जोगिने भो राजवंशीको सांसद पद



नेपाल समाचारपत्र
काठमाडौं
नेपाः राष्ट्रिय पार्टीका एक मात्र सासंद् लक्ष्मण राजवंशीले पार्टीले कारबाही गर्नुभन्दा अगावै सुटक्क आफ्नो अलग्गै पार्टी दर्ता गराउनुभएको रहस्योद्घाटन भएको छ।

पार्टीको नीतिविरुद्ध संविधान संशोधन विधेयकविरुद्धको नेकपा (एमाले) को गठबन्धनमा सहभागी भएको भन्दै गत बुधबार सो पार्टीले निष्काशन गरेपछि सांसद् राजवंशीले नयाँ दल दर्ता गरेको सार्वजनिक गर्नुभएको हो।

‘पार्टीको केन्द्रीय कमिटीले निष्काशन गरिएको पत्र निर्वाचन आयोगमा बुझाएपछि सभासद्को पद के हुने विषयमा छलफल चलिरहेको थियो। यस क्रममा सभासद् राजवंशीले स्वयंले अलग्गै पार्टी दर्ता गराउनुभएको थाहा पाए।’ –नेपाः राष्ट्रिय पार्टीका महासचिव विजय सैंजुले भन्नुभयो।

संविधानसभाको दोस्रो निर्वाचनमा समानुपातिक कोटाबाट सांसद् भएका राजवंशीले पार्टीबाट कारबाही हुने संकेत पाएपछि पहिले नै निर्वाचन आयोग र संसद् सचिवालयमा नयाँ दल दर्ताको सूचना दर्ता गराउनुभएको बुझिएको छ।

उहाँले गत पुस ४ गते निर्वाचन आयोगमा दर्ता गराउनुभएको दलको नाम बौद्धिक जनतान्त्रिक परिषद् प्रस्ताव गरिएको छ। ‘मलाई सभासद् हटाउन पहिलेदेखि पार्टीभित्र विभिन्न चलखेल भइरहेको थियो। पछिल्लो पटक विशेषतः नेकपा (एमाले) को संविधान संशोधन विरोधी गठबन्धनमा लागेपछि हटाउने सम्भावना बढेको थियो। त्यही भएर नयाँ दल दर्ता गराएको हो।’ –सांसद् राजवंशीले नेपाल समाचारपत्रसँग भन्नुभयो।

निर्वाचन आयोगले दल दर्तासम्बन्धी प्रस्ताव अघि बढाउन गत पुस ४ गते नै संसद् सचिवालयलाई पत्राचार गरेको थियो।

सांसद् राजवंशीले पुस २६ गते संसद् सचिवालयमा पनि दल दर्ताको निवेदन दर्ता गराउनुभएको थियो। संविधानअनुसार संसदीय दल फुटाएर पनि नयाँ पार्टी गठन गर्न सकिने प्रावधान रहेको छ। सो पार्टीबाट संसदीय दलको अध्यक्षमा पनि उहाँ एक्लो भएकाले सोही प्रावधान टेकेर उहाँले नयाँ पार्टी बनाउनुभएको थियो। नयाँ दर्ता गराउनुभएको पार्टीमा नेवार समुदायका मानिसहरू मात्र नभई सबै जातजातिका सदस्यहरू रहेका छन्।

उहाँको सांसद पद जाने सम्भावनाका सम्बन्धमा जिज्ञासा राख्दा निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले उहाँ पार्टीको संसदीय दलको नेतासमेत भएकाले पद नजाने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्