कार्कीलाई कालोमोसो दल्नेलाई एक महिना जेल



नेपाल समाचारपत्र
काठमाडौं
सर्वोच्च अदालतले अख्तियारका पूर्वप्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई कालोमोसो दल्ने दुई जनालाई जनही एक महिना कैद हुने फैसला गरेको छ।
न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलासले कालोमोसो दल्ने प्रबल भन्ने प्रकाश शाही र चन्द्रबहादुर बुढालाई जनही एक महिना कैद गर्ने फैसला गरेको हो।

यही पुस ७ गते लोकमान तारेख बुझ्न सर्वोच्च अदालतमा गएको बेला शाही र बुढाले उहाँलाई कालोमोसो लगाएका थिए। उनीहरूले बयानको क्रममा आफूहरूले लोकमानलाई कालोमोसो दलेको स्वीकार गरेका थिए।
सर्वोच्च अदालते अवहेलनाको विषय अदालतको निर्वाध न्याय प्रशासनसँग जोडिएको विषय भएको उल्लेख गर्दै निर्वाध न्याय सम्पादनका लागि न्यायाधीश, कर्मचारी, कानुन व्यवसायी र मुद्दाका पक्षहरूको सुरक्षा अत्यावश्यक पूर्वसर्त हुनुपर्ने स्पष्ट गरेको छ।

न्याय निरोपणको कार्यमा संलग्न वा सरोकार रहने पक्षउपर गरिने कुनै पनि प्रकारको शारीरिक आक्रमण वा बेइज्जतीपूर्ण कार्यलाई अदालतले न्याय सम्पादनमा गरिने हस्तक्षेपको रूपमा बुझ्नुपर्ने सर्वोच्च अदालतले उल्लेख गरेको छ।

सर्वोच्च अदालतमा त्यस्तो घटना भएको प्रति आफूहरू दुःखी भएको बयानको क्रममा उनीहरूले बताएका थिए। सर्वोच्च अदालतले सो घटनाप्रति आफूहरू दुःखी भएको भन्दैमा उन्मुक्ति दिन नमिल्ने पनि सर्वोच्च अदालतले आफ्नो फैसलामा उल्लेख गरेको छ।

शाही र बुढाको क्रियाकलापबाट सर्वोच्च अदालतको न्याय सम्पादनको कार्यमा अवरोध हुन गएको उल्लेख गर्दै इजलासले उनीहरूलाई जनही एक महिनाको कैद हुने फैसला गरेको हो।

उनीहरूलाई घटना भएको पुस ७ गतेदेखि नै थुनामा राखिएको छ। सर्वोच्च अदालते सो मितिदेखि गणना हुने गरी उनीहरूलाई एक महिना कैद गर्न आदेश दिएको छ। उनीहरूलाई अदालतको आदेशबमोजिम अब माघको ६ गतेसम्म थुनामा राखे पुग्नेभएको छ।

प्रतिक्रिया दिनुहोस्