हेटौंडा अस्पतालमा फार्मेसी



हेटौंडा,(नेस)। हेटौंडा अस्पतालले अस्पतालमा फार्मेसी सेवाको सुरु गरेको छ । यसअघि सरकारी अस्पतालहरुले आफ्नै फार्मेसी सेवाको सुविधा राख्नुपर्ने सरकारी निर्देशन भए पनि हेटौंडा अस्पतालले व्यवस्था गर्न सकेको थिएन ।

डिभिजन सडक कार्यालयले अस्पतालपरिसरमा सञ्चालित फार्मेसी पसल रहेका सटरहरु भत्काएपछि औषधीको व्यवस्थापन गर्न आइतबारदेखि फार्मेसी सुरु गरेको अस्पताल विकास समितिले जनाएको छ । अवस्था असहज भएपछि  विस्तारितरुपमा सर्वसुविधा सम्पन्न फार्मेसी सञ्चालन गर्ने लक्ष्य रहे पनि अस्पतालद्वारा तत्काल समस्या टार्न सामान्य फार्मेसी सेवाको सुरु गरेको हो ।

यसले सेवा लिन आउने बिरामीहरुले सस्तो र सहजरुपमा औषधी प्राप्त गर्न सक्ने अस्पताल विकास समितिका अध्यक्ष सुनिल मोक्तानले बताउनुभयो । इमर्जेन्सी सेवा २४ सै घण्टा चल्ने हुँदा फार्मेसी सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।

यसपछि फार्मेसी सेवालाई अझ परिस्कृत र सर्वसुलभ र सस्तो बनाउँदै लैजाने अस्पतालले जानकारी दिएको छ । हाललाई सेवा सुरु गरिने र पुस महिनाभित्र फार्मेसीका लागि आवश्यक कर्मचारी थप्दै औषधीका प्रकारहरुमा विस्तार गरिने मोक्तानले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्