क्षयरोगविरुद्धको बीसीजी सुई अभाव रुपन्देहीको अञ्चल अस्पतालमा मात्रै १७ सय नवजात शिशुले बीसीजी सुई लगाउन पाएनन्



यमलाल भुसाल
बुटवल
म्बिनी अञ्चल अस्पतालमा विगत २ महिनादेखि बच्चा जन्मनेबितिकै लगाउनुपर्ने बीसीजी सुई अभाव हुँदा पनि सरोकारवाला निकाएले त्यसको आपूर्ति मिलाउन सकेको छैन। बच्चा जन्मनेबितिकै क्षयरोगविरुद्धको सुई बीसीजी लगाउनै पर्ने हुन्छ तर लुम्बिनी अञ्चल अस्पतालमा सो सुई नै नभएको २ महिनाभन्दा बढी समय भएको अस्पतालले जनाएको छ। युक्त सुईबिना लुम्बिनी अञ्चल अस्पतालमा दुई महिनाको अवधिमा १ हजार ७ सय नवजात बच्चाको जन्म भएको अस्पतालका सूचना अधिकृत लक्ष्मीराज रेग्मीले बताउनुभयो।

१ हजार ७ सय बच्चाले क्षयरोगविरुद्धको बीसीजी सुई लगाउन नपाएको अस्पतालले जनाएको छ। सरकारले निःशुल्करूपमा उपलब्ध गराउने बीसीजी सुई बच्चा जन्मनेबितिकै दायाँ हातको माथिल्लो भागमा लगाउनुपर्ने हुन्छ। जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत् पश्चिमाञ्चल क्षेत्रीय मेडिकल स्टोर्सले उपलब्ध गराउने उक्त सुई २ महिना बितिसक्दा पनि उपलब्ध नगराउनुले अञ्चल अस्पतालको सेवा कति भरपर्दो र गुणस्तरीय छ भन्ने कुराको सीधै पुष्टि हुन्छ। सो सम्बन्धमा जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख चूडामणि भण्डारीले विभागले बीसीजी सुई किन्न नसकेकाले रुपन्देही जिल्ला मात्र नभई नेपालभरिका कुनै पनि अस्पतालमा २ महिनादेखि उक्त सुई नभएको बताउनुभयो।

विभागले किनेर पठाउने हो त्यो नभएपछि हामीले कहाँबाट उपलब्ध गराउने भन्दै जनस्वास्थ्य प्रमुख भण्डारीले सरकारले युनिसेफसँग माग गरेकाले केही दिनपछि आउने सम्भावना रहेको समेत बताउनुभयो। रुपन्देहीमा बीसीजीको भ्याक्सिन रहेको र त्यसलाई प्रयोग गर्ने सिरिन्ज नभएको बताउनुभयो। मुलुकभरि नै यो समस्या रहेकाले सरकार यस विषयमा गम्भीर हुनुपर्नेमा उहाँको कथन छ।
पश्चिमाञ्चल क्षेत्रका १३ भन्दा बढी जिल्ला र भारतको उत्तर प्रदेशका केही भू–भागसमेत गरी ६० लाखभन्दा बढी जनसंख्या आश्रित छन् लुम्बिनी अञ्चल अस्पतालमा। तर, अस्पतालमा बेथिति धेरै छ। अस्पताल आफैं बिरामी छ ? के यसमा सुधार गर्न सकिन्छ स्वास्थ्य मन्त्रालयले फार्मेसी सञ्चालनका लागि भनेर छुट्टै बजेट विनियोजन गरे पनि लुम्बिनी अञ्चल अस्पताल बुटवलले त्यसको कार्यान्वयन गर्न सकेको छैन।

गत कात्तिक १९ गते लुम्बिनी अञ्चल अस्पताल बुटवलमा सञ्चालित नवजात शिशु सघन उपचार कक्षको उद्घाटन गर्न आउनुभएका स्वास्थ्यमन्त्री गगन थापाले भन्नुभएको थियो– ‘तपाईंहरूले फार्मेसी सञ्चालन नगरी सुखै छैन। के समस्या छ, मलाई भन्नुहोस् तर चाँडोभन्दा चाडो फार्मेसी सञ्चालन गरेर बिरामीले अस्पतालबाटै औषधी खरिद गर्ने वतावरण बनाउनुपर्छ।’

मन्त्रीले निर्देशन दिएको दुई महिना बित्यो तर अस्पताल प्रशासनले चासो दिएको छैन। फार्मेसी सञ्चालनमा जनशक्ति र औषधी खरिदमा हुने ढिलाइलाई समस्या देखाउँदै अस्पताल प्रशासनले टार्दै आएको छ। लुम्बिनी अञ्चल अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. विकास देवकोटाले भने– ‘हामी मन्त्रालयको निर्देशन पालना गर्न तयार छौं। तर, जनशक्ति र औषधी खरिदमा हुने ढिलाइले फार्मेसी सञ्चालनमा चुनौती छ।’

प्रतिक्रिया दिनुहोस्