आहा रारा गोल्डकप भोलिदेखि



धन बस्नेत, पोखरा

मोफसलकै उत्कृष्ट फुटबल मेला आहा राराको १५औं संस्करण भोलि मंगलबारदेखि पोखरा रंगशालामा शुरु हुँदै छ। डेढ दशक यात्रा गरेको गोल्डकपले आफ्नो स्तरलाई उचाइमा पुर्याउन सहभागी क्लबलाई तयारी खर्च पनि बढाइदिएको छ।

फाइनल र उपविजेताबाहेक प्रिक्र्वाटरफाइनलदेखि नै खेल्ने टोलीलाई ‘म्याच मनि’ उपलब्ध हुने छ। प्रिक्र्वाटर जित्नेलाई २० र पराजितलाई १०, क्र्वाटरफाइनल जित्नेलाई ३० र पराजित टिमलाई २० एवं सेमिफाइनलिस्ट टोली दुवैलाई ४० हजार रुपियाँ उपलब्ध गराइनेछ। क्लबले यो वर्षदेखि गेट टिकटको ‘एक रुपियाँ’ फुटबल मैदान संरक्षणका लागि खर्चको लागि छुट्टाउने निर्णय गरेको छ।

आहाको १५ संस्करणमा आइपुग्दा सहारा क्लबले अमेरिकन फुटबल टोलीलाई पोखरा रंगशालाको मैदानमा आतिथ्यताका लागि स्वागत गर्दै छ। अमेरिकाको एएनए युएसए फुटबल टिमले १५औं सस्करणमा आफनो उपस्थिति जनाउँदा नेपालका अधिकांश पुरानै टोलीको सहभागिता रहने निश्चित भइसकेको छ। तर चर्चित फुटबल क्लब थ्रीस्टार भने अनुपस्थिति रहनेछ।

भारतको युनाइटेड सिक्किम एफसी र बंगलादेशको फ्रासगन्ज एफसी टोलीको रुपमा देखा पर्नेछन् भने आयोजक सहारा क्लबले तीन विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीबललाई स्वागत गर्नेछ। त्योसँगै उपाधिको दावेदारी दिइरहने लक्ष्मी हुन्डाइ मनाङ मस्र्याङदी, सीएमजी संकटा क्लब, पूर्वको रमपम झापा ११, धरान फुटबल क्लबको सहभागिता रहने छ। पश्चिमको सुदुरपश्चिम ११ स्पोर्टिङ क्लब पोखराको मैदानमा पहिलोपटक उपस्थिति जनाउनेछन्।

विजेता टोलीले पाँचलाख १ हजार, उपविजेताले २ लाख ५१ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडीले नेपाल जनरल मार्केटिङ प्रालिद्वारा प्रायोजित हिरो ड्यास स्कुटर चढ्ने अवसर पाउने क्लबका अध्यक्ष वीरभद्र आचार्यले पत्रकार सम्मेलनमा सुनाए।

दर्शकलाई सुनको सिक्का
४ देखि १५ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने १५औं आहा ⁄ रारा गोल्डकप अवलोकनका लागि जाने एक जना दर्शकले यो वर्ष पनि एक तोला सुन प्राप्त गर्नेछन्। प्रतियोगिता अवधिभर काटिएको टिकटमध्ये अन्तिममा गोलाप्रथाबाट एक जना भाग्यमानी दर्शक छनौट गरी एक तोलाको सुनको सिक्का प्रदान गरिने आयोजकले जनाएको छ। आयोजक सहारा क्लबले आइतबार पत्रकार सम्मेलनमार्फत दिएको जानकारीअनुसार सहारा हङकङको प्रायोजनमा दर्शकलाई सुनको सिक्का उपहार प्रदान गरिनेछ।

अघिल्ला संस्करणमा दिँदै आएको टिभी यो वर्ष पनि प्रदान गर्नेछ। अर्का एक भाग्यमानी दर्शकले सिजी इलेक्ट्रोनिक्स प्रालि (चौधरी गु्रप) बाट एलजी टिभी उपहार प्राप्त गर्नेछन्। त्यस्तै प्रत्येक दिन काटिएको टिकटमध्येबाट एक जना भाग्यमानी दर्शक छनोट गरी माईक्रो म्याक्स मोबाइल प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्