तरुण दलको बन्द



बाँके, (नेस)
युवा संघका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथिको खुकुरी प्रहार घटनामा तरुण दलका क्षेत्रीय सभापति दिग्विजय राणा पक्राउ गरेपछि तरुण दलले सडक आन्दोलन शुरु गरेको छ। आइतबार बिहानैदेखि तरुण दलले सडकमा टायर बालेर यातायात अवरुद्ध गरेको छ। तरुण दलको आन्दोलनका कारण आइतबार बाँकेमा सवारी साधन चल्न सकेनन्। समूह समूहमा सडकमा निस्केका युवाहरूले रिक्सासम्म रोकेका थिए।

आफ्ना नेतालाई प्रहरीले प्रतिशोध साँध्नका लागि पक्राउ गरेको उनीहरूको आरोप थियो। प्रहरीले घटनामा संलग्नताको बलियो प्रमाण फेला परेपछि नियन्त्रणमा लिएको जनाएको छ। घटनालगत्तै केरकार गरेर छोडेको प्रहरीले राणालाई शनिबार पुनः पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ।
तरुण दलले साँझ पत्रकार सम्मेलन गरेर आन्दोलन अनिश्चित्कालीन भएको जनाएको छ। ‘हाम्रा नेतालाई नछोडेसम्म आन्दोलन निरन्तर रहन्छ’, तरुण दल बाँकेका नेता रविन्द शाहले भन्नुभयो– ‘प्रहरी तरुण दललाई आस्थाविहीन संगठनको हिसाबले पेस भएको छ।’

नेपाली कांग्रेस बाँकेका सचिव तप्त पौडेलले तरुण दलका युवाहरूलाई मानसिक रूपले तर्साउन प्रहरीले आतंक मच्चाएको बताउनुभयो। ‘विधि, प्रक्रिया र पद्धति मिलाएर सोधपुछ गर्नु सामान्य हो’, सचिव पौडेलले भन्नुभयो– ‘राणालाई राजनीतिक आस्थाका आधारमा नियन्त्रणमा लिइएको छ। जबकि उसको घटनामा कुनै संलग्नता नै छैन।’

सचिव पौडेलले तरुण दलको अनिश्चित्कालीन आन्दोलनमा नेपाली कांग्रेस बाँकेको पूर्ण समर्थन रहेको बताउनुभयो। आफ्नै पार्टीका नेता गृहमन्त्री हुँदाहुँदै सडकमा जानुको औचित्यका बारेमा सोधिएको प्रश्नमा सचिव पौडेलले बाँके प्रहरीले एक ठाउँमा भेला बसेर अरू पार्टीका नेताको इसारामा प्रचारात्मक तरिकाले अनुसन्धान अघि बढाएकाले आन्दोलन गरेको बताउनुभयो। ‘यो सरकारमा कांग्रेसका विरुद्धमा कांग्रेसको आन्दोलन होइन।’ –सचिव पौडेलले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्