विष्णुभक्त र आरपीको सम्झना



केही दिनअघि निधन भएका रंगकर्मी विष्णुभक्त फुयाँल र अर्का कलाकार आरपी (रुद्रप्रसाद) भट्टराईको सम्झनामा सांस्कृतिक संस्थानले विभिन्न संघसंस्थाको संलग्नतामा श्रद्धाञ्जली कार्यक्रममा सम्पन्न गरेको छ। नाट्यकर्मी विष्णुभक्त फुयाँलको तेह्रौं दिनको पुण्यतिथि र कलाकार आरपी भट्टराईको सम्झनामा आइतबार श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको हो। मृतकद्वयको फोटोमा माल्यार्पण गरी शुरू भएको कार्यक्रममा फुयाँल र भट्टराईको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो।

कार्यक्रममा बोल्दै कुसुम नाट्यशालका अध्यक्ष बैकुण्ठ भण्डारीले नाटक खेल्दा खेल्दै मर्न पाए हुन्थ्यो भन्ने फुयाँलको इच्छा पूरा भए पनि आफूहरूले एउटा अभिभावक गुमाएको चर्चा गरे। उनले नाट्यशालाले विष्णुभक्त फुयाँल स्मृतिमा रंगकर्म पुरस्कार स्थापना गरेकोसमेत उनले जानकारी गराए। सो पुरस्कार दुई दशकदेखि रंगकर्म लागेका कलाकारलाई उनको मृत्युको दिन अर्थात पुष १९ गते प्रदान गरिने उनले बताए। ‘उहाँले अभिनय गर्दागर्दै निधन भएको हललाई उहाँको नाममा नामाकरण गरी उहाँको अर्धकदको शालिक नाँचघरको प्राङ्गणमा राख्ने व्यवस्था गरे उहाँप्रति श्रद्धाञ्जली हुनेछ’ –उनले भने। त्यसै गरी निर्देशक तथा कलाकार लय संग्रौलाले मान्छे ठूला र असल दुई प्रकारका हुने र विष्णुभक्त ठूला मान्छे नभए पनि निकै असल मान्छे भएको चर्चा गरे।‘विष्णुभक्तको धैर्यता, व्यवहार र शालीन व्यक्तित्वबाट सधैँ प्रभावित थिएँ। त्यस्तै आरपी पनि मेरो गाउँले हुन्,यति छिटै जालान् भन्ने सोचेको थिइनँ’ –उनले भने।

गायक रामेश श्रेष्ठले मृतकहरूबाट केही सिक्ने र सिकेका कुरा जगेर्णा गर्न श्रद्धाञ्जली सभा सबैका लागि एउटा अवसर भएको बताए। सभासद पेमा लामाले मृतक दुई जनाको योगदानलाई प्रेरणाको स्रोतका रूपमा लिनुपर्ने चर्चा गरिन्। ‘विष्णुभक्त बा र म २०४२ सालदेखि सँगै काम गर्दै आएका थियौँ। उहाँको निर्देशनमा मैले काम गरेको थिएँ।। उहाँको केही समयअगाडि पुस्तक विमोचन कार्यक्रममा जान पाइनँ। अहिले पछुतो लागिराखेको छु उनले भनिन् ‘मजदुर वर्गको अधिकारका लागि उहाँले आवाजहरू उठाउनुभएको थियो। यदि उहाँको घर परिवार र आरपी भट्टराईको घरपरिवारलाई केही समस्या छ भने ठोस रूपमा सरकारलाई दबाब दिन हामी समितिमा पनि छलफल चलाउँछौं।’

त्यसै गरी विष्णुभक्तका छोरा विमल फुयाँलले आफ्नो पिता र आरपी भट्टराईलाई सम्झिँदै नाटकमा अभिनय गर्दागर्दै ढलेका आफ्नो पितालाई तुरुन्तै हस्पिटल लानेदेखि लिएर निधन भएको भोलिपल्ट प्रज्ञा प्रतिष्ठानमा श्रद्धाञ्जलीको आर्यक्रमसमेत राखेकोमा सांस्कृतिक संस्थानप्रति आभारी भएको बताए। ‘वास्तवमा बुबा एउटा कलाकार मात्र नभएर सामाजिक अभियन्ता पनि हुनुहुन्थ्यो। जीवनमा विद्यालय नजानु भएको उहाँले औपचारिक शिक्षामार्फत साहित्य र सामाजिक कार्यमा धेरै योगदान दिनुभयो। आमा त धेरै अघि नै कलेजोको क्यान्सरले बित्नुभएको थियो। तर हामीले बुबा पनि गुमायौँ। चाँडै नै बुबाआमाको नाममा ट्रस्ट निर्माण गर्ने र सम्झनास्वरूप बुबाले दुःख गरेर बनाउनुभएको घरलाई संग्राहलयको रूपमा राख्ने सोचमा छौ’ –उनले भने। त्यसेै गरी कलाकार आरपी भट्टराईकी पत्नी सरु भट्टराईले विष्णुभक्त फुयाँललाई बुबा भनेर सम्बोधन गर्ने गरेको र आफ्नो श्रीमान्ले नै फुयाँलसँग चिनाजान गराइदिएको सम्झना गरिन्। ‘उहाँ जहाँँ पनि मलाई लिएर जाने र म नभएको बेला काम लाग्छ भन्दै सबैलाई चिनाउने गर्नुहुन्थ्यो। यस्तो हुनलाई रहेछ’ –उनले भावविह्ल हँुदै भनिन्।

सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले सांस्कृतिक संस्थान कलाकारहरूलाई अप्ठेरो पर्दा काम नलागे यसको कुनै महत्त्व नहुने चर्चा गर्दै विष्णुभक्त र आरपीका बारेमा उठेका विषयहरूमा आफू गम्भिर भएको बताए।

प्रतिक्रिया दिनुहोस्