बदनाम हुँदै रसुवागढी नाका



हिमनाथ देवकोटा, रसुवा
चीनको केरुङबाट अवैध रूपमा सुन ल्याउँदै गर्दा रसुवाको गत्लाङ–२ का वीरेन लामा पुस ६ गते रसुवागढी नाकाबाट पक्राउ परे। चीनबाट अवैध सुन भित्रिँदै छ भन्ने सुइँको पाएर लामा आउने दिनको प्रतीक्षामा ५ दिनदेखि प्रहरी रसुवागढी नाकामा पर्खिंदै थिए।

करिब दिउँसो १ बजेतिर लामा मोटरसाइकलमा आउँदै गर्दा प्रहरीले पक्राउ गरेको थियो। ५ किलो सुन बोकेर आएका लामाबाट सुन बरामद गर्न करिब आधा घण्टासम्म चेकजाँच गर्दा समेत सुन फेला परेन।

लामाको शरीर तथा मोटरसाइकल सामान्य तरिकाले चेकजाँच गर्दा फेला नपरेपछि प्रहरीले मोटरसाइकलको पाटपुर्जा खोल्न थाल्यो। बाइकको ट्यांकी र सिट खोल्दा पनि फेला नपरेपछि बाइकको फिल्टरको पार्टपुर्जा खोल्दा ५ किलो सुन फेला पर्यो। पक्राउ परेका लामालाई जिल्ला प्रहरी कार्यालय रसुवामा ल्याएर अनुसन्धानपश्चात् रसुवागढी भन्सारमा बुझाइएकोमा लामा अहिले पुर्पक्षका लागि कारागार चलान भएका छन्।

लामा पक्राउ परेको एक महिना बित्न नपाउँदै माघ १० गते सिन्धुपाल्चोक सिम्पाल काभ्रे घर भई हाल रसुवाको यार्सा–९ मा बस्दै आएका ४६ वर्षका चक्रबहादुर धमला १ सय १७ ग्राम सुनसहित टिमुरेबाट नै पक्राउ परे। धमलाले भने पर्समा सुन लुकाएर ल्याएका थिए। प्रहरीले पक्राउ गरेर रसुवागढी भन्सारमा बुझाएका भोलिपल्टै धमला ७ लाख धरौटीमा छुटेका छन्।

लामा र धमला त सुन तस्करीमा संलग्न हुने प्रतिनिधि मात्र हुन्। सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि सुन तस्करी गर्ने गिरोह रसुवागढी नाकामा सक्रिय रूपमा लागेको विभिन्न समयमा पक्राउ पर्नुले थाहा हुन्छ।

चीनबाट रसुवागढी नाका हुँदै नेपालमा सुन भित्त्याउने गिरोह सक्रिय भएको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार साढे २ वर्षमा रसुवागढी नाका हुँदै सुन तस्करीमा संलग्न ८ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा अधिकांश रसुवाबासी नै छन्। उनीहरूमध्ये ५ जना रसुवाका, २ जना रसुवा बाहिरका र १ जना विदेशी रहेका छन्। २०७१ असार १७ गते टिमुरेस्थित प्रहरी कार्यालयले रसुवाको टिमुरे–५ का ४८ वर्षीया फुर्पु ग्याल्मो तामाङलाई १० तोला सुनको कानमा लाउने बुटिलसहित पक्राउ गरेको थियो। त्यसको केही समयपछि साउन ६ गते सोही स्थानबाट टिमुरे–३ का ३० वर्षीया सम्झना तामाङ पक्राउ परिन्। सम्झनालाई पनि ६ तोला सुनको बुटिलसहित पक्राउ गरिएको थियो।

रसुवामा हुन सक्ने गैरकानुनी क्रियाकलाप र अवैध तस्करी रोक्नका लागि नाम मात्रका ११ वटा सुरक्षा चेक पोस्ट निर्माण गरिएको छ।

नेपाली सेनाको चार वटा, नेपाल प्रहरीको ५ वटा र सशस्त्र प्रहरीको दुईवटा चेक पोस्टमा चेकजाँच हुने गरेको छ। अधिकांश चेक पोस्टमा गाडी इन्ट्री मात्र हुने गरेका छन्। गाडीको नम्बर, लाइसेन्स नम्बर, साहुको नाम, चालकको नाम, यात्री सङ्ख्या र मोबाइल नम्बर टिप्दाटिप्दै गाडी जाँच हुँदैन। गाडी जाँच गरिहाले पनि भित्री पाटपुर्जाभित्र सुनलगायतका अवैध सामग्री लुकाएर ल्याउने हुँदा प्रहरीले सुइको समेत पाउँदैनन।

रसुवामा अहिलेसम्म बढीमा ६ किलोसम्म सुन बरामद गरेको रेकर्ड छ। यही बाटो भएर काठमाडौंमा १५ किलो सुन समात्नुले पनि रसुवामा हुने चेकजाँचको प्रभावकारिता बारे प्रष्ट हुन्छ। प्रहरीले नभेट्टाउने र खोज्न अप्ठेरो पर्ने तरिकाले सुन ल्याउने गरेका छन्। धेरैजसो सुन सवारीसाधनमा फल्स वटन बनाएर ल्याउने गरेको पाइएको छ। केहीले भने कम्मरमा पेटी बनाएर पनि सुन ल्याउने गरेका छन्। चेकजाँचको नाममा सर्वसाधारणले दुःख पाएका छन् भने तस्करहरू धमाधम उम्कने अवस्था सिर्जना भइरहेको छ।

व्यक्तिले ५० ग्रामसम्मको सुनको गहना लगाएर हिँड्न पाउने भए पनि त्योभन्दा बढी ल्याउनु गैरकानुनी मानिन्छ। अझै काँचो सुन त व्यक्तिले ल्याउन नै पाउँदैनन्। चीनमा काँचो सुन सस्तो पर्ने अनि राजस्व छलेर ल्याउँदा धेरै फाइदा हुने भएपछि सुन तस्करी गर्ने बढेको रसुवागढी भन्सार कार्यालयका प्रमुख गोपाल कोइरालाले वताउनुभयो।

कोइरालाका अनुसार पक्राउ पर्ने व्यक्तिहरू अधिकांश धरौटीमा छुटेका छन्। ‘प्रक्राउ परेकालाई विगोसहित सोही दिनको मूल्य बराबरको मूल्याङ्कन गरी धरौटीमा छाड्ने गरिएको कोइरालाले भन्नुभयो। धेरै परिणाममा सुनसहित पक्राउ परेमा चार वर्षसम्मको जेल सजाय हुने व्यवस्था भए पनि सानो परिणामसहित पक्राउ पर्नेहरू धरौटीमा छुटेका हुन्। हालसम्म रसुवामा पक्राउ परेका सुन तस्करी गर्नेहरू भरिया मात्र भएको पाइएको छ। सुन तस्कर गर्नेहरूले आधुनिक प्रविधि अपनाएर सुन तस्करी गर्ने हुँदा सुराकीबिना प्रहरीले समात्न नसक्ने प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले बताउनुभयो। कहिलेकाही सुन लिन जानेहरूबीच नै पैसाको कुरा नमिलेपछि तस्करी हुँदै छ भनेर सुराकी आउने गरेको छ।
‘जति पनि पक्राउ परेका छन् ती सबै भरिया हुन्’ प्रसाईंले भन्नुभयो। ‘सुन ल्याउने भरियाले पनि साहु चिन्दैनन्, पुर्याउनुपर्ने ठेगाना र सुन रिसिभ गर्न आउने मान्छेको हुलियाको भरमा सुन लैजाने गरेको भेटिएको छ। नयाँ प्रविधि अपनाएर सुन तस्करी गर्न थालेपछि प्रहरीलाई दिनप्रतिदिन चुनौती थपिँदै जान थालेको छ। चेकजाँचका लागि आवश्यक उपकरणको अभावले प्रहरीले सामान्य चेकजाँच गर्नुबाहेक अरू काम गर्न सकेको छैन। शंकास्पद व्यक्तिमाथि निगरानी गर्ने र चीन जाने तथा फर्कने सवारी साधनलाई कडा चेकजाँच गर्ने कार्य भने सुरक्षा निकायले गरिरहेको छ।

थप सुराकी परिचालन गर्ने, गहिरिएर चेकजाँच गर्ने तथा तस्करी गर्ने सम्भावित क्षेत्रमा सादा पोसाकको प्रहरी परिचालन गर्ने प्रहरीको सामान्य योजना छ। नाकामा सीसीटीभी राखेर निगरानी बढाउने, डिजिटल एक्सरे मेसिन राख्ने, व्यागेज एक्सरी मेसिन राख्ने ,मेटल डिटेक्टर वाक थ्रु गेट निमार्ण गर्ने योजना भने एक वर्षदेखि कागजमा नै थन्किएको छ।

प्रतिक्रिया दिनुहोस्