जापानद्वारा दक्षिण कोरियाबाट राजदूत फिर्ता



टोक्यो, (एजेन्सी)
जापानले दोस्रो विश्व युद्धको दौरान कोरियाली यौनदासको विषयमा बनाइएको एउटा मूर्तिलाइ लिएर विवाद चर्किन थालेपछि शुक्रबार दक्षिण कोरियाका लागि आफ्नो राजदूतलाई अस्थायी रूपमा फिर्ता बोलाएको छ। अभियन्ताहरूले गत महिना दक्षिण कोरियाको बुसान शहरस्थित जापानी नियोगसामु उक्त प्रतिमा राखेका थिए।

दक्षिण कोरियाले दोस्रो विश्व युद्धको दौरान जापानी सैनिक वेश्यालयमा जबर्जस्ती यौनदास बनाइएकाका लागि लामो समयदेखि क्षतिपूर्ति माग्दै आएको छ। जापानले भने उक्त प्रतिमाले अघिल्लो सम्झौता उल्लंघन हुन पुगेको जनाएको छ।

सो डेढ मिटर अग्लो कांसको मूर्तिमा एकजना युवती नांगो खुट्टामा मेचमा बसिरहेको देख्न सकिन्छ। ती यौनदासीहरूले सहनुपरेको दुःख र त्यसको बदलामा जापनले यथेष्ट क्षमायाचना नगरेको र क्षतिपूर्ति नदिएको प्रतीकको रूपमा यो मूर्ति रहेको छ। त्यतिबेला करिब २ लाख कोरियाली महिलालाई यौनदासी बन्न बाध्य पारिएको थियो।

जापानले चीन, फिलिपिन्स, इन्डोनेसिया र ताइवानका महिलाहरूलाई पनि यौनदासी बनाएको थियो। जापानसँग दक्षिण कोरियाको सम्बन्ध राम्रो हुन नसक्नुको यो स्थायी कारण हो। तर यस्ता यौनदासी धमाधम बुढइैलीको कारण मर्ने क्रम जारी रहेको छ। दक्षिण कोरियामा अहिले केबल ४६ जना यौनदासी बनाइएका महिला जीवित रहेको अनुमान गरिएको छ।
एक वर्षअघि भएको एक सम्झौताअनुरूप जापानले क्षमायाचना गर्दै पीडित महिलाहरूको लागि कोष खडा गर्न ८६ लाख अमेरिकी डलर दिने बचन दिएको थियो। गत २८ डिसेम्बरमा बुसानमा राखिएको सो मूर्ति शुरूमा प्रहरीले हटाएको र पछि प्रहरीको सो कदमको व्यापक विरोध भएको दि कोरिया हेराल्डले जनाएको छ। शुक्रबार एक विज्ञप्तिमार्फत जापानी प्रधानमन्त्री सिन्जो आवेले दुवै राष्ट्रले सम्झौता कार्यान्वयन हुनु महत्त्वपूर्ण भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्