११११ गजल बोकेर खडानन्द




शरद श्रेष्ठ
युवापुस्तामाझ निकै चर्चामा रहेको गजलका गह्रुङ्गो भारी बोकेर सिन्धुलीका स्रष्टा खडानन्द आफूलाई पनि गजलकारका रूपमा चिनाउन देखा परेका छन् । ११११ वटा गजल एउटै सङ्ग्रहमा समेटेर मोटो गजलसङ्ग्रह देखाउने रहरले नै होलान् ११ वटा गजलसङ्ग्रह हुने गजलहरू एउटै पुस्तकमा लिएर यिनी देखा परे । लयात्मक तरिकाले भाव व्यक्त हुने र गरिने यो विधामा अधिकांश युवा स्रष्टाहरू आफ्ना गजलहरूलाई प्रेम–प्रणय विषयमा व्यक्त गर्न रुचाउँछन् ।

यसै सन्दर्भमा खडानन्दले पनि धेरैजसो गजलहरू प्रेम अनुभूति पोखेर आफूलाई गजलकारका कोटीमा दर्ज गर्न खोजेका छन् । हुन त प्रेम सबैले अनुभूत गर्ने सबैका लागि नितान्त आवश्यक रहेको शब्द–सौन्दर्य मानिन्छ । यसै मान्यतामा आफूलाई राखेर प्रेमलाई अनुभूत गर्नेहरू ‘धन्य’ भएका सन्दर्भहरू विश्व–इतिहासमा धेरै छन् । यसर्थ भन्न सकिन्छ, साहित्यमा प्रेम सिर्जना गर्न सकिन्छ, गजललाई प्रेममय बनाउन मिल्छ तर प्रेमको नाममा उच्छृङ्खलता, अश्लीलता, अभद्रताका शब्दहरू कोरेर उच्छृङ्खलहरूका माझमा चर्चा पाउने, वाहवाही लुट्ने क्षणिक आनन्द खोज्नु हुँदैन भन्ने मान्यता आफूमा साँचेर सिर्जना रोप्नेहरू प्रेमका गजलहरू लेखेर पनि प्रसिद्ध भएका छन् । यसै सन्दर्भमा पनि भन्न सकिन्छ, खडानन्द तिमल्सिनाका मोटो गजलसङ्ग्रह ‘११११ गजलहरू’ मा यिनी प्रेम लेखेर पनि प्रेम अभिव्यक्त गर्ने कुरामा होसियार र सतर्क भएर प्रेमलाई यिनले स्वाभाविकतामा सम्प्रेषण गरेका छन् ।

यस गजलसङ्ग्रहमा गजलकार ललिजन रावलले लेखेजस्तै ‘गजल गेय विधा हो र एउटा गजलका सबै पङ्क्तिमा लयको एकता हुनुपर्दछ । यस कुराप्रति गजलकार तिमल्सिना आफ्ना गजलमा केही सचेत हुन खोजे पनि धेरै गजलहरूमा लयभङ्ग भएको छ । गजलको नाममा हतारिएर गजल लेख्नुहुँदैन, गजलको पनि आफ्नो नियम र लय–विधान छन्, जसको ख्याल गर्नु गजलकारहरूको दायित्व हो । तिमल्सिनाका गजलसङ्ग्रहमा धेरैजसो गजलहरूको विषय मिलेजस्तो, दोहोरिएको जस्तो देखिनुको कारण ११११ वटा गजल सङ्गहमा पुर्याउने सम्मोहनले पनि दबाब दिएको हुनुपर्छ । तर जे भए पनि, यिनले गजलकै इतिहासमा मोटो गजलसङ्ग्रहका रूपमा यस गजलसङ्ग्रह ‘११११ गजलहरू’ लाई समेट्न सफल भएका छन् । अब गजलकार तिमल्सिनाले आफूलाई सचेत राख्दै गुण वृद्धितिर, लय–शब्द मिलानतिर र विषय छनौटमा देशको दुःख–दर्द, व्यथाको मार्मिक दृश्य पटाक्षेप गर्नेतिर आफूलाई सक्षम, सफल, उत्कृष्ट गजलकारका रूपमा देखाउन सफलता मिलोस्, आशा गर्न सकिन्छ । केही गजलका हरफहरू उदाहरणका रूपमा तल प्रस्तुत गरिएको छ । खडानन्द तिमल्सिना प्रेम र मायाकै सन्दर्भमा आफूलाई यसरी व्यक्त गर्छन्–
माया प्रेम निःस्वार्थ मनबाट आउने भाव न हो
त्यसमा वासनात्मक रागले जोड्नु हुँदैन अब ।

देशभक्ति, राष्ट्रियताका सम्बन्धमा यिनी नेताहरूलाई पनि सतर्क गराएर गजलमा लेख्छन्–
राष्ट्रियताको सवालमा चुक्नुहुँदैन नेताजी
विदेशी दलालहरूसँग झुक्नु हुँदैन नेताजी ।
नाकाबन्दी गरेर सानो छिमेकी देश नेपालमाथि भएको नाकाबन्दीमा यिनी चित्त दुखाएर लेख्छन्–
अन्याय र अत्याचारको पराकाष्ठा नघाएर
सडेगलेको खाद्यान्न दिन्छ त्यही पनि खानुपर्छ ।
भूकम्प आउँदाका क्षणमा नेपालीले भोगेका दुःख पनि यिनले यस सङ्ग्रहमा समेटेका छन्–
लुग्लुग् काम्दै जाडोले त्रिपालमुनि मरे भूकम्पपीडितहरू
नाकाबन्दी र राज्यको बेवास्तामा परे भूकम्पपीडितहरू ।
समग्रमा भन्नुपर्दा भन्न सकिन्छ– यस गजलसङ्ग्रहमा प्रेम छ, मानवको चाह छ, नेपालीको दुःख–पीडा छ र राजनीति बेथितिमा रम्दै गएकोमा गहिरो चिन्ता छ । गजलसङ्ग्रह मोटोघाटो मात्र छैन त्यसभित्र दुःख–दर्दका स्वरहरू, प्रेम–मायाका सौन्दर्यहरू, देशप्रति हुनुपर्ने नागरिकका कर्तव्यहरू, नेताहरूका ढङ्ग नपुगेका चालाहरू पनि अभिव्यक्त भएका छन् । त्यसैले बधाई भन्नुपर्छ– गजलकार तिमल्सिनाको मोटो भव्य गजलसङ्ग्रहको प्रकाशन भएकोमा ।

प्रतिक्रिया दिनुहोस्