२ मिनेटको रोल छोडिनँ, २ दिनमै हिरो भएँः सरोज खनाल



स्टेजदेखि टेलिफिल्मसम्म, भिडियो फिल्मदेखि फिचर फिल्मसम्म, हरेक प्रस्तुतिमा सरोज खनालको नाम जीवन्त र शसक्त रंगकर्मी एवं अभिनेताका रूपमा अगाडि आउँछ। हरेकप्रकारका भूमिकालाई जीवन्तता दिने खास क्षमता भएकै कारण उनले जुनसुकै भूमिका गरे पनि तारिफ पाउँदै आएका छन्। रंगकर्मबाट अभिनय यात्रा शुरू गरेका यी जुंगे अभिनेताले २ दर्जन नाटक, २ दर्जनभन्दा बढी टेलिफिल्म र झण्डै ५० फिचर फिल्ममा अभिनय गरिसकेका छन्। ३८ वर्षअगाडि रंगमञ्चिय यात्रा थालेका खनाल त्यसैबाट खारिए र २१ वर्षपछि फेरि रंगमञ्चमा फर्केका छन् नाटक १२ दुर्वासामार्पmत। ४ दिनदेखि फागुन १ गतेसम्मका लागि मण्डला थिएटरमा मञ्चन भइरहेको नाटकबाट उनले फेरि पनि तारिफ पाएका छन्। उनको अभिनय यात्राबारे नेपाल समाचारपत्रका समाचार सम्पादक विदुर गिरीले गरेको कुराकानी यहाँ प्रस्तुत छः

पहिलो नाटकलाई कसरी सम्झनु हुन्छ?

म आइएस्सी पढ्दा एउटा औषधि पसलमा काम गर्थें। त्यहीबेला कलाकार खेम शर्मासँग भेट भयो र मैले बद्री अधिकारी मलाई असाध्यै मन पर्नुहुन्छ, भेटाइदिनुस् भनेँ। त्यो बेलामा बद्री अधिकारी डिल्लीबजारको विजय स्मारक स्कुलमा भष्मासुरको नली हाड नामक नाटकको रिहर्सल गर्दै हुनुहुन्थ्यो। खेम शर्माले उहाँसँग त्यहीँ भेटाउनुभयो। धुव्रचन्द्र गौतमद्वारा लिखित त्यो नाटकमा केवल २ मिनेटको एउटा रोल बाँकी रहेछ। त्यही गर्ने भए गर भन्नुभयो। मैले मेरो भाग्यमा लेखेको यही नै हो भनेर त्यसैबाट अभियन यात्रा शुरू गरेँ।

रमाइलो कुरा के भयो भने मेरो रोल सानो भएकाले बद्री सरले रिहर्सलको बेला सबैको डाइलग पढेर सघाउने काम पनि मलाई दिनुभयो। त्यो गर्दा नाटकभरिको सबैको डाइलग मलाई कण्ठ भयो। नाटक मञ्चन हुन २ दिनमात्र बाँकी थियो। त्यसमा मेन रोल गरिरहेका मेरो साथी, कलाकार नरेन्द्र थापा मायप्रितिको सुटिङ गर्न हिँडिदिनुभयो। उहाँले मायाप्रितिमा भिलेनको रोल पाउनुभएको थियो। त्यो बेलामा पनि नाटकमा भन्दा बढी आकर्षण फिल्ममै थियो। नरेन्द्र र मसँगै पढेको साथी हौँ, अहिले उहाँ बेल्जियम हुनुहुन्छ।

नाटक मञ्चन गर्न २ दिनमात्र बाँकी थियो, अर्को विकल्प केही थिएन। त्यसैले एक्कासि बद्री सरले हिरोको रोल गर्छौ भनेर सोध्नुभयो। म त आत्तिएँ। म त सक्दिन होला, मलाई आउँदैन भनेँ। उहाँले नआत्तिनु २ दिन बाँकी छ म्यानेज हुन्छ भनेर रिहर्सल गराउनुभयो र २ मिनेटको रोल गर्न गएको मान्छे पहिलो नाटकमै रातारात हिरो भएँ। जाबो २ मिनेटको रोल त हो नि भनेर छोडेको भए म हिरो हुन्न थिएँ। मेन रोल गर्ने मेरो पालो कहिले आउँथ्यो या आउँदैन थियो।

योभन्दा अगाडिको गर्नुभएको पछिल्लो नाटक याद छ?

योभन्दा अगाडि अमेरिका जानुअघि बिना चिहानको मृत्यु नामक नाटकमा अभिनय गरेको थिएँ। २१ वर्षअगाडि गरेको त्यो नाटकमाथि पछि सिरियल पनि बन्यो। नाटकमा त जेल परिएकै थियो, त्यो सिरियलका कारण साँच्चैको जेल पनि परियो। कम्युनिस्ट सिरियल बनायो भनेर मलाई र सुनिल पोखरेललाई जेल हालिएको थियो। पछि निर शाहले उहाँहरुको काम केवल अभिनय गर्ने मात्र हो, म नेपाल टेलिभिजनको जीएम भएको नाताले त्यो सिरियल देखाउने नदेखाउने भन्ने निर्णय मैले गर्नुपथ्र्यो। त्यसैले यसको भागिदार म हुँ, जे कारवाही गर्नुपर्छ मलाई गर्नोस्। उहाँहरुलाई जेलमा नराख्नुस् भनेपछि हामी २४ घण्टामा जेलमुक्त भयौँ।

२ दशक लाग्यो रंगमञ्चमा फर्कन?

हजुर २१ वर्षपछि नाटकमा फर्केको छु। अलौकिक आनन्न महशुस गरिरेहेको छु। योभन्दा अगाडि अमेरिकाबाट फर्केपछि सर्वनाम थिएटरमा पनि प्रस्तुत भएको त थिएँ, तर नाटक नै भने यो २१ वर्षपछि हो। अमेरिकाबाट फर्केपछि सामाजिक सञ्जालमा मेरो खेदो खनियो, एउटा कामले इन्डिया गएको थिएँ। अशेष मल्लले त्यहीँ फोन गरेर एउटा कार्यक्रम राखेर केही त भन्नुपर्यो, बोलेरभन्दा पनि अभिनय गरेर जवाफ दिऊँ भनेपछि अभिनायत्मक जवाफ दिएको थिएँ। त्यसमा नआएका कुरामा मात्र जवाफ दिएको थिएँ।

१२ दुर्वासाचाहिँ कस्तो नाटक हो?

यो खासमा अंग्रेजी नाटक हो। यो हामी जन्मनुभन्दा धेरै अगाडि नै लेखिएको हो। यसमाथि संसारमा धेरै भाषामा फिल्म बनेका छन्। यसको हिन्दी र नेपाली रुपान्तरण पनि छ। एउटा बच्चालाई बाउको हत्या गरेको आरोपमा अदालतले पैmसला गर्न सक्दैन र नागरिक समाजका १२ जना भिन्न क्षेत्रका मान्छेसँगको बहसबाट त्यसको पैmसला गरिन्छ। अहिलेको हाम्रो देशका लागि यसले राम्रो शिक्षा दिएको छ। नीति निर्माणको तहमा निर्णय गर्दा सम्पूर्णबाट भ्यु लिन सक्नुपर्छ, बहस गराइनुपर्छ, त्यसपछिमात्र सही निर्णय हुन सक्छ भन्ने सन्देश यसले दिएको छ। तर जसलाई सन्देश दिन खोज्या हो, त्यो तहको मानिस आउँदैनन्। हाम्रो दुर्भाग्य भएको छ। र पनि केहीलाई बोलाउने तयारीमा छौँ।

नाटकमा काम गर्न मज्जा कि टेलिफिल्म या फिल्ममा?

मजा त नाटकमा जति अरुमा छैन। नाटकमा अर्डियन्ससँग बसेर लाइभ एक्टिङ गर्न पाइन्छ। फिडब्याक पनि तुरुन्त पाइन्छ। फिल्ममा त हलमा गइयो भनेमात्र अर्डियन्ससँग भेट हुने हो, नत्र छायाँमात्र हो। नाटकमा समयको हिसाबले धैर्यता चाहिन्छ। एउटा नाटक गर्न कम्तीमा एक महिना रिहर्सल गर्नैपर्छ। एउटा पनि संवाद तलमाथि पर्यो भने तहसनहस हुन्छ।

कमाइका हिसाबले नाटक कि फिल्म ठीक छ?

अहिले त नाटकको पनि फिडब्याक राम्रो छ। तर तुलनात्मक रूपमा फिल्ममै बढी आम्दानी छ। फरक के भने पहिले पहिले नाटक गर्दा पकेटबाटै पैसा हालेर गर्नुपथ्र्यो। आरोहणबाट चन्द्रमाला शर्मा, सूर्यमाला शर्मा, सुनिल पोखरेल, बद्री अधिकारी मिलेर नाटक गर्दा खल्तीबाट पैसा हालेर गथ्र्यौं। अहिले भने लगातार यसमै काम गर्नेहरुले यसैबाट जीविका चलाइरहनुभएको छ। यही नाटकमा पनि फुलटाइम यसैमा बिताउने साथीहरु हुनुहुन्छ। नाटकबाटै जीवन चलेको छ भन्नुहुन्छ।

नाटक केका लागि गर्नुहुन्छ?

डिसिप्लेन्ड हुनका लागि नाटक गर्छु। यसमा ढाँट्न पाइन्न। फिल्मा फ्रेम नै पिच्छे ढाँटिएको हुन्छ। तर दर्शकले हेर्दा सरर गएको जस्तो लाग्छ। फिल्ममा कट भन्ने बित्तिकै त्यो क्योरेक्टरबाट हामी बाहिर निस्किन्छौँ। नाटकमा एकपटक इन गरेपछि नसकिएपछि त्यही क्यारेक्टरमा हुन्छौँ। रिटेकको चान्स नै छैन। जे बोल्नुभयो, जस्तो गर्नुभयो त्यो दिनका लागि सकियो कहानी। फिल्ममा त चित्त बुझेन भने पटकपटक खिचिन्छ। स्वावलम्बी बन्न र आफू कहाँनिर रहेछु भनेर हेर्नका लागि नाटक उपयोगी छ। त्यसैले पनि होला आजको मितिमा नाटककै साथीको बाहुल्यता छ सिनेमामा पनि।

पहिले र अहिलेको नाटकको भिन्नता के छ?

पहिले यस्तो क्लोज थिएटर थिएन, अर्डियन्स पनि यस्ता थिएनन्। अहिलेको सेलेक्टेड अर्डियन्स आउँछन्। अहिले नाटक गर्न केटाकेटीको खेल छैन। प्लस टुको जेनेरेसनको एकदमै इन्भलभमेन्ट छ। प्रविधिमा पनि पहिले माइक झुन्डाएर अभिनय गर्नुपथ्र्यो। राष्ट्रिय नाचघर र एकेडेमीको कुरा छोडौँ, प्राइभेट थिएटरहरु अहिले वेल इकुपमेन्टले भरिपूर्ण छन्। ६ इन्च अगाडि नै अर्डियन्सलाई राखेर अभियन गर्न पाइन्छ। सबैजसो पढेर, सिकेर वर्कसप गरेर पोख्त भएर आएका छन्। १२ दुर्वासामा पनि सरिता गिरी, सिर्जना सुब्बा, अभय बरालजस्ता पोलिस्ट आर्टिस्टसँग काम गर्दा खुब मज्जा आइरहेको छ।

नाटकलाई पहिलेजस्तै स्वर्ण युगमा पुर्याउन सकिएला?

लागि पर्यो भने अवश्य सकिन्छ। यो माहौल हेर्दा विस्तारै त्यो दिन नआउला भन्न सकिन्न। अहिलेको समस्या भनेको सरकारी तहबाट हुनुपर्ने नाटकको विकास भइरहेका छैनन्। राष्ट्रिय नाचघर, एकेडेमी खाली राख्नु साटो विभिन्न नाट्य संस्थालाई बोलाएर काम दियो, नाटक गर्न लगायो भने यो क्षेत्र धेरैमाथि पुग्छ। धेरै समय नै लाग्दैन।

तपाईंले गर्नुभएको अहिलेसम्मकै सर्वोत्कृष्ट नाटक र भूमिका?

मैले गरेको चेन्चुवाको असल मान्छे लाइफ टाइम ड्रामा हो। अहिले गरिरहेको १२ दुर्वासाको रोल पनि गार्हो छ। यो रोल संसारमा कस्ता–कस्ता मान्छेले गरिसकेका छन्। हलिउडमा रिचर्डले गरेका छन्। इन्डियामा पंकज कपुरले यसैमा अभिनय गरेर नेसनल अवार्ड लिएका थिए। त्यसैले यो रोल गर्न पहिलो डर लागेको थियो। अहिले ३ सो भयो, स्यावासी पाइरहेको छु।

तपाईंले गर्नुभएको अहिलेसम्मकै सर्वाधिक खराब नाटक?

सबभन्दा झुर नाटक नाचघरमा गरेको थिएँ, ०४५⁄०४६ सालतिर हुनुपर्छ। नाम चाहिँ बिर्सें। कमेडी खालको नाटक थियो, त्यसको कन्टेन नै गतिलो थिएन। सशक्त आर्टिस्ट पनि थिएनन्, म पनि भर्खरभर्खर दोस्रोतेस्रो नाटक गर्दै थिएँ।

अबको प्राथमिकता नाटकमा कि फिल्ममा?

प्राथमिकता त फिल्ममै हुन्छ। तर वर्षको ३ वटा नाटक गरौं भन्ने सोच बनाएको छु। डेटको हिसाबले यही नै भारी पर्छ। फिल्मको सवालमा ५⁄७ वटा स्क्रिप्ट घरमा थन्क्याएर राखेको छु। २ फिल्ममा चाहिँ ओके गरेको छु। अरुको स्क्रिप्टचाहिँ पढ्न भ्याएको छैन।

फिल्म निर्माणको कुराचाहिँ कहाँ पुग्यो?

फिल्मको छिट्टै एनाउन्स हुन्छ। एउटा कथा पहिलेदेखि मन परेको छ। राम्रो कृति छानेको छु। खासमा सूर्यमालाको चाहना हो, उसले छानेको हो। त्यसमा म खेल्छु पनि।

प्रतिक्रिया दिनुहोस्