प्रशान्त वली, काठमाडौं
विक्रेताले इलेक्ट्रेनिक तराजु प्रयोग गर्छन् र ! काठमाडौं बल्खु घर भएकी शशि बुढाथोकीलाई नजिकै बल्खुस्थित सडकको ठेलामा फलफूल किन्दा शंका लाग्छ। अलि राम्रोसँग नाप्नु न है भनेर विक्रेतालाई अनुरोध गर्छिन्। तर, विक्रेताले ठीकै छ लैजानु न भन्छन्। बुढाथोकीले भने हातले झुन्ड्याउने तराजु औंलाले प्रेस गरेर हत्केलाको नाडीनेरको भागले च्यापेर सामानलाई बढी र ढकलाई कम गराउने काम विक्रेताबाट हुने गरेको नेपाल समाचारपत्रसँग गुनासो पोख्नुभयो।

अधिकांश ग्राहक ढक तथा तराजुको प्रयोग अवस्था ठीक र उपयुक्त नभएपछि निकै ठगिने गरेको पाइएको छ। यस आर्थिक वर्षको पछिल्लो तथ्यांकअनुसार देशैभरका १० हजारको संख्यामा नाप्ने तौल र यन्त्र चलाउनेलाई कारबाही गरिएको गुणस्तर तथा नापतौल विभागले बताएको छ। जसमध्ये १ हजार ढक तथा तराजु जफत गरिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिनुभयो।

अनधिकृत र प्राविधिक रूपमा अवैज्ञानिक भएका ढक–तराजुहरू जफत गरिएको विभागको दाबी छ। काठमाडौं उपत्यकामा मात्रै यस आर्थिक वर्षको पुस मसान्तसम्म २ हजार ढक तथा तराजु चलाउनलेलाई कारबाही गरिएको बताइएको छ।

विभागको मापदण्डविपरीत कारोबार गरेका व्यापारीलाई नापतौल तथा गुणस्तर ऐन २०२५ बमोजिम ढक तथा तराजु जफत तथा १ हजार रूपियाँसम्म जरिवाना गरिने प्रावधान छ।

देशैभर बिग्रिएको मिटर प्रयोग गरी ट्याक्सी चलाएकाहरूवाट १ हजार रूपियाँका दरले १ लाख ५० हजार रूपियाँ, ढक र तौलमार्फत १ हजार रूपियाँका दरले ५० लाख रूपियाँ क्षेत्रीय कार्यालय र केन्द्रबाट संकलन भएको छ। यस आर्थिक वर्षमा १ सय ५० वटा ट्याक्सी कारवाही गरिएको, ५ हजार ढक र तौल जफत गरिएको विभागका महानिर्देशक पुडासैनीले जानकारी दिनुभयो। ढक तथा तराजुको नवीकरण नभएको, बिनाखरिदको आधारमा ढक तौल प्रयोगमा ल्याएको, नियमित जाँच नगरिएपछि १० हजारलाई कारवाही गरिएको गुणस्तर तथा नाप तौल विभागको तथ्याङ्कमा उल्लेख छ।

प्रत्येक दुई वर्षमा ढक तथा तराजुको नवीकरण गर्ने प्रावधान छ। जाँच नवीकरण नगरेको र आधिकारिकता नपाएका इलेक्ट्रोनिक काँटाहरू प्रयोग भएपछि कारवाही गरिएको विभागको भनाइ छ। नेपाल समाचारपत्रको एक जिज्ञासामा विभागका महानिर्देशक पुडासैनीले भन्नुभयो,– ‘विभागमा जनशक्ति पर्याप्त नहुँदा काम गर्न केही असहज भएको छ। एउटा क्षेत्रीय कार्यालयले १० देखि १५ जिल्लासम्म भ्याउनुपर्ने हुन्छ। जसले गर्दा सबै ठाउँमा पुग्न सकिदैंन। त्यहि भएर पनि अनुगमन निकै कम हुने गरेको छ।’

यसैबीच गत महिनाको पुस १७ गते देखि ट्याक्सीमा बिलिङ सिस्टम कार्यान्वयनमा आएको छ। अहिले काठमाडौं उपत्यकामा ९ हजार ५ सय ट्याक्सीहरूले यात्रुलाई आवतजावत गराइरहेका छन्। प्रधानमन्त्री कार्यालयको योजना र विभागको समन्वयमा ट्याक्सीमा बिलिङ सिस्टम लागू भएको हो। जसबाट उपभोक्ताहरूले यात्रा गरेबापत ट्याक्सी चालकमार्फत बिल पाउँछन्। तर, कतिपयले अझै दिँदैनन्।

उपभोक्ताले ढक तथा तराजुको अवस्था ठीक नभएको लागे जिल्ला तहमा प्रशासन कार्यालय र क्षेत्रीय नापतौलका कार्यालयहरूमा उजुरी दिन सक्नेछन्। देशभर क्षेत्रीय स्तरमा ९ वटा कार्यालय छन्। व्यापारीहरूले कम तौलका ढक तराजु प्रयोग गरी सामानहरूको बिक्रीवितरण गरेको भन्ने जनगुनासो आउन थालेपछि अनुमगनलाई तीव्र पारिएको देखिन्छ।

अनुगमन टोलीले ढक तराजुको अन्तर्रा्ष्ट्रिय मापदण्डअनुसारको तौल भए–नभएको हेर्ने र कम भएको खण्डमा सचेतता गराइ ढकतराजुको तौल, विज्ञमार्फत वैज्ञानिक बनाइने विभागले बताएको छ। व्यापारीहरूले अनुमतिप्राप्त पसलबाट ढक तराजु किनेको ३५ दिनभित्र गुणस्तर तथा नापतौल विभागबाट अनुमतिपत्र लिनुपर्ने व्यवस्था छ।

डिजिटल काँटा प्रयोगकर्ताका लागि कार्यालयबाट प्रमाणीकरण गरेको ढक राख्नुपर्ने अनिवार्य हुन्छ। शंका लागे सेवाग्राहीले ढक र तराजु प्रमाणीकरणको अवस्थाका बारेमा हेर्न पाउँछन्। विभागमा रहेका स्ट्यान्डर्ड ढकहरू छड्के रूपमा अनुगमनको समेत व्यवस्था मिलाइएको विभागका महानिर्देशक पुडासैनीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

LEAVE A REPLY