प्रमुख अतिथिको रुपमा बोलाएर आयोजकले मन्त्रीलाई पारे बिचल्ली



नुवाकोट, ( नेस)।
माघेसंक्रान्तिको अवसरमा नुवाकोटको तारुकामा हुने गोरु जुधाई जात्रामा शनिवार एक मन्त्रीलाई प्रमुख अतिथी भन्दै मेला आयोजक समितिले बोलाएर बीच बाटोमै अलपत्र बनाएर छाडेपछि बिजोग भएर फर्किनुपरेको छ । कृषि राज्यमन्त्री राधिका तामाङलाई बोलाएर गाडीसमेत नपुग्ने बाटोमा पु¥याएपछि कार्यक्रममै जानसमेत नसक्ने पारेर खानासमेत नपाउने गरी दिउँसो २ बजेसम्म भोकभोकै अलपत्र पारेर फर्काएको हो ।

जिल्लावासी भएकोले पनि गोरु जुधाई मेला व्यवस्थापन समितिले आइदिन मन्त्री तामाङलाई आयोजकले केहिदिनदेखि चर्को बिन्तिभाउ गरेको थियो । आफ्नै जिल्लाको महत्वपूर्ण पर्वजस्तो कार्यक्रममा प्राथमिकता दिएर बोलाएपछि अरु सबै कार्यक्रम छोडेर दिउँसो १२ बजे तय भएको कार्यक्रमका लागि तामाङ बिहान ९ बजे नै काठमाण्डौंबाट नुवाकोटको तारुकावेंशी पुगिन् ।

त्यहाँबाट त्रिशूली पारी जान गाडी तर्ने पुल नभएपछि झोलुङ्गे पुल तरेर करिब एक घण्टाको ग्रामिण मोटरबाटो हुँदै अर्को कुनै सवारी साधनमा उकालो लाग्नुपर्ने हुन्छ । त्यसबाहेक तारुकावेंशीबाट पक्की सडक हुँदै सदरमुकाम विदुर तर्फको पुर्वी दिशातर्फ २० किलोमिटर अगाडी बढेर पक्की पुलमार्फत त्रिशूली तरेर पुनः पश्चिमतर्फ कच्ची सडक हुँदै फर्किनुपर्ने अवस्था छ । त्यसो गर्दा घण्टौं समय लाग्ने भएकोले आयोजकले गाडी तारुकावेंशीमै राखेर सिधै झोलुङ्गे पुल तरेर पारी बस्न सुझाव दिँदै अर्को गाडीको व्यवस्था गरिदिने आश्वासन दिएका थिए ।

तर, १२ बजिसक्दासमेत कुनै व्यवस्था आयोजकले गरेन । बरु, रक्षामन्त्री बालकृष्ण खाँड पो कार्यक्रममा प्रमुख अतिथी हुन मन्त्री तामाङ कुरिरहेकै स्थानमा काठमाण्डौंबाट आइपुगे । उनका लागि आयोजकले खाँडलाई सवारीको व्यवस्था गरिदिएर उनकै सामुन्नेबाट धुलो उडाउँदै उकालो लाग्यो । तामाङले आफू त्यसमै जान पनि खोजेकी थिइन्, तर वेवास्ता गर्दै आयोजकले रक्षामन्त्री खाँडलाई मेला उद्घाटन गर्न मेलातर्फ लग्यो । आयोजकले राज्यमन्त्रीसमेत आएको जानकारी गराइदिएको भए खाँडले पनि सँगै जान आग्रह गर्न सक्थे । तर, त्यो मौकासमेत आयोजकले दिन चाहेन ।

त्यसपछि राज्यमन्त्री तामाङले आयोजक समिति अध्यक्ष दिपेश शाक्यलाई सम्पर्क गर्न खोज्दा उनले मोबाइल स्विच अफ गरिसकेका थिए भने कार्यक्रममा आउन सबैभन्दा धेरै जोड गर्ने खिलनाथ अधिकारीलेसमेत उनलाई बिचल्ली बनाएर कुनै पहल गरिदिएनन् । आयोजकमध्येका अन्य व्यक्तिहरुलाई सम्पर्क गरेर आफूलाई बोलाएर बीचमै राखेको गुनासो मन्त्री तामाङले गरेपछि माथीबाट साधन पठाइदिएको बताउने अनि केही बेरमै गाडीको टायर पञ्चर भयो अर्को पठाउँछु भन्दै एकपछि अर्को सबै गाडी पञ्चर भएकोजस्ता बनावटी र गैरजिम्मेवारपूर्ण समस्या सुनाए ।

यसपछि मन्त्रीलाई बोलाएर नियतवस अलपत्र बनाएको स्थानियवासीलेसमेत प्रतिक्रिया जनाएका थिए । ‘सायद मन्त्रीज्यूको सोझोपन र इमान्दारिताको खिल्ली आयोजकले उडाएको हो, स्थानिय शिक्षक रामकृष्ण अधिकारीले भने, ‘सरकारको मन्त्रीलाईसमेत झूटो आश्वासन दिएर धोका दिनु क्षम्य हुन सक्दैन ।’ दिउँसो २ बजेसम्म कुरेर बसेपछि राज्यमन्त्री काठमाण्डौं फर्किन बाध्य भएकी थिइन् । ‘कार्यक्रममा बोलाएर बीच बाटोमै अलपत्र पारिनुले आफूमाथी ठूलो अपमान भएको महसुस भएको छ, राज्यमन्त्री तामाङले गुनासो पोख्दै भनिन् । ‘जनताको लागि कयौँ वर्ष हिँडेरै राजनीति गरेको मलाई बरु हिँडेर जान सुझाएको भए जान मलाई समस्या थिएन । तर, गाडी पठाउने आश्वासन पटक पटक दिँदै अन्त्यमा वेवास्ता गरिनु मानविय संवेदनाका हिसावले पनि ठिक थिएन ।’

स्थानियवासी लगायतले भने राजनीतिक रुपमा विभेद गरिएको निश्कर्ष निकालेका छन् । प्रमुख अतिथिको रुपमा बोलाइनु र पछि रक्षामन्त्री ल्याउनुले राजनितिक प्रतिशोधले नियतवस यस्तो हर्कत गरिएको अर्का स्थानिय युवा शिवहरि अधिकारीले बताए । मेला आयोजक समितमा यहाा हरेक वर्ष गाउँका मुख्य दलहरुले पालैपालो व्यवस्थापन समितिमा नेतृत्व गर्ने गरेका छन् । जसअनुसार यसवर्ष नेपाली काँग्रेसले समितिको नेतृत्व गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्