१८ वर्षदेखि खोलाकै पानीमा निर्भर



वीरबहादुर बम, मुगु
लुम्स खोलाको पानीमा मानिसदेखि पशुबस्तुसमेत निर्भर छन्। रोवा गाविस वडा न ८ स्थित लुम्स गाउँकी ५३ वर्षीया टिउकी ऐडी खोलाको पानी ओसार्दै हैरान भएकी छन्।

गाउँमा खाने पानी नहुँदा २० मिनेट टाढा लुम्स खोलाबाट टिउकी पानी ल्याउँदै थकित भएकी छन्। उनले गाग्री जर्किनमा खोलाबाट पानी बोक्न थालेका १८ वर्षभन्दा बढी भयो। उक्त गाउँकी अर्की ३७ वर्षीया भृकुटी ऐडीलाई पानीकै चिन्ताले सताएको छ। खोलाबाट पानी बोक्दै हैरान भएपछि घर छोडेर खोला किनारमा बस्न थालेकी छन्। लुम्स गाउँका स्थानीयलाई खानेपानीकै पिरलो छ।

‘के गर्नु खोलाको पानी बोक्दै पिठिउँ दुख्ने भइसक्यो’, टिउकीले भनिन्– ‘खेतीपातीको कामभन्दा पानीको बढी चिन्ता लाग्छ।’ खोलाको फोहोर पानी खाएर बाँच्नुपरेको उनको भनाइ छ। दिउँसो खेतीपाती गाईगोरु चराउन लुम्स गाउँका स्थानीय वरपर जाने र बिहानबेलुकी बालकदेखि वृद्धासम्म डोकोमा गाग्री र जर्किन बोकेर खोलाको पानी ल्याउन लर्को लाग्ने गरेका छन्। घरमा पानीको समस्या टार्न अभिभावकले आ–आफ्ना छोराछोरीलाई बढी पानी ओसार्ने काममा लगाउने गरेका छन्। ५ वर्षभन्दामाथिका बालबालिकाले खोलाबाट पानी ओसार्ने गरेका छन्।

विसं २०५७ सालमा गाउँमा पाइपमार्फत् ल्याइएको पानी लुम्स खोलाको बाढीले बगाएपछि ७५ परिवार खोलाको पानी पिउन बाध्य भएका छन्। खोलाको दूषित पानी पिउनाले स्थानीय बढी बिरामी हुने गरेका छन्। जेठ महिनादेखि कात्तिकसम्म वर्षाका कारण खोलामा धमिलो पानी आउने र अर्को विकल्प नहुँदा त्यही पानी ल्याएर सेतो कपडामा छानेर खाने गरेको स्थानीयको गुनासो छ।

बाह्रैमास खोलाको पानी पिउनाले पेट दुख्ने, पत्थरी रोग देखा पर्ने झाडापखाला फैलिने गरेको लुम्स गाउँका रामसिंह ऐडीले बताए। साउनदेखि असोजसम्म खोला बढेर ठूलो हुने भएकाले बालबालिकालाई खोलामा पानी भर्न जोखिम हुने गरेको छ। स्कुले बालबालिका पनि खोलामै गएर पानी खाने गरेको शिक्षकको भनाइ छ।
गाउँमा खानेपानीको मात्र संकट नभएर सिँचाइको पनि उस्तै समस्या छ।

खोलाबाट ल्याएको सिँचाइ कुलो पनि बाढीले बगाएपछि करिब २२ रोपनी खेती योग्य जग्गा बाँझिँदै गएको छ। सिँचाइको समस्याले लुम्स गाउँका स्थानीयलाई अनाजदेखि हरियो तरकारी फलाउन मुस्किल भएको छ। आकाशबाट पानी आएपछि उक्त जग्गा प्रयोग हुने र नआएर बाँझै रहने रामसिंहको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्