सफ्टटेक समिटलाई निरन्तरता दिनुपर्नेमा जोड



नेपाल समाचारपत्र
काठमाडौं
सफ्टवेयरको विकास र प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित ‘योमरी क्यान सफ्टेक समिट २०१७ इन एसोसिएसन विथ इन्फोडेभलर्स’ सम्पन्न भएको छ।

सरकारका मुख्यसचिव डा. सोमलाल सुवेदीले कार्यक्रम उद्घाटन गर्दै सफ्टवेयरको प्रवद्र्धन तथा विकासका लागि सफ्टटेक समिटलाई निरन्तरता दिनुपर्ने बताउनुभयो। उहाँले नेपालमा सफ्टवेयर क्षेत्रको विकास र प्रवद्र्धनका लागि सरोकारवाला सबैले समन्वयकारी भूमिका खेलेर अघि बढ्नुपर्ने बताउनु भयो। सरकारलाई प्रविधि क्षेत्रका व्यक्तिले सुझाव दिएर सहयोग गर्नुपर्ने मुख्यसचिवको भनाइ थियो।

कार्यक्रममा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सर्वजीत प्रसाद महतोले प्रविधि उद्योगको भविष्य उज्वल रहेको बताउँदै यस क्षेत्रमा कार्यरत व्यक्तिलाई निराश नभई उत्प्रेरित हुन आग्रह गर्नुभयो। त्यस्तै क्यान महासंघका अध्यक्ष बिनोद ढकालले नेपालमा सफ्टवेयर कम्पनीहरूको विकास र बिस्तारका लागि सक्दो पहल गरिरहेको र सरकारले पनि यो क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो। क्यानका महासचिव विश्वराम बलामीले नेपाली सफ्टवेयर कम्पनी तथा सफ्टवेयरको प्रवद्र्धन गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो।

समिटमा विभिन्न सफ्टवेयर कम्पनीले आफ्नो उत्पादनको प्रदर्शन तथा प्रवद्र्धन गरेका छन्। समिटमा छनोटमा परेका १० वटा कम्पनी सहभागी थिए। ती कम्पनीले आफूले उत्पादन गरेको विभिन्न सफ्टवेयर प्रदर्शन गर्नुका साथै कार्यक्रममा सहभागीलाई ती सफ्टवेयरका बारेमा जानकारी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्