अजैविक फोहर पुनःप्रयोगमा ल्याउन पहिलो परीक्षण



हेटौंडा,(नेस) । शून्य फोहरको अवस्था निर्माणका लागि हेटौंडा उपनगरपालिकाले विकास गरी कार्यान्वयनमा ल्याएको हरियो, निलो र रातो रङ अभियान अन्य नगरपालिकामा चर्चाको विषय र अनुकरण गरिएको बेला नगरपालिकाले अर्को महत्वपूर्ण अभियान थालेको छ ।

जैविक तथा अजैविक फोहरजन्य वस्तुहरुलाई स्रोतमा नै छुट्याउने र जैविक फोहरबाट कम्पोष्ट मल, अजैविक वस्तुहरुको पुनर्प्रयोग र रिसाइकलको माध्यमबाट शून्य फोहरको अवस्था निर्माणका लागि नगरपालिकाले अभियान थालेको हो । यो अभियान अब केही समयमै पूरा हुने देखिएको छ ।

नेपालमा पहिलोपटक परीक्षण गर्न लागिएको उक्त कार्य सफल बनाउन आआफ्नो घर तथा ब्यवसायबाट निस्कने जैविक र आजैविक फोहरजन्य वस्तु अलगअलग वर्गीकरण गरी सहयोग गर्न नगरपालिकाले अपिल गरेकोछ ।

यसै क्रममा यस क्षेत्रका विकासोन्मुख तथा अल्पविकसित देशका साना तथा मझौला शहरहरुको फोहरमैला व्यवस्थापन र वातावरण प्रवद्र्धनमा सहयोगीसिद्ध हुने महसुस गरी नगरपालिकाको यस अभियानलाई एसिया तथा प्रशान्त क्षेत्रमा समेत प्रवद्र्धन गर्ने अवसर प्राप्त भएको छ ।

यही क्रममा नगरपालिकाले हेटौंडा–१०, सिसौघारीमा रहेको सार्वजनिक क्षेत्रमा आधुनिक प्रविधिको हपर जडान कार्य अन्तिम चरणमा पुगेको छ । घरबाट छुट्टिएर संकलन हुँदै आएको अजैविक फोहरलाई त्यहाँ पुनर्प्रशोधन गरी औद्योगिक प्रतिष्ठानलाई कच्चापदार्थका रुपमा बिक्री गर्ने लक्ष्य छ । त्यहाँ अजैविक फोहर पुनः छुट्याउन कन्भर्टर जडान गरिँदैछ । जैविक फोहर बिक्री गरी नगरपालिकाले यसवर्ष करिब १८ लाख आम्दानी गरेको छ ।

हेटौंडा उपमहानगरपालिकाका शहरी योजना, अनुसन्धान तथा वातावरण महाशाखा प्रमुख  बीके महर्जनका अनुसार अजैविक फोहरलाई सोलीमा हालेर ६ मिटर र १४ मिटर लामो दुई वटा भाइब्रेटरमार्फत् मानिसले छुट्याउने छन् । यसरी छुट्याइएको फोहरलाई बिक्री गरिने उनले बताए ।

नगरपालिकाले गरेको प्रस्तावअनुसार सरकारले यसका लागि ४५ लाख सहयोग गरेको छ । ग्रीन एण्ड क्लिनसँगको सहकार्यमा समेत गरी ५९ लाख लागतमा यस्तो प्रविधि जडान गरिएको हो ।

त्यहाँ करिब २० जनाले रोजगारी पाउनेछन् । माघ १५ देखि उक्त प्रविधि सञ्चालनमा ल्याउने लक्ष्य रहेको महर्जनले बताए । नेपाल विद्युत् प्राधिकरणमा २ लाख रुपियाँ धरौटी राखेर विद्युत् जडान गर्न वाध्य हुनुपरेको महर्जनको गुनासो छ ।

हाल हेटौंडाको वडा नं २ र ३ बाट मंगलबार र बिहीबार गरी सातामा करिब १० टन तथा वडा नं ४ बाट साताको करिब १४ टन अजैविक फोहर संकलन हुँदै आएको छ । मानिसको खानेबानी र व्यस्तताका कारण घरघरबाट संकलन हुँदै आएको फोहरको परिमाणमा अजैविक फोहरको परिमाण करिब ५० प्रतिशत पुगपछि नगरपालिका नयाँ सोचमा पुगेको हो । महर्जनले घरघरबाट अजैविक फोहरको परिमाण बढी संकलन हुनुलाई सकारात्मक भनेका छन् ।

युनाइटेड नेसनल इन्भायरन्मेन्ट प्रोग्रामको आयोजनामा जापानको ओशाका शहरमा भएको विषेश कार्यशालामा महर्जनले हेटौंडालाई भावी दिनमा इकोटाउन मोडल प्रोजेक्ट सञ्चालनबारे विचार राखेका थिए । घरायशी र मेडिकलजन्य फोहोर संकलनका लागि बेग्लै रंगका रिक्सा सञ्चालन गर्दै आएको हेटौंडा नगरपालिकाले फोहोर संकलनका लागि निलो रंगको रिक्सा पनि सञ्चालनमा ल्याएको छ ।

सबै वडाबाट संकलन भएका फोहोर हेटौंडा–१०, राप्तीतटस्थित फोहोर संकलन केन्द्रमा संकलन गरिन्छ । त्यहाँ कुहिने र नकुहिने फोहोरलाई छुट्याइन्छ । कुहिने फोहोरलाई केन्द्रनजिक स्थापना गरिएको कम्पोष्ट प्लान्टमा राखेर मल बनाउने गरिन्छ । त्यहाँबाट उत्पादन भएका कम्पोष्ट मल बिक्री हुन थालेको छ ।

केही संस्थाले गरेको मलको गुणस्तरीयता र प्रभावकारिता सम्बन्धि प्रयोगशाला परीक्षणमा त्यहाँ निर्मित कम्पोष्ट मल गुणस्तरीय देखिएको महर्जनले बताए । फोहोर संकलन केन्द्रमा ल्याइएका नकुहिने फोहोरलाई पुनर्प्रयोगमा आउनसक्ने र नसक्ने गरी छुट्याइने गरिन्छ । यदि पुनः प्रयोगमा आउन नसक्ने फोहोर भए त्यसलाई डम्पिङ साइटमा गाडेर नष्ट गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्