सालका रुख सक्दै झुसिलकीरा



हेटौंडा,नेस/चैत,वैशाखमा पात झरेपछि नांगो हुने गरेको बन पुस महिनामै पातबिहीन देखिएको छ । यसो हुनुको प्रमुख कारण झुसिलकीराको प्रकोप मानिएको छ ।

यतिखेर राप्ती खोलापारि रहेका मध्यवर्ती सामुदायिक बनमा सालका रुखहरु झुसिलकीराको संक्रमणमा छ । हाडीखोलादेखि चुरियामाईसम्म यस्तो संक्रमण देखिएपछि बन उपभोक्ता चिन्तित छन् ।

हाडीखोला–१ स्थित चेतना मध्यवर्ती सामुदायिक बन उपभोक्ता समूह सचिव पोशक बिष्टले आफूले यस्तो समस्या यसअघि नदेखेको बताए । उनले झुसिलकीराको प्रकोपले एक महिनाभित्र पूरै जंगल नांगो भएको बताए ।

‘चैत,वैशाख नलाग्दै पूरै जंगल नांगियो, हामी त अलमल्लमा छौं’, बिष्टले भने । उनका अनुसार चेतना सामुदायिक बनको ७५ प्रतिशत साल नांगो भइसकेको छ । एक महिनाअघि यस्तो संक्रमण फैलिएको हो । झुसिलकीराको संक्रमण पदमपोखरीमा रहेको सितु सामुदायिक बन उपभोक्ता समूहबाट फैलिएको अनुमान छ ।

हाल संक्रमण बढ्दै हाडीखोलाका सामुदायिक बनसम्म पुगेको उनले बताए । झुसिलकीराले सालका पात खाइदिने गरेपछि रुखमा पात देखिन छाडेको सचिव बिष्टले बताए ।

सालको पात खाने झुसिलकीराको समस्याबारे पर्सा बन्यजन्तु आरक्षलाई जानकारी गराइएको उनले बतााए । तर, हालसम्म अध्ययन र अनुसन्धान नभएको गुनासो मध्यवर्ती सामुदायिक बनका पदाधिकारीले गरेका छन् ।

समस्याबारे आफूहरुलाई जानकारी भएको भन्दै मध्यवर्ती व्यवस्थापन समिति अध्यक्ष पदमबहादुर तितुङले यसबारे आरक्षमा कुरा गरिएको बताए । आरक्षले बन विभागलाई जानकारी गराएकाले छिटै प्राविधिक आएर झुसिलकीराको संक्रमण निरीक्षण गरी समाधान खोजिने तयारी भइरहेको तितुङले बताए ।
झुसिलकीराको संक्रमण हाडी खोला हुदै चुरियामाई र पदमपोखरीसम्म पुगिसकेको अध्यक्ष तितुङले बताए ।

मानिससमेत यसबाट प्रत्यक्ष प्रभावित बनेका छन् । जंगलनजिक जादा सावधानी अपनाउन र घरआगन सफा राख्न सुझाव दिइएको छ । झुसिलकीराले जंगमा चर्न जाने गाईवस्तुलाई समेत सताइरहेको छ । जंगलनजिक जादा हावाले उडाएर ल्याएको झुसिलकीराको भुवा शरीरमा टासिने अनि सहनै नसकिने गरी चिलाउने समस्याले स्थानीयलाई सताएको छ । चिलाएको ठाउमा रातो फोका उठ्ने र घाउ हुने गरेको स्थानीयले बताए ।

प्रतिक्रिया दिनुहोस्