तुलसीजस्तै तुलसी



(कमल ढकाल) आफूले आफैंलाई खराब भन्न नसकेर मान्छेले भन्ने गरेका छन् जमाना खराब छ । मैले यो खराब गरेथें अब सच्याएँ भन्ने भयो भने जमाना आफैं असल बनिदिन्थ्यो । दुःख नपाऊ सुख मात्र पाऊ भन्ने तिनलाई यो पनि थाहा छ पानी नपरिकन ईन्द्रेणी देखिँदैन । ईन्द्रेणीजस्तै रंगीन जीवन बन्न झरीको जरुरी छ । आज देखिएका रंगीन जीवनको आँखामा धेरै झरी परिसकेको हुन्छ ।

आजका चर्चित नेता बामदेव गौतमकी पत्नी तुलसा गौतमको कुरा गर्न खोज्दै छु । तुलसाको आफ्नै परिचय छ । बुढालाई अग्लो बनाउन उनले गरेको मेहनतले उनलाई बामदेव पत्नी भनेर आम मान्छेले चिन्छन् । उनको जीवनमा परेको झरीबाट कुरा शुरू भयो । भन्दैथिइन् । ‘म जन्मेकै साल (विसं २०११) मा सलह पसेछ गाउँमा, सलहले बालीनाली मात्र हैन रुखको बोक्रासमेत बाँकी नराखी खाएछ, त्यसमाथि फेरि आगलागी भएछ हाम्रै घरमा,खाने कुरा केही नभएर आमाले खोले खुवाउनुभएछ, आमाले खादा मैले भोक लाग्यो भनेकाले खादाखादैको खोले दिएर हुर्काउनुभएको रे।’ यसोभन्दा उनी रोइरहेकी थिइन्। तुलसाको आज आमा छैनन् तर आमाले बनाएको हातले टिस्यु समातेर आँसु पुछिरहेकी थिइन्।

आँसु पुछिरहँदा उनकी कान्छी छोरी विजेता सँगै थिइन्। चाइनाबाट दाँतको डक्टर भएर फर्किएकी विजेतालाई आमाको आँसुले धेरै कुरा भनिरहेको थियो । आमाले आँसु पुछिरहदा मैले विजेतालाई हेरे। र सम्झें, कतै पढेको कुरा । बच्चाले के सिकाउन खोजेको जान्दैन । तर अभिभावकले के गरिहेको छ त्यो बच्चाले बुझ्छ । विजेताले आमाको दुःख बुझेको स्वीकारोक्तिसहित उनी मुन्टो निहुराइरहेकी थिइन्। सायद केही सोचिरहेकी थिइन्।

तनहँु सिम्ले बैदीमा जन्मिएकी तुलसाको बाल्यकाल आर्मी बाबुको सेरोफेरोमा घुमेको रहेछ । ब्रिटिस आर्मीमा जागिरे बाबु गाउँमै केही गर्छु भनेर तनहँु फर्के । तनहँुमा त्यो चाल भएपछि उनी भारतीय आर्मीमा भर्ती भए । तुलसा पनि बाबुसँगै इलाहाबाद, कलकत्ता, बरेली, आसाम, हुँदै गोरखपुरसम्म फिजारिइन्। शिक्षादीक्षा पनि कलकत्ता हुँदै गोरखपुरसम्मका स्कुलमा छन् उनका । गोरखपुरमा पढ्दा उनको राजनीतिक बीउ रोपियो । नेपाल छात्रसंघमा सहभागी भएर । यो थियो नेपाली सम्बत २०२५ देखि २०२८ तिरको कुरा । गोरखपुरमै बामदेव गौतमसँग चिनजान भयो उनको । उनै बामदेवसँग २०३१ मंसिर १७ मा विवाह भयो । रूपन्देहीमा भएको भूमिगत विवाहमा चन्द्रमा पनि भूमिगत भएको थियो । अर्थात चन्द्रग्रहणको बेला थियो । चन्द्रग्रहणमा विवाह गर्नु हुँदैन भने पनि विवाहमा क्रान्तिकारीले मान्ने कुरा भएन । क्रान्तिकारी गीतसंगीतसहितको विवाह सकियो ।

बुढाबुढीको सल्लाहअनुसार बामदेवले राजनीति गर्ने तुलसाले घर हेर्ने भयो । उनी नजिकैको कालीका स्कुल पढाउन थालिन् । क्रान्तिकारी मुभमेन्टमा लागेकाले ६ महिनामै जागिर गयो । त्याहाँबाट आउने प्रतिमहिना १ सय ८२ रूपियाँले उनले कोठा भाडा तिरेर आफूलाई चलाउँदै आएकी थिइन् । जागिर नभएपछि उनी रोपाइँ गर्न थालिन् । भन्दैथिइन् ‘आठ महिनाको भँुडी लिएर म रोपाइँमा जान्थें, दैनिक छ रूपियाँमा, एक महिना पूरै रोपाइँ गरेपछि स्कुलको तलबबराबर पैसा आयो र पालिए ।’ यसोभन्दा उनको अनुहारमा फेरि दुःखको बादल लागिसकेको थियो । झर्न खोजेको आँसुले मेरो सास पनि बढिरहेको थियो । सम्झेँ ।

लोग्ने मान्छेलाई हात काटेर रगत आयो भने पनि बिमारी पर्छ । महिलालाई चार दिन त यसै रगत बग्छ । पाँच किलोको छोरासंगै लिएर काम गर भन्यो भने लोग्ने मान्छेले सक्दैन ।नौ किलो पेटमा लिएर महिलाले कसरी काम गर्न सक्छे ? त्यो पनि दिनभर रोपाइँ । सास फुलिरहेको थियो । केही सोध्नै सकिरहेको थिइनँ ।सँगै भएकी इन्दिरा पन्त भन्दै थिइन् ‘दिदीको दुःखको कथा त कति हो कति यस्तो तपाईंलाई रुवाउने धेरै कथा छन् उहाँका ।’

पूरा डेढ घन्टा कुरा गरें । नेता बन्नुपछाडि नेता पत्नीको दुःख धेरै हुँदोरहेछ । चराजस्तै उडेर आउने जाने बामदेवले घर हेर्न सक्ने कुरा भएन । पतिलाई नभनी एक्लै दुःख गर्दाको दुःख डबल हुँदोरहेछ । कहिले पति जेल पर्ने कहिले कता । पति र छोराछोरीको जिजिविषाले मुटुभरि दुःखका प्वाल बनाएका रहेछन् उनको ।

पढाउने काम भने उनले बेलाबेलामा गरिरहेकी थिइन् । त्यसले समाजमा उनलाई मिसको दर्जा दिएको थियो र इज्जत पनि । डिंगरकुवा निमावि, छपिया प्रावि अगुवा गाविसमा उनले पढाउन छाडिनन् । बेलाबेलामा छोराछोरी आमालाई जिम्मा लगाएर रातभर रातभर पोस्टर टाँस्न पनि जान्थिन् । शिक्षण, राजनीति, र घरको त्रिवेणीले कहिले कहाँ कहिले कहाँ पुग्थिन् उनी । साथमा बच्चा पनि लिएर जाँदा उनको भोक, निद्रा र हैरानीका किस्सा सैयौं रहेछन्।

शिक्षण पेसाबाट पेन्सन पकाएकी तुलसा अहिले अनेमसंघको केन्द्रीय सदस्य हुन । बच्चादेखि नै खेल्नमा टप हुने भएकाले उनी अहिले पनि खेलकुदमा सक्रिय छन् । कवर्डी संघको अध्यक्ष छन् । सामाजिक काममा महिला अधिकार तथा विकास केन्द्रको अध्यक्ष छन् । महिलालाई सक्रिय पारेर तरकारी फार्म चलाएकी छन् । अचार बनाउने कम्पनी छ । आत्मनिर्भरताको बाटोमा महिलालाई लगाउन के गर्न सकिन्छ भनेर दैनिक सोचिरहन्छिन् । गोरखपुरमा पढन नपाएको समयलाई सम्झदै अहिले ब्याचलर थर्ड एयरमा पढिरहेकी छन् । पति नेपालको उपप्रधानमन्त्री र गृहमन्त्री पटकपटक भएपछिको भीडमा भेटेजतिलाई खुसी बनाउन खोज्छिन्।

तुलसी साँच्चै बास्ना आउने तुलसीजस्तै भएकी छन्। सकरात्मक सोचाइ मात्र हैन त्यसको भित्री तहको बुझाइका साथै त्यसलाई कार्यमा लैजाने मात्र पोजिटिभ हुन्छ । यो बुझेकी छन् । तीन छोराछोरी हुर्केर नातीनातीना भइसके । आफ्नो दुःखको छाया छोराछोरीमा पर्न दिइनन्। आफैंप्रतिको भरोसा ताकत हुन्छ भने अरुप्रतिको कमजोरी भन्ने कुरा जिन्दगीको धेरै हन्डर ठक्करले उनलाई सिकाइसकेको छ । पुर्खाले दिएको थापामगर उनले बामदेव गौतमकी पत्नी भएर गौतम बनाइसकिन् । जसरी तुलसी आँगनको गमलामा आएर बस्छ र घरै बासना आउने बनाउछ उनले पनि गौतमको घरलाई त्यस्तै बनाएकी छन् । तुलसीजस्तै तुलसी भएर ।

प्रतिक्रिया दिनुहोस्