घरेलु हिंसा बढ्यो



नेपाल समाचारपत्र
सिन्धुपाल्चोक
विनाशकारी भूकम्पपछि जिल्लामा घरेलु हिंसा तथा लैगिंक हिंसाका घटना विकराल बन्दै गएको एक तथ्याङ्कले देखाएको छ। भूकम्पपछि विभिन्न वहानामा घरेलु हिंसाका घटना बढिरहेको महिला तथा बालबालिका कार्यालयले जानकारी दिएको छ। भूकम्पपछिको २२ महिनाकाबीच घरेलु हिंसाका झन्डै साढे ४ सय घटनाहरू महिला तथा बालबालिका कार्यालयमा आएका छन्।

भूकम्पपछि टहरामा असुरक्षित बसाइका कारण लैंगिक हिंसाका घटनाले पनि विकराल रूप लिइरहेको छ। २२ महिनाका बीच घरेलु हिंसा र लैंगिक हिंसाका गरी ४ सय २६ घटना दर्ता भएको महिला तथा बालबालिका कार्यालयले जानकारी दिएको छ।

कार्यालयका अनुसार भूकम्पपछि राहत तथा अनुदान सहयोगका कारण समाजमा घरेलु हिंसाका घटना बढिरहेका हुन्। ‘भूकम्पपछि घरेलु हिंसाका घटना विकराल बनेको छ, लैंगिक हिंसा पनि उत्तिकै छ’, सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा महिला तथा बालबालिका कार्यालयकी प्रमुख सन्ध्या राजेश्वरी सिंहले भन्नुभयो– ‘राहत, अनुदान सहयोगले हिंसाका घटना बढाएको देखियो।’

भूकम्पमा परी मृत्यु भएकाका नाममा आएको राहत रकमले घरेलु हिंसा बढाएको छ। मृतकका नाममा आएको रकम खर्च गर्नमा श्रीमान्–श्रीमतीबीच कुरा नमिल्दा पनि हिंसा बढेको हो। ‘बालबच्चा भूकम्पमा पर्यो, राहत आयो श्रीमान्ले जाँडरक्सी खाएरै सके’, महिला विकास अधिकृत सिंहले भन्नुभयो– ‘राहतको पैसाले किन जाँड खाएको भन्दा श्रीमतीलाई निर्घात कुटेको घटनाहरू पनि छन्।’

भूकम्पपछि बहुविवाह पनि घरेलु हिंसाको मुख्य कारक बनिरहेको छ।
भूकम्पपछि राहत तथा अनुदान वितरणका क्रममा बहुविवाह गरेकाहरूको परिवारमा घरेलु हिंसाका घटना धेरै भए। ‘राहत आउँदा कसले लिने भन्नेमा विवाद हुन्छ, अनि हिंसाको रूप लिइहाल्छ’, सिंहले भन्नुभयो– ‘बहुविवाहले पनि घरेलु हिंसाका घटना बढाएको देखिन्छ।’

प्रतिक्रिया दिनुहोस्