सोह्रश्राद्धका बाहुन जस्ता स्वास्थ्यमन्त्री



मोतीराम तिमल्सिना, काभ्रे
१६ श्राद्धमा बाहुनलाई पितृहरूको श्राद्ध गर्न भ्याईनभ्याई भएजस्तै स्वास्थ्यमन्त्री गगनकुमार थापालाई पनि सोमबार त्यस्तै भयो। जिल्लाकै गौरवपूर्ण कार्यक्रम पूर्णखोप सुनिश्चित घोषणाका लागि प्रमुख अतिथि निम्त्याइएका थापा मुख्य कार्यक्रम छाडी सोह्रश्राद्धका बाहुन जस्तो आधा दर्जन कार्यक्रममा सहभागी भएर पूर्णखोप कार्यक्रमलाई फिक्का बनाए।

जिल्लामा रहेका १२ महिनादेखि २३ महिनासम्मका ८ हजार १२ बालबालिकाका लागि सरकारले प्रदान गर्ने सबै प्रकारका खोपहरू पूर्णरूपमा प्राप्त भएको तथ्यांक संकलन भएपछि पूर्णखोप जिल्ला सुनिश्चित र आगामि दिनमा जन्मने बालबालिकाका लागि प्रतिबद्धता व्यक्त गरिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा. अर्जुन सापकोटाले बताए। बिहान ११ बजे उक्त कार्यक्रमका लागि जिल्लाका सबै राजनीतिक दलका प्रमुखहरू, जिल्लास्थित सबै कार्यालयका प्रमुखहरू, सासंदहरू, गाउँ–गाउँबाट आएका महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य चौकीका कर्मचारीहरू, अन्य सरोकारवाला कार्यालका प्रतिनिधिहरूसमेत घाम तापेरै धुलिखेलको चउरमा मन्त्री गगन थापाको प्रतीक्षामा बसे।

बिहान ८ बजे काठमाडौंबाट काभ्रेका लागि प्रस्थान गरेका मन्त्री थापाको सुरक्षाका लागि बिहान पौने ९ देखि नै सुरक्षाको टोली तयारी अवस्थामा रहेको थियो। १० बजे बनेपाको कांग्रेस पार्टी कार्यालयमा प्रवेश गरेका थापाले सरकारले आइतबार संसद्मा जबरजस्तीरूपमा प्रस्तुत गरेको संविधान संशोधन विधेयक एमालेबाहेकका दलहरूले भए पनि पास गर्ने तर एमालेले पनि संविधान संशोधनमा सहयोग गर्ने घोषणा गरे। त्यहाँबाट पनौती गएका थापा शुरुमै कांग्रेसको पार्टी कार्यालयमा गई कार्यकर्तासँग अन्तरक्रिया गरे। त्यसपछि पनौती होटलमा आयोजित एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा सहभागी भएका मन्त्री थापा जेसिजले आयोजना गरेको कार्यक्रममा पनि सहभागी भए। यता बिहान ११ बजेदेखि पूर्णखोप सुनिश्चितताका लागि सहभागी विस्तारै फर्कंदै थिए। हतार–हतार पनौतीबाट पौने दुईमा धुलिखेल प्रस्थान गरेका मन्त्री थापा महत्त्वपूर्ण कार्यक्रममा भने दिउँसो २ बजे प्रवेश भए। त्यहाँ पनि उनले मन्त्री थापाका आसेपासेहरूले नौटंकी देखाए। सेल्फी खिच्दै मन्त्री थापालाई मञ्चमा जान केही क्षण रोके।

मन्त्री थापाले कार्यक्रमको उद्घाटन गरेको केही क्षणमै मन्तव्य राख्दै भने सबै स्वास्थ्य चौकीहरू पूर्णरूपमा औषधीसहितका हुनेछन्। कार्यालय समयभित्र स्वास्थ्य चौकी तथा अस्पतालहरूमा नबस्ने कर्मचारीलाई कारबाही हुनेछ। सबै नागरिकले उपचार र औषधीको सुविधा पाउनेछन्। तर, वर्षाैंदेखि सिटामोटलसमेत नभएर आधा दिन मात्रै खुल्दै आएका स्वास्थ्य चौकीहरू थापा मन्त्री भएको ४ महिनासम्म खुल्न सकेका छैनन्। औषधी अभाव कायम नै छ। खानासमेत नखाई मन्त्री सोह्रश्राद्धका बाहुन जस्तै नाचिरहेको भन्दै सहभागीले असन्तुष्टि जनाएका थिए।

प्रतिक्रिया दिनुहोस्