समाचार प्रभावः मृगौलापीडित विशाललाई सहयोग जारी



(ज्ञानमणि नेपाल कालोटोपी)/ काभ्रे, २५ पुस ।
दुबै मृगौला फेल भएर उपचाररत काभ्रे चण्डेनीमण्डनका बिशाल नेपाललाई स्वदेश तथा विदेशबाट आर्थिक सहयोग आउने क्रम जारी छ । हाल सम्म करिव ४ लाख जति संकलन भइसकेको छ । उपचारका लागि १५ लाख लाग्ने अस्पताल स्रोतले जनाएपछि अहिले विभिन्न ठाउँबाट विशाल नेपाल बचाउ अभियान संचालन गरि आर्थिक संकलन गरिरहेको पाइएको छ ।

यसैक्रममा  यस अभियान अन्र्तगत हिरो–भुटानको नामबाट अमेरिका निवासि श्री भिम गुरुङ र श्रीमती माया गुरुङले ब्यग्क्तिगत रुपमा अमेरिकी डलर ५०५ सहयोग गर्नु भएको छ । जुन नेपाली रुपैयाँ ५४ हजार ५४० हुन आउँछ । यो अहिले सम्मकै ठूलो व्यक्तिगत सहयोग हो । अमेरिकामा मात्र विशालको सहयोगार्थ करिव १ लाख ४० हजार सहयोग जुटेको त्यहाँबाट देवेन्द्र नेपालले जानकारी दिनुभएको छ ।

त्यस्तै दुबईबाट त्यहाँ रहेका नेपालीहरुले २६ हजार १९५ संकलन गर्नु भएको छ । यसैगरि मलेसियाबाट करिव ३५ हजार सहयोग संकलन भएको त्यहाँबाट विमल पौडेलले जानकारी दिनुभएको छ । युकेबाट २० हजार संकलन भएको र कोरियाबाट करिव ५० हजार जति सहयोग संकलन भएको त्यहाँबाट तेजप्रसाद दाहालले जानकारी दिनु भएको छ । साउदीबाट पनि सहयोग जुट्नेक्रम जारी रहेको खबर आएको छ ।

काभ्रेको कुन्तावेसिबाट स्थानिय शिक्षक कृष्ण कुमार श्रेष्ठले पनि विशाल नेपाल बचाउ अभियान संचालन गर्नु भएको छ । उहाँले व्यक्तिगत १० हजार रुपैयाँ सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरि अरुसँग पनि सहयोग जुटाउन सक्रिय भएर लाग्नुभएको छ । उहाँको पहलमा कुन्तावेसिबाट स्थानिय विद्यालयहरु र सहकारी मार्फत करिव ५० हजार जति संकलन हुने अनुमान गरिएको छ । जस मध्ये १५ हजार संकलन भइसकेको श्रेष्ठले जानकारी दिनुभयो । सिउडेनीटारका राजिव सापकोटाले पनि अभियान चलाइरहनु भएको छ । काभ्रे जिल्ला क्षेत्र नं ४ का सभासद बिदुर सापकोटाले पनि व्यक्तिगत रुपमा १० हजार सहयोग गरि अभियानमा साथ दिने बताउनुभएको छ ।

यसैगरि अभियान अन्र्तगत नै गतहप्ता ५४ जनाबाट संकलित रकम १ लाख २४ हजार बिशाल नेपालकै निवास पेप्सिकोलामा पुगेर संयुक्तरुपमा हस्तान्तरण गरिएको छ । स्थानिय युवाहरुले बिशाल नेपाल बचाउ अभियान चलाएर उक्त रकम संकलन गरिएको संयोजक गोकुल नेपालले जानकारी दिए । आगामी दिनमा पनि अभियान जारी रहेको र थप सहयोग जुट्नासाथ पीडितलाई प्रदान गरिने बताइएको छ ।

त्यसैगरि अमेरिकामा रहनु भएका कुन्तावेसिकै  राजिव पौडेल, ओमानमा रहनु भएका बसन्त नेपाल र यूकेमा रहनु भएका नारायण नेपालले पनि विशाल नेपाललाई आर्थिक सहयोग जुटाउने अभियान चलाउनु भएको उहाँहरुले जानकारी दिनु भएको छ । केहि दिनमै संकलित रकम पठाइने बताइएको छ । व्यक्तिगत रुपमा पनि विशाललाई सहयोग गर्ने क्रम जारी छ । सहयोग गर्न इच्छुक दाताका लागि नेपाल इन्भेष्टमेन बैंकमा रहेको बिशाल नेपालको खाता नं. ०१२०५०८०४६०१९४ मा रकम जम्मा गर्न वा ९७४१०४८२२८ र ९८४९७२७२८३ मा सम्पर्क गर्न उनको परिवारले अनुरोध गरेको छ ।

केहि हप्ता अघि विशाल नेपालको दुवै मृगौलाफेल भएको र उनको बुबा राजु नेपाल विगत १५ वर्ष देखि प्यारालाइसिस भएर ओछ्यान पर्नु भएको खबर विभिन्न संचार माध्यम र फेसबुक मार्फत सार्वजनिक भएपछि उनलाई बचाउन सक्रिय युवाहरुले अभियान संचालन गरेपछि सहयोग जुट्न थालेको परिवार स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्