थारु संस्कृति र पहिचान बचाउन जुट्दै थारु अगुवा



रत्ननगर चितवन, २६ पुस / चितवनको कठारकी किशोरी अनिशा चौधरी आफ्नो साँस्कृतिक पहिचान जोगाउने प्रयासमा विगत केही महिनाअघिदेखि सक्रिय छिन् । उनले थारु समुदायको पुरानो र नयाँ संस्कृतिलाई जोडेर खैरहनीमा हुन लागेको मौलिक पहिचानको पर्व खिचरा महोत्सवमा साङ्गीतिक प्रस्तुति दिने तयारीमा छिन् ।

नवलपरासीको थारु उत्थान मजदुर संगठनका मनिराम थनेत पनि पहिचान देखाउने सुरमा आवश्यक तयारी गर्दैछन् । ‘पहिले हराउँदै गएको थारुको मौलिक पहिचान विस्तारै बढ्दो क्रममा छ, स्थानीय थारु अगुवा कारी महतोले भने – “पुराना थारु संस्कृति संरक्षणमा नयाँ पुस्ताले सिक्दै गरेको पाइयो ।”

उनका अनुसार यसरी नयाँ पुस्तालाई थारुको पहिचान र परिकारमा आकर्षित गराउने काम चितवनको खिचरा महोत्सवले गरेको छ । यसपालि थारु कल्याणकारिणी सभा क्षेत्र नम्वर ७ ले यही पुस २८ देखि माघ ५ सम्म खिचरा महोत्सव गर्दैछ । पहिचान जोगाउन महोत्सवमार्फत कार्यक्रम सुरु गरिएको हो । यसपालिको महोत्सवको आम्दानी थारु संस्कृतिकै सम्बद्र्धन र संरक्षणका लागि सङ्ग्रहालय निर्माण गर्ने योजना छ ।

थारुको पहिचान र संस्कृति संरक्षण गर्न नयाँ र पुराना पुस्ताका थारुहरु एकजुट भएका छन् । “पुराना पुस्ताले नयाँ पुस्तालाई नसिकाएसम्म संस्कृति संरक्षण हुँदैन,” थारु बुद्धिजीवी वासुदेव चौधरी भन्छन्, “यसैले युवाहरुलाई हरेक थारुका मौलिक संस्कृतिसँग साक्षात्कार गराईरहेका छौं ।”

थारुहरुको विशेष पर्वमा माघी पनि एक हो । माघ सुरु भएसँगै थारुहरुले नयाँ वर्षको रुपमा माघी मनाउने चलन छ । नयाँ वर्षको स्वागतमा थारुको परम्परा अनुसार विशेष गरी चिचर र माछा खाने चलन छ । यसलाई चितवनमा खिचरा भनेपनि अन्य जिल्लामा माघी भनेर मनाउने गरिएको चौधरी बताउँछन् ।

चार वर्षअघि खिचराको बारेमा कमैलाई थाहा हुन्थ्यो । चार वर्षदेखि यहाँ खिचरा महोत्सव नै सुरु गरिएपछि पहिचान र संस्कृति संरक्षणमा ठूलो टेवा पुगेको कार्यक्रमका संयोजक नारायण महतोको अनुभव छ । नयाँ पुस्तामा संस्कृति हस्तान्तरणको काममा यस्ता कार्यक्रम सहयोगी हुने देखिएको उनको अनुभव छ ।

चितवनको सौराहा र मेघौलीमा थारु साँस्कृतिक सङ्ग्रहालय छ । यहाँ बढी पर्यटक थारुको पहिचान हेर्न आउँछन् । सङ्ग्रहालय आफैंमा पहिचान भएपछि त्यसलाई युवा पुस्तामा जोड्न यस्ता कार्यक्रमहरु जरुरी हुन्छ । त्यसैले यसपटकको महोत्सवको पैसा सङ्ग्रहालय निर्माणमा लगानी गर्न लागिएको हो ।

थारुका पहिचान झल्कने वेशभूषासहित विभिन्न साँस्कृतिक पहिचान एवम् परम्परागत औजारहरु प्रदर्शन गरिने महतोले बताए ।

थारुका परम्परागत सामग्री, माछा मार्ने जाल ढडिया, कोहीनी, बेहोरी, घेवरी, पेदाहा, खराउ, ढकना, माटोको डुहुरी लगायतका ३ दर्जनभन्दा बढी सामग्री प्रदर्शन गर्न लागिएको छ । कतिपय थारु युवाले नै आफ्ना मौलिक पहिचान चिन्न सकेका छैनन् ।

यसपालि मिनी सङ्ग्रहालय बनाएरै प्रदर्शन गर्दा उनीहरुलाई सिक्न अवसर मिल्ने विश्वास छ संयोजक महतोको । थारु मचान सांस्कृतिक घर, मौलिक नाच तथा पूर्वी नेपाल र पश्चिम नेपालको थारुको बैग्लै नाच प्रस्तुत गरेर संस्कृति हस्तान्तरणको पहल महोत्सवमार्फत गरिँदै छ ।

थारु खानाका परिकारका साथै यस वर्षको चौथो खिचरा महोत्सवमा खुला नृत्य प्रतियोगिता र कृषिबाली प्रतियोगिता हुने भएपछि अहिले छनोटका कार्यक्रम समेत भैरहेको छ ।

मुख्य गरी थारुहरुको माघी (खिचरा), सोहराई (पितृ औंशी) अर्थात एमोसा, फागु, जितिया पर्वहरु छन् । अब फागु पर्व पनि हराउँदै गएकाले यसलाई जगेर्ना गर्ने योजना रहेको महोत्सव अनुगमन समितिका संयोजक वासु चौधरी बताउँछन् ।

आदिवासी समुदाय थारुको यो मौलिक पहिचान जोगाउन राज्यले भने खासै ध्यान नदिएको थारु कल्याणकारिणी सभाका टिकेन्द्र चौधरी बताउँछन् । रासस

प्रतिक्रिया दिनुहोस्