उपाधि भिडन्तमा झापा र मनाङ



रमेश समदर्शी, बिर्तामोड

गत संस्करणमा त्रिभुवन आर्मीसँग फाइनलमा हारेको पीडा भुल्ने दाउमा रहेको रमपम झापा ११ ले सोमबार मनाङ मस्र्याङ्दी क्लबसँग उपाधि रक्षाका लागि भिड्दैछ । पहिलोपल्ट फाइनल पुगेको मनाङे टोली पनि एक सातामा महत्वपूर्ण दुई वटा गोल्डकप उचालेको मनोबलका साथ मैदान उत्रदैँछ ।

मोफसलकै सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिता झापा गोल्डकपको फाइनल खेल बिर्ताबजारस्थित डोमालाल राजवंशी रङ्गशालामा हुनेछ । घरेलु टोली झापा–११ ले शुक्रबारको पहिलो सेमिफाइनल खेलमा हिमालयन शेर्पालाई ४–० गोलअन्तरले पन्छाउँदै अन्तिम दुईमा आफ्नो स्थान सुरक्षित गरेको हो । मनाङले भने शनिबारको अन्तिम सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो ।

डिफेन्डिङ च्याम्पियन आर्मी यसपटक सेमिफाइनलबाटै घर फर्किएपछि आफ्नो टिमलाई केही सहज महसुस भएको झापा–११ का कप्तान प्रवेश कटुवालले बताए । ‘फाइनलमा मनाङसँगै भेट होस् भन्ने हामी पनि चाहन्थ्यौँ,’ आइतबार रङ्गशालामा आयोजित प्रि–म्याच कन्फरेन्समा प्रवेशले भने,–‘आर्मी शारीरिकरुपमा बलियो टोली थियो । मनाङ र हामी टेक्निकल्ली बलिया छौँ ।’
गतवर्षको झापा गोल्डकपमा घरेलु टोली झापा–११ आर्मीसँग १–० गोलअन्तरले पराजित हुँदै उपविजेता बनेको थियो । ‘गत वर्षको हारको पीडा भुलाउन यसपटक जीतको विकल्प छैन’,– प्रवेशले भने । झापा–११ फाइनलमा ४–३–३ को रणनितिमा मैदान उत्रिने उनले जानकारी दिए । टिमवर्क नै झापा–११ का लागि जित्ने आधार भएको र सबै खेलाडी फाइनल भिड्न तयार रहेको उनले प्रतिक्रिया दिए ।

तर, मिडफिल्डर योगेश गुरुङ एपेन्डिक्सको अपरेसनपछि बेड रेस्टमा छन् । ‘उसको अभाव हामीमा खड्किएको छ’, क्याप्टेन कटुवालले भने, ‘उसको बदलामा अरु खेलाडीबाट मेकअप गर्नेछौँ ।’ गतवर्ष झापा ११ ले इलामको माईभ्याली गोल्डकप तथा गत महिना काँकरभिट्टा गोल्डकपको उपाधि जितेको छ । दुवै स्पर्धामा उसले सशस्त्र प्रहरीको एपीएफ टोलीलाई पराजित गरी उपाधि चुमेको थियो ।

मनाङका प्रशिक्षक छिरिङ गुरुङले आफ्नो टिम यो सिजनमा सशक्त रहेको दाबी गरे । गत वर्षको झापा गोल्डकपको सेमिफाइनलमा मनाङ आर्मीसँग पराजित भएको थियो । यसपटक सेमिफाइनलमै आर्मीलाई हराउँदै मनाङले बदला लियो । आर्मीलाई पाखा लगाएपछि उपाधि जित्नेमा आफूहरु ढुक्क रहेको प्रशिक्षक गुरुङ बताउँछन् ।

‘हाम्रो रणनीतिसँगै केही खेलाडी पनि फेरिन सक्छन्’, उनले भने । टोली मजबुत रहेसँगै टिमवर्क पनि राम्रो हुनु नै उपाधि उचाल्ने आधार भएको उनको भनाइ छ । प्रशिक्षक गुरुङले विक्रम लामा र रोहित चन्द आएपछि मनाङ झनै बलियो भएको बताए ।

पश्चिम नेपालको धनगढीमा माघ २ गते खप्तड गोल्डकप जितेर हौसिएको मनाङ मस्र्याङ्दी क्लबले त्यसको दुई साता नबित्दै माघ १५ मा पोखराको प्रतिष्ठित आहा रारा गोल्डकपको उपाधि उचाल्यो । अहिले सो क्लब त्यसको एक सातामा पूर्वी नेपालको रमपम झापा गोल्डकपको उपाधि हत्याएर यस सिजनका तीन प्रतिष्ठित उपाधिमै ह्याट्रिक गर्ने मुडमा छ ।

अघिल्लो सिजनमा झापा र मनाङ २ पटक आमने–सामने भएका थिए । दुईवटै भिडन्तमा मनाङले बाजी मारेकाले मनोबल उच्च रहेको गुरुङ बताउँछन् । उनले झापा–११ को मिडफिल्डको भने तारिफ गरे ।

यसअघि झापा र मनाङको भेट ६ पटक भइसकेको छ । जसमा मनाङले ४ खेल जित्दा झापाले २ वटा मात्र जीत निकाल्न सकेको थियो । मोफसलकै सर्वाधिक पुरस्कार राशि सात लाख रहेको प्रतियोगिताको उपविजेताले तीन लाख ५० हजार पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्