वीरगन्जको फोहोर विस्थापन गरिँदै



कृष्णउदास खनाल, वीरगन्ज
गएको वैशाख महिनामा शिलान्यास गरिएको ४७ करोड ६१ लाख ८० हजार रुपियाँ लागतमा वीरगन्ज शहरबाट निस्किने सबैखाले ठोस फोहोर व्यवस्थापन केन्द्र वैज्ञानिकरूपमा निर्माण हुने दाबी गरिएको छ।

वीरगन्जमा लागू ‘मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार’ आयोजनाको दोस्रो चरणअन्तर्गत बन्न लागेको ‘फोहोर मैला व्यवस्थापन केन्द्र’ तोकिएको २४ महिनाभित्रै सम्पन्न हुने योजना कार्यान्वयन इकाइका प्रमुख रहेका इन्जिनियर शैलेन्द्र श्रेष्ठले बताएका छन्। फोहोरको समस्या झेलिरहेको वीरगन्जले यो बनेपछि राहत पाउने भएको छ। वीरगन्ज–१९ नगवाभन्दा पश्चिम पर्ने बाराको इटियाही र विश्रामपुर नजिक यो निर्माण हँुदै छ।

एसियाली विकास बैंकको ८१ प्रतिशत अनुदान सहयोगमा योजना कार्यान्वयन हँुदै छ। यो निर्माण सम्पन्न भइसकेपछि २० वर्षसम्म वीरगन्जको फोहोरलाई वैज्ञानिक किसिमले व्यवस्थित गर्न सकिने उप–माहानगरपालिका कार्यालयको दाबी छ। साथै ‘फोहोर मैला व्यवस्थापन केन्द्र’ मा ल्याइने फोहार प्रशोधन गरी मल बजारमा बेचेर त्यसबाट वार्षिक ६ करोड २० लाख रुपियाँ आम्दनीसमेत हुनेछ। ‘कन्सल्टेन्ट’ तथा फोहोर मैला व्यवस्थापन विशेषज्ञ राजेश काजी तुलाधरका अनुसार त्यहाँ ‘कुहिन सक्ने’ फोहोरलाई कम्पोस्ट मल बनाइनेछ र पुनः प्रयोग हुन सक्ने किसिमका प्लास्टिक, फलाम, कागज, सिसालगायतका वस्तु छुट्याएर कवाडको रूपमा बजारमा पठाइनेछ।

योजनाको ठेक्का लिएको चिनियाँ निर्माण कम्पनी जन्डिङ इन्टरनेसनल इन्जिनियरिङ कम्पनी आधिकारिक प्रतिनिधि सुमित रौनियारले योजनामा भौतिक प्रगति करिब ३० प्रतिशत पुगेको बताउँदै भने– ‘छिटोभन्दा छिटो अधिकतम काम सक्ने किसिमले कामलाई तीव्र पारिएको छ।’ रौनियारले भने– ‘निर्धारित समयभन्दा पहिले नै योजना सम्पन्न गरी सञ्चालनमा ल्याउने र हस्तान्तरण गर्ने लक्ष्य लिएका छौं।’ वीरगन्ज उप–महानगरपालिकाले दीर्धकालीन लक्ष्य लिएर नै उक्त फोहोर मैला व्यवस्थापनको कार्य गर्न लागिएको वीरगन्ज उप–महानगरपालिकाका कार्यकारी अधिकृत पिताम्बर अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस्