रसिया पठाउने भन्दै ठगी गर्ने पक्राउ



नेपाल समाचारपत्र
काभ्रे
रसिया पठाउँछु भन्दै विभिन्न व्यक्तिहरूसँग रकम लिएर आईएमईमा जम्मा गराई फरक व्यक्तिको नागरिकताबाट रकम असुल्दै आएका एक व्यक्ति पक्राउ परेका छन् भने प्रहरीले रसियामा रहेका उनका दाजुलाई समेत पक्राउका लागि प्रकृया अगाडि बढाएको छ।
तनहुँ जिल्ला घर भई विभिन्न स्थानमा बस्दै आएका २१ वर्षीय बसन्तबहादुर थापा क्षेत्रीले पछिल्लोपटक मंगलबार बनेपामा रहेको आईएमईबाट रकम निकाल्दानिकाल्दै पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक अनिल घिमिरेको टोलीले बसन्तबहादुर थापा क्षेत्रीलाई पक्राउ गरी अनुसन्धान शुरू गरेको छ। अनुसन्धानका क्रममा उनले भन्दै आएको रसिया बस्ने जनक केसी बसन्तबहादुरका दाइ लक्ष्मणबहादुर थापा हुन्। नक्कली नामबाट परिचय दिँदै इटहरीलगायतका क्षेत्रमा लक्ष्मण र बसन्तले ठगी गर्दै आएका थिए। बसन्तले आईएमईबाट ३७७ पटक रकम निकालेको देखिएको छ।

इटहरीमा रहँदा लक्ष्मणबहादुर थापा जनक केसीका नामबाट परिचित थिए। लक्ष्मण र इटहरीकै अरुणा कार्की श्रेष्ठको चिनजानले कन्सल्टेन्सि शुरु भएको थियो। सोही कन्सल्टेन्सिमा काम गर्दा गर्दै अरुणाले आफ्नै कन्सल्टेन्सि खोलिन्। जनक उर्फ लक्ष्मणबहादुर थापा रसिया गए। प्रारम्भिक अनुसन्धानमा लक्ष्मण अझै रसियामै छन्। अरुणा र लक्ष्मणबीच पहिला पनि सँगै बसेर काम गरेकाले समझदारीमै रसियाबाट नेपालमा लक्ष्मणले भिसा पठाउने र अरुणाले रकम लिएर मान्छे पठाउने निर्णय भयो। केही मान्छेहरूलाई अरुणाले रसियामा पठाइन् पनि। तर उनले भनेको भन्दा फरक काम भएपछि अरुणालाई रसिया जाने मान्छेहरूले गुनासो गर्न थाले। अझै केही त फर्केर पनि आए। तर अरुणालाई लक्ष्मणले भिसा पठाउने प्रलोभन दिँदै गयो। यता रसिया जान चाहने व्यक्तिहरूसँग अरुणाले रकम उठाउँदै गइन्। अरुणाले जनकको नेपालमा रहेको व्यक्ति पनौती १२ खोपासीका अनिल दुवालको खातामा रकम जम्मा गरिदिन भन्दै गए।

अरुणाले तिनै अनिल दुवालको नाममा रकम जम्मा गरिदिँदै गइन्। अन्तिम पटक मंगलबार ३ लाख रकम जम्मा गरिदिएपछि नक्कली अनिल र रकम पठाउन लगाउने जनक दुबै नक्कली भएको खुल्यो। इटहरी घर बताउने जनक उर्फ लक्ष्मणले किन काभ्रेका अनिलमार्फत रकम बुझे ? अरुणा अनिल खोज्दै काभ्रे आइन्। बास्तविक अनिल भेटिएपछि उनी अझै छाँगाबाट खसेझै भइन्। पुनः रसियामा हुने जनकलाई फोन गरेर नयाँ मान्छे रसिया जाने भयो पैसा कता आईएमई गरौं भन्दा जनकले अनिल दुवालको नाम दिए। त्यही नागरिकता लिएर रकम लिन जाँदा आईएमईले सक्कली अनिललाई रकम दिन मानेन्। नक्कली अनिलले आईमएई पासवर्ड नम्बर लिएर रकम निकाले। त्यही बेला प्रहरीको टोलीले बसन्तबहादुर थापा क्षेत्रीलाई पक्राउ गर्यो।

बसन्तबहादुर पक्राउ परेपछि मात्रै उनका आफ्नै दाजु जनक केसीको नामबाट रसियाबाट ठगी गरिरहेका छन् भने बसन्तबहादुर नेपालमा रहेका विभिन्न जिल्लाका व्यक्तिहरूको नागरिकताको कपि लिएर फरक–फरक स्थानबाट फरक फरक सिम प्रयोग गर्दै आईमईबाट रकम निकालेर अन्यत्र लगेर जम्मा गरिरहेका छन्। प्रहरीले बसन्तबहादुर खत्रीका अन्य कर्तुतका बारेमा छानविन शुरु गरेको छ। अनिलको नागरिकता कहाँबाट बसन्तले फेला पारे ? वा बरामद गरिएको अन्य फोटोकपीहरू कहाँबाट संकलन गर्छन् ? अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक अनिल घिमिरेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्