“अयोग्य”ले गरेका निर्णय के होलान् ?



विकास भट्टराई, काठमाडौं

र्वोच्च अदालतको आदेशानुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त लोकमान सिंह कार्की अयोग्य साबित भएपछि ती अयोग्य पात्रले गरेका निर्णय के हुन्छन् भन्ने प्रश्नसमेत उठ्न थालेको छ।

सर्वोच्च अदालतले कार्कीको नियुक्ति तथा शपथसमेत शुरूदेखिका सम्पूर्ण प्रक्रिया बदर गरेको छ। यस्तो अवस्थामा उनीद्वारा गरिएका कार्यहरू अब के हुन्छन् भन्नेमा आकलन गर्न थालिएको हो। उनले भ्रष्टाचारको अभियोग लगाउने बारेमा अख्तियार प्रमुखको हैसियतमा काम गरेका थिए। उल्लेख्य संख्यामा विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएका छन्। कतिपय मुद्दाहरू सो अदालतमा विचाराधीन अवस्थामा समेत रहेका छन्।

सर्वोच्च अदालतले हाल संक्षिप्त आदेश मात्र दिएको छ। पछि पूर्णपाठ तयार हुँदा सो सम्बन्धमा पनि बोल्न सकिने भएको हुनाले यसबारेमा खासै स्पष्ट धारणा भने आएको पाइँदैन। सर्वसाधारण तहबाट भने उनले अहिलेसम्म खाएको तलब भत्तादेखि छानबिन गरिएका कार्य र निर्णयहरूकै बारेमा पनि अब के हुन्छ भन्ने प्रश्न उठाएको समेत पाइएको छ। अख्तियारका प्रवक्ता जीवराज कोइरालाले लोकमानद्वारा गरिएका कार्यहरूको बारेमा के हुन्छ भन्ने बारेमा अदालतबाट पूर्णपाठ नआएसम्म केही पनि बोल्न नमिल्ने उल्लेख गर्नुभयो।

उहाँले नेपाल समाचारपत्रसँग कुरा गर्दै भन्नुभयो– ‘अदालतबाट आउने पूर्णपाठ नहेरी केही पनि भन्न सक्ने अवस्था छैन। यसबारेमा स्पष्ट हुन हामीले अदालतको पूर्णपाठ कुर्नै पर्छ।’ यसैबीच कार्कीले सोमबार पनि अख्तियारको निवास नछाडेको बुझिएको छ।

अख्तियार स्रोतले उनी हिजो सोमबार आफ्नो घर जाने बताए पनि उनले निवास छोडेका थिएनन्। अख्तियारका प्रवक्ता कोइरालाले औपचारिकरूपमा अदालतको आदेश नपाएको हुनाले कार्कीले हाल बसिरहेको निवास नछोडेको हुन सक्ने आकलन गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्