएको छ। तर सोही ऐनको दफा (५०) को उपदफा (२) मा भने दफा (१६) को उपदफा (१) अन्तर्गत कसुर गर्ने व्यक्ति वा सरकारी कर्मचारीलाई १० हजार रुपियाँसम्म जरिवाना वा दुई वर्ष कैद वा दुवै सजाय हुने उल्लेख छ। तर वन कार्यालयकै अनुसन्धानमा सो कार्यमा जिल्ला वन कार्यालय रौतहटकै सहायक वन अधिकृत रामकेवल यादवको मिलोमतो भएको खुलिसक्दा पनि कारबाहीको दायरामा ल्याएको छैन। उनी हाल जिल्ला वन कार्यालय गुल्मीमा कार्यरत रहेका छन्। वनकै प्रतिवेदनले सहायक वनअधिकृत यादव दोषी देखिँदा समेत उनी सरकारी तलब र रासन खाएर कार्य गर्दै आएका छन्। जिल्ला वन कार्यालयले रौतहट स्रोतका अनुसार वनको जमिन भूमाफियाको नाममा दर्ता गराउन सहयोग गर्नेमा नापनक्सा गर्ने कर्मचारी अमिन जोखनप्रसाद साह, नापी निरीक्षक घुरन चौधरी, टोली प्रमुख नागेन्द्र राय यादव, नापी अधिकृत शेषबहादुर श्रेष्ठ, प्रमुख नापी अधिकृत जिबछप्रसाद साहले टिप्पणी आदेश गरेको उल्लेख छ।

यस्तै नापी क्षेत्रीय किताबमा भने रंगपुर गाविस सचिव कृष्ण बस्नेत, नापी गर्ने अमिन जोखनप्रसाद साह, नापी निरीक्षण गर्ने निरीक्षक घुरन चौधरी, वन प्रतिनिधि जिल्ला वन कार्यालय रौतहटका रेन्जर रामकेवल राय यादव, टोली प्रमुख नागेन्द्र राय यादवको सहयोग रहेको छ। नापनक्सा सिफारिस गर्नेमा रंगपुर गाविसका अध्यक्ष हरिनारायण बैठा रहेका छन्। उनीहरू सबैको संलग्नतामा नापी कार्यालय रौतहटका अधिकृत शिबशंकर साहले भूमाफियालाई कित्ताकाट गरी जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको खुलिसक्दा पनि जिल्ला वन कार्यालयले कारबाहीको दायरामा ल्याएको छैन। जिल्ला वन कार्यालय रौतहटका प्रमुख वन अधिकृत दीर्घनारायण कोइरालाले राष्ट्रिय वनको जमिन व्यक्तिको नाममा दर्ता गर्नेलाई कारबाही गर्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्