जमिन बाँझोहुँदै गएपछि दुई करोड खर्चेर अलैंची खेती



दुर्गाप्रसाद शर्मा
पर्वत, १३ माघ ।
युवाहरु विदेश पलायन भएपछि बाँझो बनेको जग्गालाई उपयोग गर्दै पर्वतको दुर्गम भोक्सिङ्ग गाउँका कृषकहरुले २ करोड लागतमा अलैंची खेतीको व्यावसायिक सुरुवात गरेकाछन् ।

खेर गएको जमिनको उपयोगमार्फत आय आर्जन गर्ने उद्देश्यले कृषकहरुले गाउँमै सामूहिक फारम खोलेर व्यावसायिक खेतीको शुरुवात गरेका हुन् । यसरी कृषकहरुले शुरु गरेको अभियानले बाँझो रहेको पाखोबारी समेत उपयोगमा आउन थालेको हो ।

उनीहरुले गाउँमै भोक्सीङ्ग बहुउद्देश्यीय कृषि तथा बाख्रा पालन समूहले उपयोग विहिन बनेको पाखोमा अलैंची खेतीको शुरुवात गरेका हुन् । अहिले कृषकहरले बिरुवा रोपेको २ वर्षमा उत्पादन समेत शुरु गरेकाछन् ।

१५ सय रोपनी क्षेत्रफलमा स्थानीय ३० जना कृषकहरुले खेती शुरु गरेका हुन् । गाउँ छाडेर शहर जाने लहर चलेका कारण खाली भएको पाखो र बाँझो जग्गाको उपयोग गरेर फर्म संचालन गरिएको समूहका सदस्य नारायण गुरुङ्गले जानकारी दिनुभयो । अहिले ५ सय रोपनीमा खेती गरि सकिएको छ उहाँले भन्नुभयो–‘आगामी वर्ष सबै १५ सय रोपनी जग्गामा बिरुवा रोपणका लागि जग्गा तयारी गरिसकेका छौं ।

समूहले अहिले प्रतिव्यक्ति ५ लाख रुपीयाँ संकलन गरेर काम शुरु गरेका गुरुङ्गको भनाई छ । अहिलेसम्म २ करोड बढि लगानी गरिसकेका छौं उहाँले भन्नुभयो–अब यस वर्ष अझै व्यस्थापन गर्ने तयारी गरेका छौं । अलैंचीको व्यावसायिक उत्पादन शुरु भएपछि वार्षिक रुपमा २ करोड कमाउने लक्ष्य राखेको उहाँको भनाई छ ।

यस वर्ष उनीहरुले १ लाख बिरुवा रोप्ने गरि जग्गाको तयारी गरिसकेको र नर्सरीमा बिरुवा समेत उत्पादन गरिसकेको कृषकहरु बताउँछन् । कृषकहरुको उत्साह देखेर जिल्ला कृषि विकास कार्यालय पर्वतले समेत उनीहरुलाई आर्थिक तथा प्राविधिक सहयोग समेत गरेको छ । कार्यालयका प्रमुख बासुदेब रेग्मीका अनुसार यस वर्ष बिरुवा रोपण र प्रशोधनका लागि आवश्यक पर्ने भट्टीका लागि र प्राविधिक सहयोग गरेको बताउनुभयो ।

पर्वत जिल्लामा परम्परागत रुपमा केही ठाउँमा अलैंचीको खेती गरिएको भएपनि हालसम्म व्यावसयिक खेती नभएको रेग्मीको भनाई छ । कार्यालयले यस वर्षदेखि जिल्लाका अन्य सम्भावित ठाउँहरुमा समेत यसको खेतीका लागि कृषकहरुलाई सहयोग गर्ने रेग्मीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्