तत्काल छानबिन गर



राजधानीको नक्सालमा निर्माणाधीन एक होटल भवनसँगैको सडक हिजो आइतबार बिहान भासिएको छ । त्यो दृश्य निकै त्रासदीपूर्ण भए पनि त्यसबाट कुनै मानवीय क्षति भने नभएको सुरक्षा निकायले जनाएको छ । हामीले नयाँ संरचना बनाउँदा नीति नियमहरूको पालना गर्नुपर्ने चर्चा–परिचर्चा भइरहेको बेलामा राजधानीको मुटुमा नै भएको यो घटनाले सरकारी निकायहरूका गतिविधिमाथि प्रश्नचिह्न उत्पन्न गराएको छ । बाटो नै भासिने गरी संरचना बनाइँदासमेत हाम्रो देशका नियामक निकायका कर्मचारीहरू के हेरेर बसेका थिए होलान् ? वा घूसमा बिके ? प्रश्न गम्भीर रुपमा उठ्न पुगेको छ । त्यसैले यस मामिलामा तत्काल छानबिन गरेर दोषीमाथि कडाभन्दा कडा कारबाही गर्नुपर्दछ ।
केही दिनअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणको सुन भन्सारबाट पास गराइएको घटना यहाँ स्मरणीय रहेको छ । सुनकाण्डमा मुछिएका कर्मचारीलाई जसरी कारबाही गरियो त्यसै गरी सडकको सन्दर्भमा पनि सम्बद्ध नियामक निकायका अधिकारीहरूलाई कारबाही गरिनुपर्दछ । अनि सार्वजनिक सम्पत्ति नै जोखिममा पर्ने गरी संरचना निर्माण गर्ने होटल मालिकलाई समेत क्षति भराउनु जरुरी रहेको छ ।

संरचनाहरू मनलाग्दीसँग बनाउने र विपद् आइसकेपछि पछुताउने चलन हामीकहाँ रहेको छ । जस्तो २०७२ सालको भूकम्पबाट हाउजिङ कम्पनीलगायतका निकायले गरेको हर्कत सतहमा आएको थियो । तर, केही समय हल्लीखल्ली भए पनि अहिले ती अधिकांशलाई चोख्याउने काम भएको कुरासमेत आइरहेको छ । अरुका त कुरै छोडौं, भूकम्पको पीडा बिर्सिनसक्दै पछिल्ला दिनमा भइरहेका संरचना पनि न्यूनतम मापदण्ड नपुर्याई नियामक निकायका अधिकारीहरूलाई भेटी चढाएर स्वीकृत गराउने गरिएको कुरा चर्चामा आइरहेको छ । त्यसैले यस खालका गल्ती दोहोर्याउनेहरूलाई छानबिन गरी कडाभन्दा कडा कारबाही तत्काल नगरिए फेरि कुनै पनि भयानक त्रासदीको समस्यामा सर्वसाधारण जनता पर्न सक्ने कुरालाई नकार्न सकिँदैन ।

नक्सालमा हिजो भएको घटनाको सन्दर्भमा सडकको आधा भाग नै होटलको टावर निर्माणका लागि तयार पारिएको जगमा भासिएर खसेको पाइएको छ । त्यसले पनि यो गर्नै नहुने काम गरिएको थियो भन्नलाई हिच्किचाउनुपर्ने अवस्था छैन । भेटी चढाएपछि जे पनि गर्न पाइने संस्कृतिका कारण नै यी सबै गलत काम भएका हुन् भन्ने कुरा प्रस्टै छ । त्यसैले यसलाई सामान्य घटनाका रुपमा मात्रै नलिई सम्बद्ध दोषीलाई तत्काल छानबिन र कारबाही गरियोस् ।

प्रतिक्रिया दिनुहोस्