जलपन्छीको गणना शुरू



टीका बन्धन, काठमाडौं
मुलुकका सिमसार तथा जलाधार क्षेत्रमा आश्रित जलपन्छीको गणना शुरू भएको छ। रैथाने र हिउँदे आगन्तुक जलपन्छीको प्रजाति एवं संख्या यकिन गर्न यसै सातादेखि गणना शुरू भएको हो।

विश्व रामसार सूचिमा सूचिकृत सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्ष, चितवनको बीसहजारी ताल, कपिलवस्तुको जगदीशपुर, कैलालीको घोडाघोडी, फेवासहित पोखरा विभिन्न १० ताल, कर्णालीको रारा, काठमाडौंको वाग्मती र टौदहमा गणना केन्द्रित हुने बताइएको छ। चितवनमा साना–ठूला विभिन्न १५ क्षेत्र, कोशीमा १० भन्दा बढी क्षेत्र, पोखरामा १०, लुम्बिनीमा ७, शुक्लाफाँटामा ६, बर्दियामा ३, कर्णालीको रारा, काठमाडौंको वाग्मती नदी किनार र टौदहमा गणना केन्द्रित हुने गणना टोलीका संयोजक एवं पन्छीविद् डा. हेमसागर बरालले बताउनुभयो।

जलपन्छी बारेको अनुगमन करिब महिना लामो हुने उहाँले जानकारी दिनुभयो। नेपालसहित दक्षिण एसियाली मुलुकहरूमा विगत ३१ वर्षदेखि यस्तो किसिमको गणना हुँदै आएको छ। पछिल्लो तथ्यांकअनुसार मुलुकभर विभिन्न ८ सय ८६ प्रजातिका पन्छी सूचिृकत छन्। त्यसमध्ये २ सयभन्दा बढी जलपन्छीका प्रजाति छन्। नेपालका सिमसार क्षेत्रमा हाँसका करिब ४० प्रजाति, चखेवा–चखेवी, सिम कुखुरा, मरुल, कुर्मा, डाहा, जलेवा, बकुल्लालगायतका थुप्रै प्रजाति पाइन्छन्। अघिल्लो वर्षको तथ्यांकअनुसार मुलुकका सिमसार तथा जलाधार क्षेत्रमा करिब ४८ हजार जलपन्छी फेला परेका थिए। हिउँदे आगन्तुक पाहुना चराका प्रजाति १ सय ५० को हाराहारीमा भएपनि सिमसारमा आश्रित जलपन्छीका पाहुना चराको प्रजाति १ सयका हाराहारीमा भएको पन्छीविद् बरालले जानकारी दिनुभयो।
तराईको सिमसार क्षेत्र जलपन्छीका लागि महत्त्वपूर्ण बासस्थान मानिन्छ।

विगतको गणनामा कपिलवस्तुको जगदीशपुर ताल र आसपासका क्षेत्रमा २० हजारभन्दा बढी जलपन्छी फेला परेका थिए। त्यसै गरी चितवन र आसपासका क्षेत्रमा १० हजार, कोशीमा ५ हजार, पोखरामा ४ हजारका हाराहारीमा जलपन्छी भेटिएका थिए। मुलुककै ठूलो मानव निर्मित ताल कुलेखानीमा केही वर्षयता स्थानीय बासिन्दाले अनियमित ढंगले माछा मार्ने ठेक्का बन्द गरेकाले त्यहाँ पनि जलपंछीको संख्या बढेको विज्ञहरू बताउँछन्। जाडोमा हावापानी अनुकुल हुने र आहाराको संकट पनि नहुने भएकाले यो ताल आगन्तुक चराको रोजाइमा पर्ने विज्ञहरूको ठहर छ। युरोपको पूर्वी भेग, साइबेरिया, उत्तर कोरिया, चीन, मंगोलिया, किर्गिस्तान, ताजाकिस्तानलगायतका मुलुकबाट नेपालमा हिउँदे पाहुना चरा भित्रिने जानकारहरू बताउँछन्।

हरेक वर्ष गणना दोहोरि रहँदा जलधार क्षेत्रमा रम्ने सारस र सानो खरमुजुरको संख्या केही वृद्धि भए पनि जलेवा, फ्यालफ्याले जस्ता पन्छीको संख्या वर्षेनी घट्दै गएको विज्ञहरू बताउँछन्। सिमसार क्षेत्रमा बढ्दो मानवीय अतिक्रमण, बढ्दो चोरी शिकारी, जलवायु परिवर्तनको प्रभाव जस्ता कारणले जलपंछीको वासस्थान प्रभावित हुँदै गएको उनीहरूको तर्क छ। तर विगतका गणनामा नदेखिएको सेतोपुच्छे« हुट्टिट्याउँ यसपटक देखिएकाले पन्छीप्रेमीहरूका लागि उत्साह थपिएको पन्छीविद् डा. बराल बताउनुहुन्छ। ‘करिब ३५ वर्षपछि यसपटक शुक्लाफाँटा क्षेत्रमा २५ वटाको हाराहारीमा सेतोपुच्छे« हुट्टिट्याउँ भेटिएको छ, संरक्षणकर्मीहरूका लागि त यो ज्यादै खुसीको कुरा हो’ –उहाँले भन्नुभयो। नेपालमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, पन्छी संरक्षण संघ नेपाल, हिमालयन नेचर, वर्ड एजुकेसन सोसाइटी, पोखरा वर्ड सोसाइटी, कोशी वर्ड सोसाइटी, अर्निथोलोजिकल युनियनलगायतका संघ–संस्था प्रत्यक्ष⁄अप्रत्यक्ष गणनामा संलग्न हुँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्