अदुवा खेतीप्रति सिन्धुलीका कृषकहरु आकर्षित



नविन श्रेष्ठ, सिन्धुली ।
जिल्लाको भद्रकाली गाविसका कृषकहरु व्यवसायिक अदुवा खेतीतर्फ आकर्षित हुनथालेका छन् । खाद्यान्न वालीको तुलनामा अदुवा खेतीबाट राम्रो आम्दानी लिनसकिने देखिएपछि उनिहरु यस खेतीतर्फ आकर्षित भएका हुन् ।

भद्रकाली गाविस वडा नं.८ का कृषक विष्णु कार्कीले अदुवा खेतीबाट वार्षिक रुपमा डेढ लाख रुपैयाँ भन्दा बढि आम्दानी लिन्छन् । त्यस्तै भद्रकाली ८ कै अर्का कृषक भवमाया गौतम पनि व्यवसायिक अदुवा खेती गरिरहनुभएको छ । तीन वर्षदेखि व्यवसायिक रुपमा अदुवा खेती आउनुभएकी गौतम सफल कृषक समेत भैसक्नुभएको छ । अदुवा खेतीबाट वार्षिक रुपमा एक लाखभन्दा बढि आम्दानी लिनेगरेको गौतमको भनाई छ ।

विष्णु र भवमाया मात्र हैन भद्रकाली गाविसका प्रायः सवै कृषकहरु व्यवसायिक अदुवा खेतीमा लागेका छन् । उक्त गाविसलाई अदुवा खेतीका लागि पकेट क्षेत्र पनि मानिन्छ । तुलनात्मक रुपमा यस गाविसका किसानहरुले वार्षिक रुपमा डेढलाख रुपैयाँ भन्दा माथिको अदुवा विक्री गर्छन् । त्यसो त व्यवसायिक अदुवा खेती गर्ने किसानहरुलाई जिल्ला कृषि विकास कार्यालयले अदुवाको वीउ र कृषि प्राविधिक सहयोग गरेको छ भने प्लान नेपालको सहयोगमा सहमति सिन्धुलीले अदुवा खेतीका लागि ऋण उपलव्ध गराएको छ ।

जिल्लाको ४ सय ५० हेक्टर क्षेत्रफलमा अदुवा खेती भैरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । भद्रकाली, अरुणठाकुर, ककुरठाकुर, रतनचुरा, दुधौली नगरपालिका र कमलामाई नगरपालिका क्षेत्रका किसानहरुले अदुवा खेतीवाट राम्रो आम्दानी गरिरहेका छन् । मौसम अनुकूल भएमा यस खेतीवाट घाटा नहुने वताउँदै किसानहरुले सम्वन्धित निकायले उन्नत विउविजन र आवस्यक प्राविधिक सहयोग गरेको खण्डमा अदुवा खेतीप्रति किसानहरुको अझै आकर्षण बढ्ने बताएका छन् । पछिल्लो चरणमा अदुवाको मूल्य पनि निकै चुलिएको उपभोक्ताहरु बताउँछन् ।

वर्षा बढि भयोभने अदुवा कुहिन सक्ने बताउँदै किसानहरु कुनै समयमा विउ किन्न लागेको मूल्य उठाउन पनि गा¥हो परेको बताउँछन् । तर पछिल्ला वर्षहरुमा मौसमले पनि साथ दिएको र आवस्यक प्राविधिक ज्ञान समेत पाएकाले राम्रो आम्दानी लिन सफल भएको उनिहरुको भनाई छ ।

मन लगाएर परिश्रम गर्ने हो भने पाखो बारीको लालपुर्जा राखेर युवाहरु विदेश जाननपर्ने उनिहरुले सुझाव दिएका छन् । अझ सम्वन्धित निकायले सस्तो व्याजमा ऋण उपलव्ध गराउने, नयाँ तथा आधुनिक कृषि प्रणाली सम्वन्धि तालिम दिने र उत्पादन भएको अदुवाको बजार सुनिश्चित गरिदिने हो भने कसैले पनि खाडी मुलुकमा जानुनर्पे सफल किसानहरु बताउँछन् । अहिले अदुवाको मूल्य पनि राम्रो भएकोले किसानहरु यसप्रति थप आकर्षित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्