मोहन दुवाल
जप्रकाश श्रेष्ठ अर्थात् कृष्णप्रकाश श्रेष्ठका भाइ जो साहित्यिक यात्रामा रम्न पाउँदा खुशी हुन्छन् । स्कुलको वातावरणदेखि साहित्यसँग बसउठ गर्न सक्षम तेजप्रकाशले घरमा साहित्यकार दाइ कृष्णप्रकाशको साहित्यिक लेखनबाट विशेष प्रभावित भएर लेख्न थालेका हुन् । यिनको जन्मस्थान बैतडी हो । पछि शोणितपुर (थानकोट), चुनिखेलमा बसोबास गर्न पाएका यिनी हाल पनि यसै ठाउँमा रही सिर्जनामा मन दिएर सिर्जना रोप्न सक्रिय छन् । वि.सं. २००३ पुस २२ गते पिता रामबहादुर र माता तेजकुमारीका छोरा भएर जन्मेका यिनी विद्यालय पढ्दापढ्दै कविता लेखेर आफूलाई साहित्यिक यात्रामा रम्न दिएका हुन् । घरका अनुशासित छोरा भएर, समाजका जेहेनदार युवक भएर, आफूसक्दो परिवार र समाजका लागि केही न केही राम्रा कार्यहरू गरेर बाँचेका तेजप्रकाशले एम.ए. नेपाली विषयमा उत्तीर्ण गरेका छन् ।

हाँसो र आँसुमा छचल्किएको अनुभूत उजागर गर्ने माध्यम साहित्यलाई ठानेर, साहित्य उत्सर्गलाई मनमा साँचेर साहित्य लेख्दै बाँचेका, साहित्यिक कार्य गर्न पाउँदा खुशीले नाच्न जानेका यिनका कार्यहरू सुन्दर छन् । जागिरमा सबैजसो मित्रले राम्रो मानेका, भ्रष्ट–आचरण र व्यवहार नजानेका यिनी जीवन हाँसो र आँसुको गुजुल्टो हो भन्न मन पराउँछन् । यिनले जीवन बाँच्ने क्रममा केही वर्ष शिक्षणसेवा गर्नुका साथै ३१ वर्षसम्म सरकारी सेवामा रहेर निवृत्त भएको देखिन्छ । जीवनसंगिनी प्रतिभारश्मीकै प्रकाश साँचेर दीपक, सौरभ र सौजनलाई किरण दिएर जीवन–क्रम गुजार्न पाएका यिनका भावनामा लक्ष्मीप्रसाद देवकोटा, रमेश विकल, कृष्णप्रसाद पराजुली, मधुवन पौडेलका साहित्य–रचना जीवन्त छन् । रवीन्द्रनाथ ठाकुरका कवितामा भुलेर, गोर्कीका कथा र उपन्यासमा मन राखेर, पुस्किनलाई मनभित्र साँचेर साहित्य अध्ययन गर्न पाएका यिनी समाजमा व्याप्त विसङ्गति र विकृतिको चिरफार गरी साहित्य सिर्जना गर्न पाउँदा खुशी हुन्छन् । साहित्यलाई आत्मसन्तुष्टिको माध्यम ठानेर आएका यिनी साहित्यलाई जीवनको अपरिहार्य माध्यम ठान्ने गर्छन् ।

२०१८ सालदेखि कविता लेख्दै आएका यिनी दर्पण मासिक पत्रिकाको २०२५ साल चैत महिनामा गाउँ फर्क कविता प्रकाशित गराएर साहित्यिक प्रकाशनमा आफूलाई दर्ता गराउन पाएका यिनी साहित्यका विविध विधामा कलम चलाउने गर्छन् । कथा, उपन्यास, निबन्ध, संस्मरण, नियात्रा, लोकसाहित्य, लोकसंस्कृति, बालसाहित्य र कवितासम्म सिर्जना गर्दै साहित्यमा देखा पर्दै आएका यिनी साहित्य सेवामा अनवरत लागिरहने जीवनको इच्छा हो भन्न रुचाउँछन् ।

सम्मानका नाममा तन्नेरी प्रतिभा पुरस्कारबाट सर्वप्रथम २०६१ मा सम्मानित भइसकेका यिनले सुनकोशी सिर्जना सम्मान, दोभान सम्मान, थानकोटबाट साहित्यकार सम्मान, वैजनाथ विकास समिति, अछामबाट सम्मान, सुदूर पश्चिमाञ्चल साहित्य समाज, धनगढीबाट सम्मान, विशिष्ट तन्नेरी कृति सम्मान आदि सम्मान प्राप्त गरी साहित्यकारका रूपमा आफूलाई राष्ट्रले चिनिदिएकोमा दङ्गदास छन् । यसरी नै पुरस्कारका रुपमा साझा बालसाहित्य, मैंया बासु पन्त स्मृति, इलोहँ ज्ञानज्योति, रमेश विकल बालसाहित्य, कविताराम बालसाहित्य, देवकुमारी थापा बालसाहित्य आदि प्राप्त गरेका छन् । यही नै उनको लागि भएको मूल्याङक्न हो, उनी खुशी व्यक्त गर्छन् । यिनी स्वदेशका विभिन्न जिल्ला तथा गाउँबस्तीलगायत भारत र अमेरिकाका विभिन्न ठाउँ घुम्नुका साथै साहित्यमा मन लगाएकै कारणले विभिन्न साहित्यिक संस्थाहरू नेपाल बालसाहित्य समाज, बालसंसार प्रा.लि., नेपाल लोकवार्ता तथा संस्कृति समाज, सुनकोशी साहित्य प्रतिष्ठान, रमेश विकल साहित्यिक प्रतिष्ठान, नियात्रा समाजलगायत अन्य संघ–संस्थामा पनि सक्रिय छन् ।

सधैँ लेख्न पाउँदा रमाउने, साहित्यिक समारोहमा धाउन पाउँदा खुशी हुने यिनका प्रकाशित साहित्यिक कृतिमध्ये कथासङ्ग्रहहरूः बाँचेका क्षणहरू (२०३८), हाटबजार (२०४७), त्रिविध (२०४४ संयुक्त), अनुभूत सत्यहरू (२०६०) । उपन्यासहरूः प्रेमको स्मारक (२०३३), संकल्प जिउँदो रहनेछ (२०५२) । कवितासङ्ग्रहः तेस्रो कोण (२०४४ संयुक्त) । लोक साहित्यः अछामी लोक साहित्य (२०४४) । लोकसंस्कृतिः सिम्रौनगढ (२०३३), नेपाली लोकसंस्कृतिः केही सम्पदा, केही परम्परा (२०६०) । बालसाहित्यः जुनेली साँझ (२०३८), बूढाको अर्ति (२०४२), चिलगाडीमा सरर (२०५४), कालु भाले जगल्टे (२०५४), हात्ती लस्क्यो (२०५९), बहिनीको कोसेली (२०५७), बाउन्न पाटन त्रिपन्न ताल (२०५७ संयुक्त), चरोमान्छे (२०५८), मिङ्मार (२०५९), बालसामान्य ज्ञान (२०५९), विश्वको बाललोककथा सङ्ग्रह खण्ड– १ (२०५९), तिमी पानी देऊ म फूल दिन्छु (२०६१) र वनभोज, जन्मदिन, रमाइलो मेला (२०६१–सहलेखन) । यात्रा संस्मरणः पाइलाका डोबहरू (२०४८) र दौडाहाः घुमाउरा बाटाहरूमा (२०५७) । विविध कृतिहरूमाः नेपालको सार्वजनिक निर्माणको लेखा व्यवस्था (२०४२), नेपाल परिचय (२०५२), नेपालमा व्यवस्थापन र कर्मचारी प्रशासन (२०५८), तलेजु पाकेट डिस्नेरी (२०५८, अंग्रेजी, नेपाली) र नेपाली विश्व बालकोश (२०६० सहलेखन) आदिका साथै थुप्रै विधामा यिनले आफूलाई समर्पित तुल्याएर लेखकका रुपमा चिनाएका छन् ।

विविध विधामा धेरै खालका पुस्तकहरू रचेर, नेपाली समाजमा आफूलाई छर्न पाएकोमा गौरव गरेर बाँचेका यिनी नेपाली बालसाहित्य समाजका एक सक्रिय सचिव, आजीवन सदस्य, महासचिव भई सेवारत छन् । सुनकोशी साहित्य प्रतिष्ठानका पनि सक्रिय मर्मज्ञ सदस्य यिनी नेपाली लोकवार्ता समाजका कोषाध्यक्ष भएर सहयोग गर्न पाएकोमा दङ्ग छन् । विजय, अमरसँग सह–यात्रामा रम्दै सांग्रिला साहित्यिक पत्रकारितामा धेरै वर्ष सम्पादनमा सक्रिय यिनी लमजुङ, कुलेश्वर हुँदै अछामसम्म पुगेर स्मारिका, हस्तलिखित पत्रिकाका सम्पादक भएर पनि सेवा पुर्याएका छन् । पछि यिनले चिचिला (बाल मासिक) पत्रिकाका सम्पादक भई सेवा पुर्याएको देखिन्छ ।

तेजप्रकाश थुप्रै अनुभवका पारखी हन् । यिनी नेपालका विभिन्न जिल्लामा नोकरी गरेर सेवा पुर्याउन पाएका एक राष्ट्रसेवक पनि हुन् । कलङ्क नखाएका इमानदार राष्ट्रसेवक खोज्न गाह्रो यो देशमा तेजप्रकाशले जागिरे जीवनमा पनि तेजलाई प्रकाशमा नै बाँड्न सिकेर श्रेष्ठ बनेका हुन् ।

यिनको ठम्याइमा लोकसंस्कृति जीवनशैली हो, परम्परागत विश्वास र आस्था हो, जातीय संस्कार हो र मानवीय दैनन्दिनी व्यवहार हो । त्यस्तै यिनी लेख्छन्– साहित्यको पूर्वरूप लोकसाहित्य नै मान्न सकिन्छ । लोकसाहित्य र लोकसंस्कृतिका मर्मज्ञ लेखक तेजप्रकाशले यात्रा संस्मरणलाई पनि मनोरम ढङ्गले अनुभूतिमा पोख्न सिपालु छन् । त्यसैले यिनी यस सन्दर्भमा आफ्नो दृष्टि यसरी फुकाउँछन्– यात्रीको निजी अनुभव र अनुभूतिबाट यात्राकाल र स्थानीय परिवेशमा छचल्किएको वस्तुगत यात्रानुभूतिको निचोड नै नियात्रा वा यात्रा संस्मरण हो । अनुभूत सत्यहरूका प्रयोगकर्ता कथाकार, सङ्कल्प जिउँदो रहनेछ का विश्वासकर्ता उपन्यासकार, लोकसाहित्य र संस्कृतिका सक्रिय अध्येता, बालसाहित्यका सफल लेखक, यात्रा–संस्मरणका सिद्धहस्त नियात्राकार तेजप्रकाश श्रेष्ठ ‘खै ⁄ म सफल लेखक हुँ होइन, मलाई थाहा छैन । मेरो लेख्ने रुचि हो । म केही न केही लेखिरहन्छु । म सङ्घर्षरत छु भन्छन् । यही भावना र सङ्कल्पमा सिर्जना रोप्न सधैँ लागिरहेकाले तेजप्रकाश श्रेष्ठ साहित्यजगत्मा तेज भई प्रकाश बाँडिरहन सफल छन् ।

सुनकोशी साहित्य प्रतिष्ठानको यात्रामा यिनीसँग साहित्यिक क्षेत्रमा रम्न पाउँदाका क्षण आनन्ददायक र मनोरम छन् । इमानदारिता नै यिनको पहिचान र व्यावहारिकता यिनको स्वभाव बनेकै कारणले यिनी जहाँ बसे तापनि, जहाँ पुगे तापनि सबैका प्रिय पात्र बनेर कर्मक्षेत्रमा रमेको देखिन्छ । यिनका मावलीघर बनेपा रहेकोले धेरैपल्ट मेरो निवासघरमा यिनी आइपुगेका छन् । सधैँको भेटघाटमा यिनीसँग साहित्यिक कुराकानी गर्नुका साथै साहित्यिक कृतिहरूको एक–अर्कामा साटासाट गर्ने हाम्रो परम्पराजस्तै बनेका सन्दर्भहरू थुप्रै छन् । मलाई भन्न मन लाग्छ– ‘यिनी साहित्यिक कर्म गर्न नै जन्मे र साहित्यिक लेखन नै यिनको मन पर्ने विषय भयो । सधैँको यिनको इच्छा रह्यो साहित्यसेवामा अनवरत लागिरहने ।’ हाँसो र आँसुमा छचल्किएको अनुभूति अभिव्यक्त गर्ने सशक्त माध्यम’को रुपमा यिनले साहित्यलाई परिभाषित गरेजस्तै यिनको साहित्य लेखनमा जीवन्तता आइरहन सकोस्, शुभकामना छ ।

LEAVE A REPLY