कार्गो विमान बस्तीमा खस्यो, ३२ जनाको मृत्यु



बिस्केक, (एजेन्सी) किर्गिजस्तानको प्रमुख विमानस्थलनजिकै सोमबार एउटा मालबाहक विमान दुर्घटनामा ३२ जनाको ज्यान गएको छ। विमानमा चालक दलका ४ सदस्यमध्ये तीन जनाको मृत्यु भएको र एक जना घाइते भएको जनाइएको छ।

उक्त विमान बाक्लो कुहिरोबीच अवतरणका क्रममा एउटा गाउँको आवास क्षेत्रमा दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताए। उक्त विमान स्थानीय समयअनुसार बिहानको साढे सात बजे डाचा–सु गाउँमा दुर्घटनाग्रस्त भएको किर्गिजस्तानका आपत्कालीन सेवा मन्त्रालयका एक प्रवक्ताले जानकारी दिए।

मर्नेमा प्रायः सोही गाउँका बासिन्दा भएको जनाइएको छ। टर्किस एयरलाइन्सको उक्त विमान हङकङबाट किर्गिजस्तानको राजधानी बिस्केक हुँदै इस्तानबुलका लागि उडानमा रहेको थियो। उद्धारकार्य जारी रहेको र दुर्घटनास्थलको भग्नावशेषमा अझै फसेकाहरू भएको आशंका गरिएकाले मर्नेको संख्यामा वृद्धि हुन सक्ने जनाइएको छ।

दुर्घटनामा १५ घर क्षतिग्रस्त भएको आपत्कालीन सेवा मन्त्रालयले उल्लेख गरेको छ। मन्त्रालयले दुर्घटनाका कारण आगो लागेको र हाल त्यसलाई नियन्त्रणमा लिइएको बताइएको छ।

देशको मानस विमानस्थल बन्द गरिएको छ र साँझसम्मका लागि उडान रद्द गरिएको विमानस्थलका अधिकारीहरूले बताए।

प्रतिक्रिया दिनुहोस्