नाराबाजीका बीच संविधान संशोधन प्रस्ताव टेबुल



बीपी शाह, काठमाडौं
संविधान संशोधन विधेयक टेबुल गर्न नदिने अडान लिँदै एक महिना ८ दिनसम्म संसद अवरुद्ध गरेको प्रमुख प्रतिपक्षी दलको नाराबाजीका बाबजुद आइतबार संशोधन प्रस्ताव टेबुल भएको छ। सरकारले मंसिर १४ गते दर्ता गराएको संविधान संशोधन विधेयकको विरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित नौ दलले मंसिर १६ गतेदेखि संसद् अवरुद्ध गर्दै आएका थिए।

सदनमा आइतबार स्थानीय तह निर्वाचन विधेयक २०७३, निर्वाचन कसुर तथा सजाय २०७३ र नेपालको संविधान (दोस्रो संशोधन) २०७३ प्रस्तुत गरिएको हो। निर्वाचनसम्बन्धी विधेयक टेबुल भएपछि संविधान कार्यान्वयनका लागि निर्वाचन प्रक्रिया अगाडि बढ्ने भएको छ। गृहमन्त्री विमलेन्द्र निधि अनुपस्थित भएपछि निर्वाचनसम्बन्धी दुईवटा र संशोधनसम्बन्धी विधेयकसमेत कानुनमन्त्री अजय शंकर नायकले नै प्रस्तुत गर्नुभएको थियो। आइतबार नै अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव समितिमा पठाइएको छ।

सदनमा प्रतिपक्षी दलले निर्वाचनसम्बन्धी विधेयक प्रस्तुत गर्न र महाअभियोगको सम्बन्धमा सदन चल्न दिएका थिए। तर संशोधन विधेयकको चर्चा हुने बित्तिकै प्रतिपक्षी दलले सदनमा नाराबाजी शुरू गरेका थिए।

संशोधनउपरको विरोध सूचना दर्ता गराएका सांसद् प्रेम सुवाललाई सभामुखले बोल्ने समय दिनुभएको थियो। उक्त समयमा सुवालले भारतीय विस्तारवादका कारण संशोधन विधेयक आएको बताउनुहुँदै प्रस्ताव फिर्ता गर्नुपर्ने बताउनुभयो। उहाँले नेपाल–भारतको सिमामा पर्खाल लगाउनुपर्ने कुरासमेत उठाउनुभयो। संशोधन उपर विरोधको सूचना चित्रबहादुर केसीले दर्ता गराए पनि उहाँ बोल्नुभएन। केसीलाई बोल्न सभामुखले बारम्बार आग्रह गर्नुभए पनि उहाँले बोल्नुभएन।

आइतबारको पहिलो संसद् बैठक कांग्रेसका पूर्वसांसद मणिराम पोखरेलको निधनप्रति शोक प्रस्ताव पारित गर्दै ३ बजेसम्मका लागि स्थगित गरिएको थियो। ३ बजेको बैठकबाट तीनवटै विधेयक टेबुल गरेर आज सोमबार १ बजेसम्मका लागि संसद् बैठक स्थगित गरिएको छ।
संशोधन विधेयक टेबुल गरिएकोमा प्रतिक्रिया दिँदै एमाले उपाध्यक्ष बामदेव गौतमले टेबुल भएको संशोधन विधेयक असफल पार्नेतिर लाग्ने बताउनुभयो। उहाँले सभामुखले अलोकतान्त्रिक प्रक्रिया शुरू गर्नुभएको आरोप लगाउँदै संशोधन विधेयक पारित हुन नदिने बताउनुभयो।

सत्तारुढ दलका नेता अग्नि सापकोटाले संशोधन टेबुलबाट देशले निकास पाउने प्रतिक्रिया दिनुभयो। ‘जे आवश्यक थियो त्यही भयो’, सापकोटाले भन्नुभयो, ‘गतिरोध अन्त्यका लागि प्रतिपक्षीले पनि सहयोग गर्नुभयो।‘एमालेको सहमति मै संशोधन टेबुल गरिएको बताउँदै सापकोटाले भन्नुभयो, ‘प्रतिपक्षीहरूले पनि सहमति जनाउनुभएको हो। एकै पटक अडानबाट पछि हट्न एमालेलाई अप्ठ्यारो भएकाले नारावाजी गर्नुभयो।’

संशोधन टेबुल भएपछि कानुनमन्त्री अजय शंकर नायकले राष्ट्रको निकासका लागि संविधान संशोधन आवश्यक भएको बताउनुभयो। उहाँले संशोधन विधेयक पारित हुने विश्वास व्यक्त गर्दै प्रतिपक्षीले पनि सहयोग गर्ने बताउनुभयो। संसद् बैठक अघि प्रमुख तीन दलबीच छलफल भएको थियो। स्रोतकाअनुसार उक्त छलफलमा एमालेले संशोधन विधेयक टेबुल गर्न दिने संकेत गरेको थियो।

बैठकमा सहभागी एक नेताकाअनुसार एमालेले प्याकेज मै डिल गर्न सहमत भएका थिए। बैठकमा लोकमान र संशोधनका विषयबारे पनि छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्