गोपनियता र पवित्रता मुलमन्त्रः मैनाली



सुर्खेत, १९ माघ ।

लोक सेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले लोकसेवा आयोगमा छिर्न चाहनेले गोपनियता र पवित्रतालाई मुल मन्त्रको रुपमा स्वीकार्नुपर्ने बताए ।

लोक सेवा मध्यपश्चिम क्षेत्रीय निर्देशनालय सुर्खेतको नवनिर्मित भवनलाई बुधबार वीरेन्द्रनगरमा उद्घाटन गर्दै अध्यक्ष मैनालीले जनतामा रहेको लोकसेवा प्रतिको सम्मानमा पहिरो नआओस भनेर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए । उनले लोकसेवा आयोगमा प्रवेश गर्न खोज्नु भनेको ‘जुत्ता खोलेर मन्दिर पस्नु’ सरह भएको दाबी गरे ।

नयाँ संविधानले साँच्चैको लोकसेवा आयोगको रुपमा स्थापीत गरेसँगै चुनौतीहरु समेत थपेको उनको भनाई थियो । हालसम्म ३० ओटा भन्दा बढी सार्वजनिक संस्थानका कर्मचारी छनौटबारे लिखित परिक्षा लगिसकिएको जानकारी दिए ।

मैनालीले प्रविधिमैत्री परिक्षा प्रणाली अवलम्बन गर्न आयोगले सुरु गरिसकेको भन्दै आगामी दिनमा पाठ्यक्रममा परिवर्तन गर्ने र नियम विनियममा एकरुपता ल्याउने योजना रहेको बताए । लोकसेवा आयोग योग्यतावान व्यक्तिको आशाको धरोहरको रुपमा स्थापीत भएको बताउँदै अध्यक्ष मैनालीले उक्त धरोहरमा कुनै पनि कम्प्रोमाइज नगर्ने जानकारी दिए ।

भवनको कुल लागत अनुमान १ करोड ४२ लाख २ हजार ६ सय ३४ रुपैयाँ अनुमान गरिएको थियो भने सम्पन्न अवधिसम्म २ करोड ५३ लाख ९९ हजार ५ सय ३० रुपैयाँ खर्चै भएको छ ।

वि.सं.२०६८ मा जि.एम. कन्स्ट्रक्सन प्रा.लि.ले निर्माण कार्य पुरा गर्ने भनि ठेक्का पाएको तर बीचैमा छोडेको हुँदा निर्माण कार्य अवरुद्व भएको थियो ।

ठेकेदारलाई कालोसुचिमा राखेर फेरि ठेक्का वितरण गर्दा जि.टि.द. काली सिद्वी जे.भि.नामक निर्माण कम्पनीले निर्माण गरिसक्नुपर्ने अन्तिम म्याद भन्दा २ महिना पहिले नै निर्माण गरि आयोगलाई भवन हस्तान्तरण गरेको हो ।

भवनमा ६ ओटा परिक्षा हल, २ ओटा गेस्ट हाउस, २ ल्याव, २ कार्यालय र ८ ओटा शौचालय छन् । उक्त भवन निर्माण पश्चात अब आयोगको परिक्षा सम्वन्धी वार्षिक भाडाको रुपमा दिइने अन्य विद्यालयको शुल्क बचत हुने भएको छ । वर्षेनी आयोगको कार्यालयले परिक्षा भाडा मात्रै ३ लाख तिर्दै आएको थियो ।
उद्घाटन समारोहमा मुख्य न्यायाधीस डम्वरबहादुर शाही, आयोगका सचिव मधुप्रसाद रेग्मी, सामान्य प्रशासन मन्त्रालयका सचिव पूर्णचन्द्र भट्टराई, क्षेत्रीय प्रशासक वेगेन्द्रराज शर्मा पौडेल लगायत विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रमूख एवं प्रतिनीधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्