राजधानीमा विपक्षीको शक्तिप्रदर्शन लेन्डुप दोर्जेसँग तुलना



नेपाल समाचारपत्र
काठमाडौं
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्बाट राष्ट्रहित विपरीतका प्रस्ताव पास गर्न नदिने बताउनुभएको छ। उहाँले सीमांकन हेरफेरको प्रस्ताव नेपाललाई थिलथिलो पार्ने उद्देश्यसहित सरकारले ल्याएको संविधान संशोधनलाई असफल पार्ने बताउनुभएको हो। अध्यक्ष ओलीले संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक कुनै पनि हालतमा छलफल नहुने दाबी गर्नुभयो। संविधान कार्यान्वयन गर्न लाग्नुपर्ने सरकारले बेला न कुबेला निर्वाचन गर्न छोडेर अनुचित उद्देश्यले प्रेरित संविधान संशोधनमा लागेको आरोप लगाउनुभयो।

संविधान संशोधन विधेयक फिर्ता लिन सरकारलाई दबाब दिने उद्देश्यले प्रमुख प्रतिपक्षी दल एमालेसहितका नौ दलद्वारा शुक्रबार राजधानीमा आयोजित जनप्रदर्शन सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार सरोकार नभएको संविधान संशोधनमा लागेको बताउनुभयो। निर्वाचन गराउने बेलामा संविधान संशोधन किन गर्नुपर्यो भन्ने प्रश्न गर्दै उहाँले भन्नुभयो– ‘संविधान जारी गर्न नदिनेहरू, संविधान जलाउने र च्यात्नेहरू संविधान संशोधन नभईकन निर्वाचन हुन नदिने खेलमा लागेका छन्।’

देशको सार्वभौमसत्तामा आँच आउने अवस्था सृजना गरेर मात्र निर्वाचनमा जाने गम्भीर षडयन्त्र र हानिकारक उद्देश्यले संविधान संशोधन प्रस्ताव ल्याएको उहाँले आरोप लगाउनुभयो। सरकारले ल्याएको संविधान संशोधन प्रस्तावलाई जुवाडेसँग तुलना गर्दै अध्यक्ष ओलीले भन्नुभयो– ‘जुवाडेले कौडा खेलाउँछ, कौडा हार्ने जित्ने होइन सम्पत्तिको हारजित हुन्छ। जुवाडेले तासको पत्ती जितेर घर लैजाने होइन सम्पत्ति लैजाने हो, संविधान संशोधन प्रस्ताव तासको पत्ता पछारेजस्तो गरी आएको छ। यक्ष प्रश्न यही हो।’ नेपाललाई गज्याङमज्याङ र अस्तव्यस्त पार्ने, सधैं अशान्ति र अस्थिरता मच्चाइराख्ने उद्देश्यले नेपालमा चलाइएको अस्थिरताले अन्ततः विभाजन गर्ने उद्देश्य लुकेको उहाँले बताउनुभयो।

संविधान संविधान गर्न सकिने दस्तावेज भएकाले कहिले–कहिले आवश्यकता र औचित्यको आधारमा संशोधन हुन सक्ने उल्लेख गर्दै अध्यक्ष ओलीले संविधान संशोधन गर्दा देश र जनताको हितको केन्द्रमा राखेर गर्नुपर्नेमा जोड दिनुभयो। प्रदेश विभाजन गर्ने प्रस्तावका विरुद्ध जनता सडकमा उत्रिँदासमेत अन्यत्रको आदेश पालना गर्न सरकारले संविधान संशोधन प्रस्ताव फिर्ता नलिएको आरोप उहाँले लगाउनुभयो। सर्वोच्च अदालतका प्रधानन्यायाधीशसँग भेट गरेर प्रधानन्यायाधीशले प्रस्ताव अगाडि बढाउन सल्लाह र निर्देशन दिएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति लक्षित गर्दै आदेश र सल्लाह दिने काम प्रधानन्यायाधीशको नभएको बताउनुभयो

देशभक्ति र राष्ट्रिय एकताको आन्दोलन अगाडि बढाउँदा आफ्नो पार्टीलाई तराई र पहाडको बीचमा अविश्वास शृजना गर्न खोजेको आरोप लागेको बताउँदै उहाँले तराईको नाममा राजनीति गरेर दुनो सोझ्याउन पल्किएकाहरूले गलत रूपमा प्रचार गरेको बताउनुभयो। तराईका जनतालाई केही नगर्ने शोषण मात्र गर्ने तत्त्वहरूले सिकून, ड्रम कि नगरा बजाएर तराईबाट एमालेलाई लखेटने भनेको मधेसवादी दलहरूले तीन वर्षअगाडि जितेको ११ सिट हो एमालेले ४० सिट हो, ओलीले भन्नुभयो।

तराई अभियानमा जाने उल्लेख गर्दै अध्यक्ष ओलीले फागुन दोस्रो साताबाट मेची–महाकाली अभियान सञ्चालन गर्ने र अब ड्रोन क्यामेराले नभई स्याटलाइट मार्फत फोटो खिच्नुपर्ने बताउनुभयो। मधेसवादी दलप्रति लक्षित गर्दै उहाँले भन्नुभयो,‘तराईका जनतामा रहेको शक्तिलाई कमजोरी नठाने हुन्छ,तराईका चुपचाप छन् भनेर अल्मल्याउन सकिन्छ भन्ने नठाने हुन्छ।’

देशभक्तिको अभियानमा एमाले रहेको बताउँदै उहाँले आफ्नो पार्टीले राष्ट्रिय हितलाई तलमाथि हुन नदिने बताउनुभयो। ‘अंग्रेजले थिच्न नसकेको उपनिवेशले मिच्न नसकेको एउटा जिउँदो राष्ट्र हो सदैव स्वतन्त्र रहन्छ, दुःख कष्ट झेल्न हाम्रा पूर्खाले सिकाए तर लम्पसार पर्न सिकाएनन्, पुर्खाले घुडा टेक्न सिकाएनन्, नेपाल फेरि पनि लम्पसार पर्दैन, नेपाली जनताले लम्पसारवादीलाई घृणा गर्छन्’ –उहाँले भन्नुभयो। एमालेसहितका दलले गरेको कार्यक्रमका कारण राजधानीको आवागमनमा असुविधा भएकोप्रति दुःख व्यक्त गर्दै उहाँले अलिकता कष्ट सहेर देश हितलाई वास्ता नगर्ने राष्ट्रघात गर्न तयार हुने प्रवृत्तिलाई दबाब दिन जनशक्ति नदेखाइ नहुने भएकाले जनप्रदर्शन गरेको बताउनुभयो।

सविधानको धारा ६, ७, ११, ८७, संविधानको धारा २८७ अनुसूचि ४ संविधान संशोधन गर्ने भनेर प्रस्ताव अगाडि बढाए पनि असफल हुने उहाँले दावी गर्नुभयो। हिन्दी भाषालाई राष्ट्रिय भाषाको मान्यता दिने तर मैथली र भोजपुरीलाई समाप्त पार्ने षड्यन्त्र सफल नहुने ओलीले चेतावनी दिनुभयो।
विरोध सभालाई सम्बोधन गदै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भियतनामको राष्ट्रिय युद्ध पढेकोले अब नेपाली सिक्कीकरण र भुटानीकरण हुन तयार नरहेको बताउनुभयो। आफूहरूको टक्कर अह्राएको गर्नेहरूसँग नभई भारतीय शासकहरूसँग भएको बताउँदै भन्नुभयो,‘नौ प्रतिशत मधेसवादी दलहरू वारेस हुन्।’ नेपालको राज्यपुनर्संरचना भारतीय शासकलाई काम लाग्ने गरी गर्नुपर्ने माग पूरा नहुने बताउँदै भारतीय ग्रान्ड डिजाइन नेपाली जनताले सफल हुन नदिने बताउनुभयो। अध्यक्ष केसीले पहाडबिनाको प्रदेश नम्बर २ बनाएकोमा पछुतो रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले चुनाव गराउन छोडेर संविधान संशोधनमार्फत नेपालीको कलेजो काटेर दिएको आरोप लगाउनुभयो।

नेकपा मालेका महासचिव सिपी मैनालीले सरकारले संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा छलफल गर्न नदिने बताउनुभयो। कार्यक्रममा नेमकिपाका नेता प्रेम सुवाल, बहुजन समाजवादी शक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवास, परिवार दलका अध्यक्ष एकनाथ ढकाल, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकका शिवलाल थापा, नेपाः पार्टीका अध्यक्ष लक्ष्मण राजवंशीलगायतले सम्बोधन गर्नुभएको थियो। जनसभामा नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छे भने सहभागी हुनुभएन।

एमालेसहितका नौ दलद्वारा राजधानीमा निकालिएको जुलुसका कारण दिनभर राजधानीको सवारी आवागमन प्रभावित भएको थियो। अधिकांश वक्ताहरूले अहिलेका सत्तासीनहरूलाई तत्कालीन सिक्किम राष्ट्रिय कांग्रेसका अध्यक्ष तथा सिक्किम भारतमा विलय भएपछिका पहिलो मुख्यमन्त्री काजी लेन्डुप दोर्जीसँग तुलना गरेका थिए।

प्रतिक्रिया दिनुहोस्