रातो पासपोर्टमा ‘इमानदार’ देखिए लोकमान



टीका बन्धन, काठमाडौं
अदालतद्वारा अयोग्य साबित भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमान सिंह कार्कीले राज्यले उपलब्ध गराएको रातो पासपोर्ट फिर्ता गर्नुभएको छ।

कार्कीले गत बिहीबार राहदानी विभागलाई विशेष सुविधाको पासपोर्ट फिर्ता गर्नुभएको हो। राहदानी विभागले सन् २०१३मा अक्टोबर ६ मा उहाँलाई ५ वर्षे अवधिको रातो पासपोर्ट उपलब्ध गराएको थियो। विभागका महानिर्देशक सुशीलकुमार लम्सालका अनुसार कार्कीले गत बिहीबार आफ्ना सहयोगीमार्फत राहदानी फिर्ता गर्नुभएको हो। ‘कार्कीको रातो पासपोर्ट फिर्ता भइसकेको छ, विदेश भ्रमणमा जाँदा अहिले उहाँले साधारण पासपोर्ट प्रयोग गर्नुभएको होला।’ –लम्सालले नेपाल समाचारपत्रसँग भन्नुभयो।

अघिल्लो साता सर्वोच्च अदालतले कार्की अख्तियार प्रमुख हुन अयोग्य रहेको फैसला सुनाएको एक हप्तापछि उहाँ आफ्ना परिवारका ४ सदस्यसहित आइतबार भारत प्रस्थान गर्नुभएको छ।

कार्कीका सहयोगीले गत बिहीबार कार्की पत्नी सुनीताको समेत रातो पासपोर्ट विभागलाई फिर्ता गरेका छन्। सुनीताको रातो पासपोर्ट भने कार्कीको पासपोर्ट जारी भएको करिब १ वर्षपछि विभागले उपलब्ध गराएको थियो। अन्य विशिष्ट व्यक्तिहरूले प्रयोग गरिरहेका रातो पासपोर्ट फिर्ता माग्नुपर्ने र दुरुपयोग हुने अवस्था नरहेको विभागका महानिर्देशक लम्सालको दाबी छ।

विशिष्ट व्यक्तिहरू बहाल रहने अवधि निक्र्योल गरेर विशेष राहदानी जारी गरिने भएकाले तत्कालै राहदानी फिर्ता आउने र दुरुपयोग नहुने बताउँदै उहाँले भन्नुभयो– ‘रातो पासपोर्ट दुरुपयोग भएको जानकारी आएको छैन।’ सन् २०१० यता मेसिन रिडेवल पासपोर्ट (एमआरपी) राहदानी जारी हुन थालेपछि पछिल्लो अवधिमा ३ हजार २ सय ७३ रातो पासपोर्ट जारी भइसकेको लम्सालले जानकारी दिनुभयो। विभागको पछिल्लो तथ्यांकअनुसार स्वदेश र विदेशका विभिन्न दूतावास र नियोगबाट करिब ४६ लाख थान एमआरपी जारी भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्