अदुवा बिक्री नहुँदा किसान मारमा



 

पाँचथर, ५ माघ । उत्पादन र भण्डारणमा विषादी प्रयोग भएको भन्दै यहाँ उत्पादन भएको अदुवा बिक्री नहुँदा किसान मारमा परेका छन् ।

भारतीय व्यापारीले नेपाली अदुवा खरिद गर्न नमानेपछि अदुवाले अहिलेसम्म उचित मूल्य पाउन सकेको छैन । मङ्सिर र पुस अदुवा खनेर बिक्री गर्ने समय हो ।

गतवर्ष यही याममा अदुवा प्रतिकिलो रु ८० सम्ममा बिक्री गरेका किसानलाई अहिले व्यापारीले अहिले प्रतिकिलो रु १० भन्दा बढी दिन नमानेको किसान महासङ्घका जिल्ला अध्यक्ष गणेश पोख्रेल बताउनुहुन्छ । “सरकारले यहाँका किसानको समस्या समाधान गर्न पहल गरोस्,” उहाँले भन्नुभयो ।

भण्डारण गरेको अदुवा बिग्रने किसानलाई चिन्ता छ । गतवर्ष प्रति मन रु एक हजार ५०० का दरले बिक्री गरेको अदुवा अहिले रु चार सयमा समेत बिक्री हुन नसकेको सराङडाँडा– ५ का भक्त चौहानले बताउनुभयो । “धानखेती छोडेर अदुवा खेतीतर्फ लागियो, अदुवा किन्न व्यापारी नआउँदा मारमा प¥यौँ,” उहाँले भन्नुभयो ।

अदुवा बिक्री हुने मुख्य याम मङ्सिरदेखि माघसम्म हो । तर अहिलेसम्म अदुवा बिक्री हुने छाँटकाँट देखिएको छैन । पाँचथर, इलाम, ताप्लेजुङ, तेह्रथुमलगायत जिल्लाका किसान अदुवा बिक्री हुन नसकेपछि मारमा परेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्